१९ माघ २०३९ मा झापाको कमल गाउँपालिका–१ मा जन्मिएका रञ्जित तामाङ यतिबेला झापा–५ को राजनीतिक प्रतिस्पर्धामा चर्चामा रहेका उम्मेदवारमध्ये एक हुन्। प्रारम्भिक शिक्षा गाउँमै हासिल गरेका तामाङले किशोरावस्थादेखि नै राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउन थालेका थिए।
तामाङ तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको दशवर्षे सशस्त्र जनयुद्धको पृष्ठभूमिबाट आएका नेता हुन् । सो अवधिमा उनी पक्राउ परेर करिब दुई वर्ष जेल बसेका थिए । उनी स्वयंले विभिन्न सार्वजनिक कार्यक्रममा जेल जीवनले आफूलाई वैचारिक रूपमा अझ परिपक्व बनाएको उल्लेख गर्दै आएका छन् । जनयुद्धपछिको खुला राजनीतिमा भने उनले विद्यार्थी आन्दोलनमार्फत सक्रिय भूमिका निर्वाह गरे ।
झण्डै अढाई दशक विद्यार्थी राजनीतिमा बिताएका तामाङ अखिल (क्रान्तिकारी) को झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय तहसम्म पुगेका हुन् । संगठनको केन्द्रीय सचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी उक्त संगठनका पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष बनेका थिए । नेतृत्व चयनका क्रममा दबाब र शक्ति सन्तुलनका बहसबीच चुनावी प्रतिस्पर्धाबाट विजयी भएको प्रसंगलाई उनका समर्थकहरूले उनको राजनीतिक दृढताको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छन् । विद्यार्थी आन्दोलनका क्रममा उनले शैक्षिक सुधार, विद्यार्थी हकहित र समसामयिक राजनीतिक विषयमा भएका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
तामाङले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य र झापा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेका तामाङलाई पार्टीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । झापा–५ क्षेत्र राजनीतिक रूपमा चासोको केन्द्रमा रहेको क्षेत्र हो । यस क्षेत्रमा अन्य चर्चित नेताहरूको उम्मेदवारीका कारण प्रतिस्पर्धा थप रोचक बनिरहेको छ ।
तामाङले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह लगायतसँग प्रतिष्पर्धा गर्दैछन् । त्यसैले पनि उनले चुनावी अभियानहरूमा आफूलाई स्थानीय रूपमा जन्मिएर हुर्किएको, क्षेत्रका सामाजिक–आर्थिक अवस्थासँग प्रत्यक्ष रूपमा परिचित उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
तामाङले निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ नामक घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी र भौतिक पूर्वाधारलगायत सात मुख्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । आगामी पाँच वर्षभित्र करिब १७० वटा साना तथा ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।
यो क्षेत्रका ८७ सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने, दमक बहुमुखी क्याम्पसलाई दीर्घकालीन रूपमा विश्वविद्यालयस्तरमा विकास गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने तथा व्यावसायिक पूर्वाधार विस्तार गर्ने योजना पनि घोषणापत्रमा समावेश छन् ।
यसका अतिरिक्त, झापामा बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स निर्माण, पर्यटन पूर्वाधार विकास तथा बुद्ध मूर्ति निर्माण सम्भाव्यता अध्ययन जस्ता प्रस्ताव पनि उनले अघि सारेका छन् । समर्थकहरूका अनुसार तामाङले स्थानीय आवश्यकता र दीर्घकालीन विकास दृष्टिकोणलाई जोडेर योजना प्रस्तुत गरेका छन् भने आलोचकहरूले तीमध्ये केही योजनालाई महत्वाकांक्षी भन्दै स्पष्ट कार्ययोजना माग गरेका छन्।
लामो समय गठबन्धन राजनीतिमा सहभागी भएपछि यसपटक आफ्नै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न पाएको सन्दर्भलाई पनि पार्टीले अवसरका रूपमा लिएको छ । विद्यार्थी राजनीतिबाट स्थापित सार्वजनिक छवि, संगठनात्मक आधार र स्थानीय मुद्दामाथिको केन्द्रित बहसका कारण तामाङ झापा–५ को प्रतिस्पर्धामा प्रभावशाली उम्मेदवारका रूपमा हेरिएका छन् ।
अबको निर्वाचनले उनको स्थानीय प्रभाव, संगठनात्मक क्षमताको परीक्षण गर्नुका साथै झापा–५ का मतदाताले कुन विकास दृष्टिकोणलाई प्राथमिकता दिन्छन् भन्ने विषय पनि स्पष्ट पार्नेछ।