Home Candidate अम्मर बहादुर थापा

संसद् पुग्ने तेस्रो प्रयासमा अम्मरबहादुर

दैलेख - १ उम्मेदवार

अम्मर बहादुर थापा

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ७० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

१२ माघ २०१२ मा भगवतिमाई गाउँपालिका–१, दैलेखमा जन्मिएका अम्मरबहादुर थापा पाँचौंपटक संसदीय चुनावका उम्मेदवार छन् । व्यवस्थापिका संसद्को समेत जिम्मेवारी पाएको संविधानसभा सदस्य र एकपटक प्रतिनिधिसभा सदस्य बनिसकेका अम्मरबहादुर संसद् पुग्ने तेस्रो प्रयासमा छन् ।

अम्मरबहादुर थापा, ०६४ र ०७० मा संविधानसभा, ०७४ मा प्रदेश सभा र ०७९ सालमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार थिए । नेकपा एमालेबाट उम्मेदवार बनेका उनी ०६४ मा पराजित भए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेले उनलाई पुन: उम्मेदवार बनायो । यसपटक भने उनी जनअनुमोदित भए ।

संविधानसभाले २०७२ मा संघीय संरचनासहितको नयाँ संविधान जारी गरेपछि २०७४ मा मुलुकमा प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका लागि एकैपटक निर्वाचन भयो ।

२०७४ मा उनलाई नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनायो । दैलेख १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (२) बाट उम्मेदवार बनेका अम्मरबहादुरले यसपटक पनि जनताको मत र मत दुवै जिते ।

त्यसपछि उनको यात्रा प्रतिनिधिसभातर्र्फ अघि बढ्यो । यसपटक भने उनको पार्टी भिन्न थियो । २०७४ को निर्वाचनपछि एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । सर्वोच्च अदालतको आदेशमा केही वर्षभित्रै नेकपा विघटन भयो र दुवै पार्टी पुरानै अवस्थामा फर्किए । त्यसपछि एमालेबाट विद्रोह गरेर केही माघवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो । अम्मरबहादुर त्यही पार्टीमा लागे ।

२०७९ को निर्वाचनबाट एकीकृत समाजवादीबाट उम्मेदवार बन्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यहाँ उनले ७ चैत २०८० बाट शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिका सभापतिको जिम्मेवारी निर्वाह गरे ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसमेत रहेको तत्कालीन पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा दैलेख १ बाट उम्मेदवार बनेका उनीले १८ हजार २५६ मतसहित विजयी भएका थिए ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सोही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छन् । तत्कालीन नेकपा एकीकृत समाजवादीमा रहेका उनी सो पार्टी र नेकपा माओवादी केन्द्रलगायतका विभिन्न २३ पार्टी मिलेर बनेको नेकपाका उम्मेदवार बनेका हुन् । उनी यसपटक पुन: जनताको कठघरामा उभिएका छन् ।

हुन त, उनले जनताको कठघरामा उभिन थालेको २०२८ सालदेखि नै हो । प्रवेशिका परीक्षा अगाडि हुने सेन्टअप परीक्षा पास गरेका अम्मरबहादुरले २०२८ सालमै राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी १६ वर्षकै उमेरमा पञ्चायत जिल्ला सदस्य निर्वाचित भएका थिए । ०२८ र ०३२ सालमा २ पटक वडाध्यक्ष भए भने ०३५ सालमा उपप्रधान बने ।

०३९ सालमा जिल्ला पञ्चायत सदस्य भए । २०४९ सालमा स्थानीय चुनावमा स्वतन्त्र वामपन्थीको तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए । २०५४ सालमा नेकपा एमाले दैलेख जिल्ला सचिव भएका उनी २०६५ सालमा एमाले जिल्ला अध्यक्षमा निर्वाचित भए । 

राजनीतिक संघर्षकै बेलामा १३ पटक हिरासत र डेढ महिना जेल जीवन बिताएका अम्मरबहादुरलाई दैलेखमा एमालेको सांगठनिक अवस्था सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय दिने गरिएको छ । 

०४८ सम्म दैलेखमा नेमकिपाको दबदबा थियो । अम्मरबहादुर लगायतका अन्य नेताले अगुवाइ गर्दै नेमकिपाको जिल्ला कमिटीलाई एमालेमा समाहित गराउन सफल भए । उनी २०६२/६३ को जनआन्दोलनमा ३० दिन सैनिक हिरासतमा समेत बसेका थिए ।

अम्मरबहादुरका अहिलेका प्रतिस्पर्धी एमालेका उम्मेदवार रवीन्द्रराज शर्मा पहिले पहिले एमालेबाट पालैपालो निर्वाचनमा भाग लिने गर्दथे । अम्मरबहादुर ०५४ सालमा एमाले सचिव हुँदा शर्मा अध्यक्ष थिए । रवीन्द्रराज–अम्मरबहादुरको सहयात्रा ४८ देखि ०७४ सम्म रह्यो । मूलत: यी दुई व्यक्तिबिच एमालेभित्र रहँदा आन्तरिक प्रतिस्पर्धा चर्को थियो । 

सोही कारण ०७४ रवीन्द्रराज प्रतिनिधिसभामा जाँदा अम्मरबहादुर प्रदेश सभाका उम्मेदवार बनेका थिए । प्रतिनिधि सभामा अम्मरबहादुरले रवीन्द्रराजलाई भोट मागेका थिए भने प्रदेश सभातर्फ रवीन्द्रराजले अम्मरबहादुरलाई भोट मागेका थिए । त्यसबेला दुवै निर्वाचित भए ।

कर्णाली प्रदेश सरकारमा नेकपाभित्रको अन्तसंघर्षका क्रममा अम्मरबहादुर विद्रोही भूमिकामा प्रस्तुत भए । कर्णाली प्रदे सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिन एमाले केन्द्रले गरेको निर्णयविरुद्ध चर्चित ‘फ्लोर क्रस’ ले उनको सांसद पद खोसियो । पार्टी निर्देशनविरुद्ध ‘फ्लोर क्रस’ गरेको भन्दै एमालेले उनीलगायत चार सांसद उनलाई कारबाही गरेको थियो ।

तर, सर्वोच्च अदालतले एमालेले गरेको कारबाही गैरकानुनी ठहर गरेसँगै उनी पुनर्स्थापित भए । पछि उनले ६ महिनासम्म प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाए । राजनीतिक रूपमा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेर कर्णाली प्रदेश अध्यक्ष बनेका अम्मरबहादुर हाल माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपाका नेता हुन् । 

अनुकूलता

कलिलै उमेरदेखि राजनीतिमा सक्रिय अम्मरबहादुर दैलेखका प्रभावशाली नेता हुन् । जिल्लाको तल्लोतहसम्मका कार्यकर्तामा उनको पहुँच र प्रभाव देखिन्छ ।

प्रतिकूलता

पूर्वसहकर्मीहरू नै प्रतिस्प्रर्धामा छन् । वडा, प्रदेश, संविधानसभा हुँदै प्रतिनिधिसभा सदस्य बनिसकेकाले आफूले मात्र पटक–पटक अवसर लिएको आरोप लाग्दै आएको छ ।

व्यक्तिगत विवरण

नाम: अम्मरबहादुर थापा

जन्म : २०१२ साल माघ १२ गते, दैलेख

स्थायी ठेगाना:  भगवतीमाई गाउँपालिका–१, दैलेख

शिक्षा: टेस्ट पास

राजनीतिक यात्रा

२०७० : संविधान सभा सदस्यमा विजयी

२०७४ : कर्णाली प्रदेश सभा सदस्यमा विजयी

२०७९ : प्रतिनिधिसभा सदस्यमा विजयी

२०२८ : पञ्चायत जिल्ला सदस्य निर्वाचित

२०२८ : वडाध्यक्ष

२०३२ : वडाध्यक्ष

२०३५ : उपप्रधान

२०३९ : जिल्ला पञ्चायत सदस्य

२०४९ : स्थानीय चुनावमा स्वतन्त्र वामपन्थीको तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित

२०५४ : नेकपा एमाले दैलेख जिल्ला सचिव

२०६५ : एमाले दैलेख जिल्ला अध्यक्ष

२०६४ : संविधानसभा सदस्य उम्मेदवार भई पराजित

२०७० : संविधानसभा सदस्यमा विजयी

२०७४ : प्रदेश सभा सदस्यमा विजयी

२०७९ : प्रतिनिधिसभा सदस्यमा विजयी

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अम्मर बहादुर थापा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित