विद्रोह पुष्टि गर्नुपर्नै चुनौती
पार्टी नै फेरेर जिल्ला कमिटि सहित नेकपामा आएका उनी यसपटक प्रतिनिधिसभामा छिर्ने दाउमा छन् ।
०००
गत ६ माघसम्म कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ नेकपा एमालेका नेता थिए । उनी एमालेबाटै टिकट लिएर प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा थिए ।
एमाले ओखलढुंगा जिल्ला नेतृत्व आफू अनुकुल रहेकाले उम्मेवादरका आकांक्षीमा उनको नाम नपर्ने कुरै भएन । एमालेका पूर्ववरिष्ठ नेता ईश्वर पोखरेल सहित अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकीको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।
तर जिल्लाले सिफारिस गरेका कसैले पनि टिकट पाएनन् । लिखु गाउँपालिका उपाध्यक्ष रहेकी अस्मिता थापालाई एमाले केन्द्रले टिकट दियो । यसपछि अम्बिरबाबु गुरुङले विद्रोह रोजे । उम्मेदवारी दर्ता गराउने अन्तिम दिन नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै उनी ओखलढुंगामा तारा चिह्नबाट उम्मेदवार बनेका छन् ।
आसन्न २१ फागुनमा हुने निर्वाचनमा गुरुङ आफ्नै पूर्व पार्टीका उम्मेदवारसँग प्रतिश्पर्धामा छन् । र यो चुनाव उनका निम्ति सामान्य जित/हार मात्र नभएर विद्रोह पुष्टि गर्दै राजनीतिक करिअर सुरक्षित गर्नुपर्ने चुनौतीका रूपमा रहेको छ ।
फेरि तारा लिएर मैदानमा
२०२२ सालमा ओखलढुंगाको सिध्दिचरण नगरपालिका-४, स्थित रुम्जाटारमा जन्मिएका गुरुङले आकस्मिक निर्णय लिँदै नेकपाबाट उम्मेदवार बनेपनि तारा चिह्न भने नौलो होइन । २०५६ सालको निर्वाचनमा उनले मालेका उम्मेदवार बन्दै ओखलढुंगामा तारा चिह्नबाट चुनाव लडेका थिए ।
तर देशभर मालेले कतै नजित्दा उनी पनि पराजित भए । चुनावमा शून्य भएपछि माले एमालेमै समाहित भयो । गुरुङ पनि एमालेमै फर्किए ।
अमेरिकाबाट वाणिज्य शास्त्रमा स्नातक गरेका गुरुङ जिल्ला नेतृत्वमा भने २०५३ सालमै पुगेका थिए । तर विभाजनतिर लाग्दा २०७० सालम मात्रै बल्ल एमाले जिल्ला सचिवालय सदस्य बने । त्यसबेला उनी आर्थिक विभाग प्रमुख भएर काम गरे ।
२०७४ सालमा वाम गठनबन्धनको उम्मेदवार बनेर प्रदेश सभा (क) बाट निर्वाचित भए । २०७६ मा कोशी प्रदेश सरकारको शक्तिशाली भौतकि पूर्वाधार मन्त्री बने । २०७९ को प्रदेश सभामा झिनो मतान्तरले पराजित भए ।
कांग्रेसका प्रदिपकुमार सुनुवार १४ हजार ९१६ ले विजयी हुँदा गुरुङले १४ हजार ५५६ मत पाएका थिए । पार्टी नै फेरेर जिल्ला कमिटि सहित नेकपामा आएका उनी यसपटक प्रतिनिधिसभामा छिर्ने दाउमा छन् । प्रदेश सरकारका मन्त्री हुँदा धेरै विकासका योजना पारेर जिल्लामा विकासप्रेमी नेताका रूपमा चिनिएका छन् ।
विकासका काममा उनको प्रतिबद्धता र सहयोगी भूमिकाका कारण युवाहरूमा लोकप्रिय छन् । विगतका निर्वाचनमा एक पालिका तत्कालीन माओवादी केन्द्र र एक पालिका जनता समाजवादी पार्टीले जितेका छन् ।
जसपाले उनलाई समर्थन गरेको छ । दुई पालिका प्रमुख र ९ वडामा भएको जनाधार र हाल नेकपाले गत निर्वाचनमा पाएको समानुपातिक मत करिब ८ हजार मतको जगमा उनी जित निकाल्ने दाउमा छन् ।
एक मात्र प्रतिनिधिसभा निवार्चन क्षेत्र भएको ओखलढुंगामा १ लाख २२ हजार मतदाता छन् भने विगतमा हुने दुई पक्षीय प्रतिस्पर्धा अहिले चार उम्मेदवारबीच कडा हुने र लोकप्रिय मत तानेर जित निकाल्ने उनको रणनीति छ ।
अनुकूलता
- लामो राजनीतिक अनुभव ।
- प्रदेश सरकारका पूर्वमन्त्री भइसकेकाले शासन–प्रशासन र विकास योजनाको अनुभव छ, जसले मतदातामाझ भरोसा दिलाउन सक्छ ।
- नेकपा, जसपा सहितको संगठनको शक्ति । एमाले र कांग्रेसभित्र रहेको असन्तुष्ट मत ।
प्रतिकूलता
- अन्तिम समयमा पार्टी फेरेको निर्णयलाई मतदाताले अवसरवादको रूपमा बुझ्न सक्ने जोखिम छ ।
- आफ्नै पूर्व पार्टीविरुद्ध प्रतिस्पर्धा
- नयाँ र युवा प्रतिश्पर्धी ।
अम्बिर बाबु गुरुङ्ग को उम्मेदवारि कस्तो लागयो ?


