प्रविधि इन्जिनियर राजनीतिक इन्जिनिरिङतर्फ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा इञ्जिनियर अरविन्द साह प्रस्तुत भएका छन्।
बाराको महागढीमाई नगरपालिका–७, तेलकुवा निवासी साहको जन्म वि.सं. २०५१ वैशाख ५ गते भएको हो। गाउँको पूर्वाधार कमजोर अवस्थामा रहेको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले माध्यमिक तथा उच्च शिक्षा कलैया र वीरगञ्जबाट पूरा गरेका हुन् ।
साहले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इञ्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरेका छन् । त्यसपछि ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन पूरा गरेका उनले उक्त तहमा नेपालमै पहिलोपटक आईसीटी इन एग्रिकल्चर विषयमा थेसिस गरेका थिए।
यस कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक सहयोगसमेत प्राप्त गरेका थिए। हाल उनी ग्रामीण विकास विषयमै एमफिल/पीएचडी अध्ययनरत छन्।
ग्रामीण जनजीवन, कृषि कर्म र सामुदायिक परिवेशमै उनको बाल्यकाल बितेको हो। बाबु–आमा दुवै शिक्षक भएकाले शिक्षा प्रतिको लगाव सानैदेखि विकास भएको देखिन्छ। उनका भाइ छात्रवृत्तिमार्फत चिकित्सा शिक्षा अध्ययनरत रहेका छन् भने दाइ पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङ उत्तीर्ण हुन्।
सन् २००८ मा पुल्चोक क्याम्पसमा अध्ययनरत रहँदा चार जना साथीहरूसँग मिलेर ‘जानकी टेक्नोलोजी’ स्थापना गरेका साह विगत १५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमार्फत देशव्यापी रूपमा ‘स्प्यारो एसएमएस’ सेवा प्रदान गर्दै आएका छन्।
सन् २०१६ मा खल्ती एपमार्फत डिजिटल सेवा प्रदायकको रूपमा काम सुरु गरेका उनले हाल १ करोड ३० लाखभन्दा बढी प्रयोगकर्तालाई वित्तीय सेवा उपलब्ध गराउँदै आएका छन्। साथै अन्य विभिन्न कम्पनीहरू स्थापना गरी आईटी क्षेत्रमा लामो समयदेखि नेपालमै बसेर काम गर्दै आएका छन्।
देशका विभिन्न भूभागमा पुगेर सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ता तथा युवालाई प्रेरणा प्रदान गर्दै आएका साह शून्य लगानीबाट सुरु भएको व्यवसायिक यात्रामा पारिवारिक साथ र सहयोगका कारण यो स्थानसम्म पुग्न सफल भएका हुन्।
मेहनत, इमान्दारिता र धैर्यतालाई सफलताको मूल आधार मान्ने साह यसपटक प्रतिनिधिसभा सदस्य बनेर समग्र देशको विकासका लागि दीर्घकालीन नीति र खाका तयार गर्न चाहने उम्मेदवारका रूपमा अघि आएका छन्।
अनुकूलता
• प्रविधि र नवप्रवर्तनको बलियो पृष्ठभूमि
• ग्रामीण विकाससँग सम्बन्ध
• स्वनिर्मित उद्यमी छवि
प्रतिकूलता
• प्रत्यक्ष राजनीतिक अनुभवको अभाव
• आईटी क्षेत्रमा बलियो पहिचान भए पनि कृषि, स्वास्थ्य, पूर्वाधार जस्ता अन्य क्षेत्रमा सन्देश अझ व्यापक बनाउनु पर्ने चुनौती
• स्थापित राजनीतिक संरचनासँग प्रतिस्पर्धा
अरबिन्द साह को उम्मेदवारि कस्तो लागयो ?


