आन्दोलन, संगठन र विकासका अनुभवी
नेकपा (एमाले) ले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि बलवीर प्रसाद चौधरीलाई उम्मेद्वार बनाएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलन, जनआन्दोलन र पार्टी संगठनमा सक्रिय चौधरीलाई अनुभवी तथा स्थापित नेताका रूपमा एमालेले अघि सारेको हो।
बारा जिल्लाको करैयामाई गाउँपालिका–५ मा जन्मिएका चौधरीको जन्म वि.सं. २०२६ साल कार्तिक १५ गते भएको हो। बाबु भैराम चौधरी र आमा भुवनी देवीका सुपुत्र चौधरीले आई.ए. सम्मको अध्ययन पूरा गरेका छन्।
चौधरीले वि.सं. २०३५ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए। २०५६ सालदेखि निरन्तर नेकपा (एमाले) मा सक्रिय रहँदै आएका उनी पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
वि.सं. २०७४ सालमा बारा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन बारा क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार रामकान्त चौधरीसँग पराजित भएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा बारा २(क) बाट उम्मेद्वार बने पनि पराजय भोगे।
यद्यपि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने चौधरी तत्कालीन बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। हाल उनी नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यका रूपमा पार्टी जिम्मेवारी सम्हालिरहेका छन्।
पार्टी संगठन सुदृढीकरण, जनआन्दोलन र स्थानीय विकासका सवालमा निरन्तर सक्रिय चौधरीलाई एमालेले बारा–२ मा बलियो उम्मेद्वारका रूपमा प्रस्तुत गरेको छ।
अनुकूलता
- कम्युनिस्ट आन्दोलनदेखि संविधानसभा र प्रतिनिधिसभासम्मको अनुभव
- जिल्ला विकास समिति उपसभापतिको कार्यअनुभव
- पार्टीभित्र मजबुत हैसियत
प्रतिकूलता
- अघिल्ला निर्वाचनमा पराजयको इतिहास
- लामो समय राजनीतिमै केन्द्रित छवि
- क्षेत्र–२ मा कडा प्रतिस्पर्धा
बलवीर प्रसाद चौधरी को उम्मेदवारि कस्तो लागयो ?

