Home Candidate धर्मराज केसी

विज्ञतालाई नीति र माटोमा लगाउने नारा

लमजुङ - १ उम्मेदवार

धर्मराज केसी

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ४५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

अन्तर्राष्ट्रिय अनुभव र विज्ञता बोकेर धर्मराज केसी लमजुङमा स्थापित राजनीतिलाई चुनौती दिँदै मैदानमा छन् ।

०००

२०७९ सालको मंसिरमा भएको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका ‘हेभिवेट’ भनिएका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले यसपटक पनि लमजुङमा टिकट हात पारेका छन् ।

प्रकृति संरक्षण र वातावरण क्षेत्रमा विज्ञता हासिल गरेका केसी यसपटकको चुनाव आफ्नो पक्षमा पार्ने उद्घोषसहित चुनावी अभियानमा सक्रिय छन् ।

अघिल्लो चुनावको अनुभव, अन्तर्राष्ट्रिय अध्ययन र पेशागत पृष्ठभूमिसहित केसी यसपटक फरक तयारीका साथ मैदानमा देखिएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठदेखि समाजसेवी महावीर पुनसम्मका विज्ञ सल्लाहकारका रूपमा काम गरिसकेका केसीले नेपाल र विदेशमा ऊर्जा, दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी परियोजनामा प्राविधिक तथा नीति विज्ञका रूपमा योगदान दिएका छन् ।

अघिल्लो निर्वाचनमा सम्मानजनक मत ल्याएका केसी यसपटक गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री, संघीय मन्त्री तथा एमाले उपाध्यक्षसमेत रहेका पृथ्वीसुब्बा गुरुङलाईपछि पार्दै जित निकाल्ने दाउमा छन् । उनका अर्का प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका गमप्रसाद गुरुङ हुन्, जो भुइँतहमा रहेर नागरिकसँग जोडिँदै सामाजिक अभियान तथा कृषि र जडीबुटी खेतीमा सक्रिय रहँदै आएका छन् ।

यसैगरी नेकपाका उम्मेदवार हरिजंग तामाङ पनि प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । यी सबैलाई उछिनेर संसद् पुग्ने लक्ष्यसहित केसी मत मागिरहेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–६, छत्रीथाँटी (ढोडसिङ) मा जन्मिएका केसीले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट वातावरण इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् । अध्ययनका क्रममा उनले पूर्ण छात्रवृत्ति प्राप्त गर्नुका साथै अनुसन्धान सहायकका रूपमा पनि काम गरेका थिए ।

ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नेपालसहित ४० भन्दा बढी देशमा झन्डै दुई दशकसम्म काम गरेको अनुभवलाई देश विकासमा लगाउने उनको भनाइ छ । उनका कार्यक्षेत्रमा नवीकरणीय ऊर्जा, जलविद्युत् विकास, वातावरणमैत्री ऊर्जा, फोहोरबाट ऊर्जा उत्पादन, मल उत्पादन तथा उन्नत र व्यावसायिक कृषि जस्ता विषय समेटिएका छन् ।

ग्रामीण ऊर्जा प्रविधि विकासमा योगदान पुर्‍याएको भन्दै उनले अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तर्राष्ट्रिय स्तरको पुरस्कारसमेत प्राप्त गरेका थिए । यिनै उपलब्धि र योजनाबारे मतदातालाई बुझाउँदै केसी घरदैलो अभियानमा छन् ।

देश विकासमा दक्ष, इमानदार र ऊर्जाशील युवाको भूमिका निर्णायक हुने धारणा राख्ने केसी ‘प्रतिभा पलायन होइन, प्रतिभा फिर्ता र परिचालन’ आवश्यक रहेको एजेन्डा अघि सार्छन् । लमजुङमा विद्युत्, उन्नत कृषि, पशुपालन, जडीबुटी, शिक्षा, स्वास्थ्य, उद्योग तथा धार्मिक र साहसिक पर्यटनका पर्याप्त सम्भावना रहेको भन्दै उनले ती क्षेत्रको वैज्ञानिक र दिगो उपयोगमार्फत जिल्लावासीको जीवनस्तर उकास्ने योजना प्रस्तुत गरेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा केसीले ९ हजार २९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । उक्त निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९ सय ६९ मतसहित विजयी भएका थिए भने कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए । अहिलेको राजनीतिक परिस्थितिमा पुरानो अंक गणितले काम नगर्ने र आफ्नो जित सुनिश्चित हुने दाबी केसीको छ ।

अनुकूलता

  • वातावरण, ऊर्जा र दिगो विकासमा अन्तर्राष्ट्रिय स्तरको विज्ञता
  • अघिल्लो निर्वाचनको अनुभव र सम्मानजनक मत
  • ‘नयाँ राजनीति’ र नीति–केन्द्रित एजेन्डाले युवा तथा सचेत मतदातामा अपिल

प्रतिकूलता

  • स्थानीय तहको प्रत्यक्ष राजनीतिक संगठन कमजोर
  • हेभिवेट र स्थापित प्रतिस्पर्धी उम्मेदवारसँग भिडन्त
  • विज्ञ छवि बलियो भए पनि जनसंपर्क राजनीतिमा सीमित अनुभव
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

धर्मराज केसी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित