जडीबुटी र तितेपाती उत्पदानको अनुभव बोकेर प्रतिस्पर्धामा
पराजयपछि गाउँ फर्किएका गमप्रसाद जडीबुटीको अनुभव बोकेर पहिलोपटक संसद् छिर्ने दाउमा छन् ।
०००
नेपाली कांग्रेस लमजुङका पूर्वसभापति गमप्रसाद गुरुङ पार्टी राजनीतिमा पराजय भोगेपछि फेरि गाउँ फर्किएर तितेपाती र जडीबुटीको खेती, अनुसन्धान र गोडमेलमै व्यस्त थिए । अघिल्लो कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका गमप्रसादलाई विशेष महाधिवेशनपछि बनेको गगन थापा नेतृत्वको टिमले यसपटक प्रतिनिधिसभा निर्वाचनको टिकट दिएको हो ।
पार्टीमा पराजयपछि गाउँमै कृषि, जडीबुटी खेती, अध्ययन र अनुसन्धानमा रमाइरहेका गमप्रसादले टिकट पाउने अपेक्षा धेरैले गरेका थिएनन् । तर जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको घोषणासँगै हुन लागेको निर्वाचनमा गगन नेतृत्वको रोजाइमा परेपछि उनी फेरि चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेसको राजनीतिसँगै आफ्नै गाउँठाउँमा कृषि, जडीबुटी उत्पादन र नर्सरी सञ्चालन गरिरहेका गमप्रसादलाई कांग्रेसले निष्ठावान र इमानदार नेताका रूपमा प्रस्तुत गरिरहेको छ । २०७२ सालको भूकम्पका बेला काठमाडौंमा उद्यम गरिरहेका गमप्रसाद दम्पतीले आफ्नै बारीमा जडीबुटी नर्सरी स्थापना गर्दै १९ प्रजातिका लोपोन्मुख जडीबुटीको संरक्षण, अनुसन्धान र उत्पादन थालेका थिए ।
पार्टी नेतृत्वमा आकांक्षा राखेर पराजय भोगेपछि क्व्होलासोथार गाउँपालिका–८ फर्किएका गमप्रसाद भुइँतहमै बसेर अनुसन्धान गर्दै रोजगारीका अवसर खोज्ने नेताका रूपमा परिचित छन् । पहिलो पटक संसदीय चुनावको टिकट पाएर घरदैलोमा पुगेका उनी आफूले गर्दै आएको कामलाई नै नीतिसँग जोड्ने योजना सुनाउँदै मत मागिरहेका छन्।
क्व्होलासोथार–८, गाम्राङमा करिब ६० रोपनी जमिनमा उनले लोपोन्मुख जडीबुटी संरक्षण, अनुसन्धान तथा तितेपातीको तेल, बिटर, फेस मास्क, साबुन, पेस्टिसाइड र लामखुट्टेलगायत किरा मार्ने झोल औषधि उत्पादन गर्दै सम्भावना देखाइसकेका छन् । यही अनुभवलाई उदाहरण बनाउँदै उनी चुनावी अभियानमा छन् ।
तत्कालीन जिल्ला विकास समितिको सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भइसकेका गमप्रसाद आफू पार्टी र पदका लागि मरिहत्ते नगर्ने नेता भएको बताउँछन् ।
‘पार्टीमा हारें, तर गाली गरेर बसिन,’ उनी भन्छन्, ‘अरूलाई दोष दिएर उम्किनुभन्दा सामाजिक अभियान र कृषि तथा जडीबुटीको अनुसन्धानमै फर्किएँ । मसँग ठूला–ठूला वाचा छैनन्, लमजुङमै सम्भावना छ भन्ने देखाउने प्रयास मात्रै गरेको हुँ ।’
कांग्रेसले गमप्रसादलाई भुइँतहमै भिजेका नेताका रूपमा अघि सारे पनि प्रतिस्पर्धा सजिलो छैन। उनका प्रमुख प्रतिस्पर्धी एमाले उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, ‘नयाँ विकल्प’ भन्दै अघि बढेका रास्वपाका धर्मराज केसी, र नेकपाका युवा उम्मेदवार हरिजंग तामाङ छन्।
स्थायी शिक्षकको जागिर छाडेर सामाजिक जागरणमा लागेको बताउने गमप्रसादले समाजशास्त्रमा स्नातक गरेका छन्। उनी र पृथ्वीसुब्बा गुरुङ एउटै पालिका क्व्होलासोथारका बासिन्दा हुन्।
‘हामी गरिब स्रोत–साधन नहुँदा होइन, व्यवस्थापन गर्न नसकेर हो,’ गमप्रसाद भन्छन्, ‘जडीबुटीलाई व्यवसायीकरण गरेर विश्वबजारसँग जोड्न सकिन्छ भन्ने मैले गरेर देखाएको छु। मतदातालाई भन्नु पनि यही हो ।’
अनुकूलता
- भुइँतहमा बसेर कृषि र जडीबुटीमा गरेको प्रत्यक्ष काम
- निष्ठावान र इमानदार छवि, स्थानीय जीवनसँग गहिरो सम्बन्ध
- कृषि, रोजगारी र उद्यमशीलतामा व्यवहारिक अनुभव
प्रतिकूलता
- हेभिवेट र स्थापित उम्मेदवारसँग कडा प्रतिस्पर्धा
- राष्ट्रिय तहको राजनीतिक ब्रान्डिङ कमजोर
- पहिलोपटक संसदीय चुनाव लड्दै
गमप्रसाद गुरुङ को उम्मेदवारि कस्तो लागयो ?



