Home Candidate हिराबहादुर खत्री

पार्टीको मत जोगाउने चुनौती

रूपन्देही - १ उम्मेदवार

हिराबहादुर खत्री

नेपाली कांग्रेस
पुरुष , ५३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४६ चैत २६ गते जनआन्दोलनका क्रममा बुटवलमा गोली चल्दा प्रत्यक्षदर्शी थिए, हिरा केसी (हीराबहादुर खत्री)। जनआन्दोलन सफल भएपछि आयोजित विजय जुलुसमा सहभागी भए।
किशोर अवस्थाका केसीलाई रूपन्देहीको देवदहका कांग्रेस नेता गुरुप्रसाद पराजुलीले चारतारे झण्डा र रूख सहितको लुगा लगाइदिए। त्यसपछि उनी नेपाली कांग्रेस बने।

नेपाल विद्यार्थी संघ, देवदहको सचिवबाट विद्यार्थी राजनीति शुरु गरेका केसी केही वर्षपछि नेपाल तरुण दल, देवदह गाउँ समितिको अध्यक्ष बने। २०५४ सालतिर तरुण दलकै रूपन्देही–१ को क्षेत्रीय सभापति भए।

तरुण दल जिल्ला सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर काम गरेका केसी १२औं अधिवेशनबाट पार्टीको जिल्ला सदस्य निर्वाचित भए। पछि जिल्ला सचिव मनोनित भए। १३औं र १४औं अधिवेशनबाट क्षेत्रीय सभापति निर्वाचित भए।

२०२९ सालमा रूपन्देहीको देवदह, भलुहीमा किसान परिवारमा जन्मेका केसीले बुटवल धागो कारखानामा मजदुरी गरे। सीताराम गोकुल मिल्कस्‌मा दूध संकलन गर्नेदेखि स्याङ्जा पुगेर पेट्रोल पम्पमा पनि काम गरे।

उनले देवदहकै सरकारी विद्यालयबाट एसएलसी गरेका हुन्। सानै उमेरदेखि दूध बेच्न बुटवल पुग्नुपर्ने बाध्यताले औपचारिक पढाइले निरन्तरता पाउन सकेन। लामो समय खेतीपाती, पशुपालन र दुग्ध व्यवसाय गरे।

व्यवसायसँगै राजनीतिलाई निरन्तरता दिएका उनले २०७४ को स्थानीय तह निर्वाचनमा एमाले र माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गरेर देवदह नगरको प्रमुख बने। २०७९ मा नगर प्रमुखमा दोहोरिन उनलाई १ हजार ६२० मत अपुग भयो।

जेनजी आन्दोलनको मर्म र भावना अनुसार पार्टी पुनर्गठन, नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने गगन–विश्वहरूको मागलाई केसीले साथ दिए। काठमाडौंमा आयोजित विशेष महाधिवेशनमा सहभागी भए।

केसीले एमालेका दधिराम न्यौपाने, रास्वपाका सुनिल लम्साल, राप्रपाका प्रज्ज्वल बोहरा, नेपाली कम्युनिष्ट पार्टीका घनश्याम यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन्।

२०७९ को निर्वाचनमा एमालेका सचिव छविलाल विश्वकर्माले २४ हजार ८८२ मत ल्याएर जितेका थिए। माओवादी केन्द्र–एकीकृत समाजवादी लगायतको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले २१ हजार ३१८, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १४५, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९६२ र एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका टीकाराम चापागाईले ३ हजार ४८९ मत पाएका थिए।

समानुपातिकतर्फ कांग्रेसले १९ हजार १२५ मत पाएको थियो। रास्वपाले १५ हजार ८००, एमालेले १५ हजार ७२४ र राप्रपाले ११ हजार २४३ भोट ल्याएको थियो। जित निकाल्न केसीले पार्टीभित्रको मत जोगाउँदै व्यक्तिगत भोट तान्न सक्नुपर्ने देखिन्छ।

–टोपराज शर्मा

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

हिराबहादुर खत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित