बालसैनिक मुद्दाबाट संसद् यात्राको प्रयासमा
पूर्व बालसैनिकहरूको न्याय र पहिचानको मुद्दा बोकेका लेनिन बिष्ट स्वतन्त्र उम्मेदवारका रूपमा काभ्रे-२ मा चुनावी प्रतिस्पर्धामा छन्।
०००
१२ वर्षकै उमेरमा सशस्त्र द्वन्द्वमा होमिएका लेनिन बिष्टले काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पूर्व बालसैनिकहरूको हक-अधिकार, न्याय र पुनर्स्थापनाका लागि लामो समयदेखि संघर्षरत अभियन्ता हुन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१२ मा पिता श्यामकाजी बिष्ट र माता सावित्री बिष्टको कोखबाट जन्मिएका लेनिन सन् २००२ मा १२ वर्षकै उमेरमा तत्कालीन माओवादी आन्दोलनमा सहभागी भएका थिए ।
द्वन्द्वपछिको अवस्थामा आफूजस्तै हजारौँ पूर्व बालसैनिकहरूले भोग्नुपरेको अपमान, पहिचानविहीनता र अन्यायविरुद्ध उनी निरन्तर आवाज उठाउँदै आएका छन् ।
उनी डिस्चार्ज्ड पिपल्स लिबरेसन आर्मी नेपालका संस्थापक अध्यक्ष हुन् । यस संस्थामार्फत उनले पूर्व बालसैनिकलाई ‘अयोग्य’ भन्ने अपमानजनक लेबल हटाउन, राज्यबाट न्यायपूर्ण व्यवहार सुनिश्चित गर्न तथा शिक्षा, सिप र सम्मानजनक जीवनको अधिकार दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्दै आएका छन् ।
उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायमा मुद्दा दायर गर्ने प्रयाससमेत गरेका थिए ।
लेनिन बिष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दर्जनौँ लेख र अन्तर्वार्तामार्फत द्वन्द्वपीडित, बालअधिकार र संक्रमणकालीन न्यायका विषयलाई उजागर गर्दै आएका छन् ।
हाल उनी नेपाल शान्ति निर्माण संस्थानमा युवा कार्यक्रम निर्देशकका रूपमा क्रियाशील छन् र युवालाई नेतृत्व, शान्ति तथा नागरिक चेतनामा सशक्त बनाउने काममा संलग्न छन् ।
शिक्षाको हिसाबले उनले व्यवस्थापन विषयमा स्नातक र इतिहास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् । इमानदार नेतृत्व, उत्तरदायी शासन, सामाजिक न्याय र भविष्यकेन्द्रित राजनीतिमा विश्वास राख्ने उनी नयाँ पुस्ताका उम्मेदवार हुन् । उनले निर्वाचनमा कप चिह्न पाएका छन्।
अनुकूलता
- पूर्व बालसैनिकको मुद्दामा लामो संघर्ष र स्पष्ट पहिचान
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुद्दा उठाउने अनुभव
- युवा पुस्तासँग जोडिने वैकल्पिक र मुद्दामुखी राजनीति
प्रतिकूलता
- स्वतन्त्र उम्मेदवार भएकाले संगठनात्मक कमजोरी
- परम्परागत दलसँग प्रतिस्पर्धामा स्रोत र संरचनाको अभाव
- मुद्दामुखी राजनीति सबै मतदातासम्म पुर्याउने चुनौती
लेनिन विष्ट को उम्मेदवारि कस्तो लागयो ?




