विद्यार्थी राजनीतिको जगमा टेकेर प्रतिनिधिसभा पुग्ने बाटो खोज्दै
२०६५ सालमा अनेरास्ववियु कञ्चनपुरको अध्यक्ष भनेका पन्त त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुको नेतृत्व तथा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आए ।
००००
२०४३ भदौ १९ बैतडीको पुरचौडी नगरपालिका–३ पन्त नाकालीमा जन्मिएका माधव पन्त कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।
नेकपा एमालेको अनेरास्ववियुमा संगठित भएर राजनीतिमा होमिएका उनी हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन् ।
पन्तले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एलएलबी उपाधि हासिल गरेका छन् ।
संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतार लगायतका देशमा आयोजित गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी भएको अनुभव पन्तसँग छ ।
पन्त हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य छन् । उनी यसअघि नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व नेकपा (एकीकृत समाजवादी) का कञ्चनपुर जिल्ला सह–इन्चार्जको जिम्मेवारीमा थिए ।
२०५९ मा १० कक्षामा पढ्दै गर्दा उनी कञ्चनपुरकै झलारीस्थित कृष्ण माध्यमिक विद्यालयबाट एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष बने ।
पन्त २०६२ मा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपसभापतिमा निर्वाचित भए । २०६४ मा स्ववियु सभापतिका उम्मेदवार बने । तर सफल भएनन् ।
२०६५ मा अनेरास्ववियु कञ्चनपुरको अध्यक्ष भनेका पन्त त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुको नेतृत्व तथा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आए ।
एमालेमा सक्रिय रहँदै आएका पन्त पार्टी विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) मा खुलेका थिए । उनलाई एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन–२०७९ मा शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको थियो । चुनावी तालमेलका कारण प्रमुख तत्कालीन नेकपा माओवादी केन्द्रले पाएको थियो ।
उक्त चुनावमा पन्त सफल हुन नसके पनि आफूले परित्याग गरेको पार्टी एमालेभन्दा बढी मत ल्याउन सफल भए । पन्तले ५ हजार ३६० मत ल्याउँदा एमाले उम्मेदवार मोनिकाकुमारी भण्डारीले ५ हजार २३६ पाइन् । ६ हजार ५१९ मतसहित नेपाली कांग्रेसबाट कल्पनाकुमारी जोशी उपप्रमुखमा विजयी भइन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नयाँ दल नेकपाले यसपालि पन्तलाई कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कांग्रेसले साविक विजेता पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, एमालेले वचनबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दीपक बोहरालाई अघि सारेको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा कञ्चनपुर–२ बाट कांग्रेस नेता साउद २८ हजार १३६ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीले २१ हजार ६८२ मत पाएका थिए ।
तेस्रो भएका रास्वपाका झंकरराज जोशीले ४ हजार ९३७ मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो ।
कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा र वेदकोट (वडा नम्बर ८ बाहेक) नगरपालिकाहरूको भूगोल मिलाएर क्षेत्र नम्बर २ निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचन–२०७९ मा पालिका प्रमुखहरूले प्राप्त गरेको मतलाई आधार मान्दा यहाँ पन्तलाई अघि सारेको दल नेकपाको मत १७ हजार ९९८ छ ।
यस्तै कञ्चनपुर–२ मा कांग्रेसको मत २४ हजार ६७६ र एमालेको मत १७ हजार ९८७ देखिन्छ ।
अनुकूलता
- शैक्षिक तथा बौद्धिक क्षमता बलियो
- लामो राजनीतिक र संगठनात्मक अनुभव
- अन्तर्राष्ट्रिय एक्सपोजर र वैदेशिक अनुभव
प्रतिकूलता
- यसअघिको निर्वाचनमा पराजयको इतिहास
- क्षेत्रमा दलको मत कमजोर देखिनु
- बलिया र स्थापित प्रतिस्पर्धी उम्मेदवारहरू
माधव प्रसाद पन्त को उम्मेदवारि कस्तो लागयो ?


