Home Candidate राम बहादुर भण्डारी

द्वन्द्वको घाउदेखि संसद्‌को यात्रासम्म

धादिङ - २ उम्मेदवार

राम बहादुर भण्डारी

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जनयुद्धका जिउँदो शहीदरामबहादुर भण्डारी धादिङ-२ मा नेपाली कम्युनिस्ट पार्टीबाट संघर्षको विरासत बोकेर संसद् यात्रामा छन् ।

०००

नेपाली कम्युनिस्ट पार्टीले धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट रामबहादुर भण्डारीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

२०५२ सालमा सुरु भएको माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया हुँदै वर्तमान संसदीय राजनीतिसम्म आइपुगेका भण्डारी नेपाली राजनीतिका त्यागी र संघर्षशील पात्र मानिन्छन् ।

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा छातीमा राज्यपक्षको गोली र शरीरभरि यातनाका दाग बोकेका उनी ‘जिउँदो शहीद’ का रूपमा पनि चिनिन्छन् ।

२०१६ सालमा पिता इन्द्रबहादुर भण्डारी र माता पद्मकुमारी भण्डारीको कोखबाट जन्मिएका भण्डारीको राजनीतिक चेतना २०३५ सालको विद्यार्थी आन्दोलनबाट विकसित भएको हो । २०३६ सालको जनमत संग्रहमा पोखरा, काठमाडौं र चितवनलगायतका स्थानमा सक्रिय भूमिका खेलेका उनी २०३८ सालमा नेकपा (चौम) का पूर्णकालीन सदस्य बने । राजनीतिक सक्रियताकै कारण औपचारिक शिक्षा कक्षा १० मै सीमित रह्यो ।

२०४७ सालमा मोटो मशालको इलाका सेक्रेटरी र २०५१ सालमा नेकपा (माओवादी) मा आबद्ध भएपछि उनको जीवनले निर्णायक मोड लियो । २०५२ साल फागुनदेखि धादिङमा स्वयंसेवक दलको कमान्ड सम्हाल्दै उनी माओवादीको पूर्णकालीन भूमिगत राजनीतिमा होमिए ।

नेपाली राजनीतिक इतिहासमा चर्चित र क्रुर मानिएको प्रहरी अप्रेसन ‘किलोसेरा-२’ भण्डारीको जीवनको सबैभन्दा ठूलो मोड बन्यो ।

२०५५ साल जेठ १८ गते घरबाटै पक्राउ परेका उनलाई भोलिपल्ट साविक ज्यामरुङ-४ (हाल नीलकण्ठ-११) मा प्रहरी हिरासतमै गोली हानी मृत ठानेर छाडिएको थियो । तर स्थानीयले धुकधुकी फेला पारेर उद्धार गरेपछि उनी मृत्युको मुखबाट फर्किए । अस्पताल शैय्याबाटै पुनः गिरफ्तार गरिएका भण्डारीले तीन वर्ष जेल जीवन बिताए ।

उनको पारिवारिक पीडा पनि गहिरो छ । उनका पाँच सन्तानमध्ये दुई छोरा: सुचन्द्र भण्डारी र सुवास भण्डारी राज्यपक्षबाट बेपत्ता पारिएका थिए, जसको अवस्था आजसम्म अज्ञात छ ।

२०५८ सालमा पहिलो युद्धबिरामपछि जेलमुक्त भएका भण्डारी पार्टी काममा झनै सक्रिय बने । जनयुद्धकालमा ‘जनसरकार प्रमुख’ को जिम्मेवारी निर्वाह गरेका उनले शान्ति प्रक्रियापछि २०७० सालमा धादिङको स्थानीय शान्ति समितिको अध्यक्ष भएर सामाजिक मेलमिलाप र द्वन्द्वपीडितबीच समन्वयमा महत्वपूर्ण भूमिका खेले ।

निरन्तर त्याग, निष्ठा र योगदानको कदरस्वरूप तत्कालीन नेकपा माओवादी केन्द्रले २०८१ सालमा उनलाई केन्द्रीय सदस्य बनाएको थियो ।

नेकपा (एस) सँग एकता भई नेपाली कम्युनिस्ट पार्टी बनेपछि पनि उनी केन्द्रीय सदस्यकै जिम्मेवारीमा निरन्तर छन् ।

यही पृष्ठभूमिसहित भण्डारी धादिङ-२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्, जहाँ अन्य प्रतिस्पर्धीलाई पराजित गर्नु उनको मुख्य चुनौती रहने छ ।

 

अनुकूलता

  • जनयुद्धदेखि शान्ति प्रक्रियासम्मको त्याग र संघर्षपूर्ण इतिहास
  • द्वन्द्वपीडित र सामाजिक मेलमिलापमा विश्वसनीय छवि
  • पार्टी भित्र निष्ठावान र अनुशासित नेताका रूपमा पहिचान

प्रतिकूलता

  • औपचारिक शैक्षिक योग्यता सीमित हुनु
  • सशस्त्र द्वन्द्वकालीन पृष्ठभूमिलाई लिएर केही मतदातामा द्विविधा
  • ठूला दल र स्थापित उम्मेदवारसँग कडा प्रतिस्पर्धा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राम बहादुर भण्डारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित