संसद्तर्फको यात्रामा २०५४ का जिविस सभापति
स्वच्छ छवि र सादगी जीवनशैली, संगठनात्मक अनुभव, स्थानीय विकासमा प्रत्यक्ष योगदान वैचारिक नेतृत्व र कार्यकर्ता तथा स्थानीय जनतामाझ भरोसायोग्य छविका रूपमा उनी परिचित छन् ।
०००
नेकपा एमालेले मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
६३ वर्षीय राना नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । उनी लामो समयदेखि जिल्लालाई आफ्नो स्थायी राजनीतिक कर्मक्षेत्र बनाएर संगठन निर्माणमा केन्द्रित नेता हुन् ।
रानाको राजनीतिक प्रवेश २०३६ सालको आन्दोलनबाट भएको हो । त्यसको एक वर्षपछि २०३७ सालमा उनले अनेरास्ववियुबाट संगठित राजनीति सुरु गरे । त्रिभुवन माध्यमिक विद्यालयको प्रारम्भिक कमिटी हुँदै जिल्ला र केन्द्रसम्मको संगठनात्मक यात्रा तय गरेका रानाले विद्यार्थी राजनीतिमै नेतृत्वदायी भूमिका निर्वाह गरे ।
२०३८ सालमा अनेरास्ववियु मकवानपुर जिल्ला उपाध्यक्ष र २०३९ सालमा जिल्ला अध्यक्ष बनेका उनी २०४२ सालमा केन्द्रीय सदस्यमा पुगे ।
२०४९ सालमा हेटौंडा नगरपालिका-११ को वडाध्यक्ष निर्वाचित हुँदै उनले कार्यकारी जिम्मेवारीको अभ्यास गरे । त्यसपछि २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरको सभापतिमा निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बने पनि उनी पराजित भए ।
रानाले चुरे संरक्षण अभियानको सुरुआत, मकवानपुरमा सडक सञ्जाल विस्तार र एकीकृत जिल्ला विकासमा काम गरेका छन् । उनले चीन, भारत र बंगलादेश लगायतका देशको विकास र अभ्यासको अध्ययन गरेका छन् ।
जिल्लामा स्वच्छ छवि र सादगी जीवनशैली, संगठनात्मक अनुभव, स्थानीय विकासमा प्रत्यक्ष योगदान, पार्टीप्रति निरन्तर निष्ठा, वैचारिक नेतृत्व र कार्यकर्ता र स्थानीय जनतामाझ भरोसायोग्य छविका रूपमा उनी परिचित छन् ।
अनुकूलता
· स्वच्छ छवि र सादगी जीवनशैली
· संगठनात्मक अनुभव
· स्थानीय विकासमा प्रत्यक्ष योगदान
प्रतिकूलता
· प्रतिस्पर्धी राजनीतिक वातावरण
· पुरानो राजनीतिक छवि
· निर्वाचनमा विगतको पराजय
रामेश्वर राना मगर को उम्मेदवारि कस्तो लागयो ?



