‘हृयाट्रिक’ को विरासत जोगाउन कमजोर अंकगणित
२०२८ वैशाखमा जाजरकोटको कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत कुनै बेला सशस्त्र संघर्षको माध्यमबाट नेपाललाई जनवादी गणतन्त्र बनाउने युद्धमा सामेल थिए । अहिले भने चौथो पटक संसद सदस्य बन्ने योजना कार्यान्वयनमा छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर बस्नेत नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी मशालबाटै सहभागी थिए । २०४८ सालमा एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य र २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी भएका उनी २०५१ देखि नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग–संघर्षको नेतृत्व गरे ।
२०५५ मा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य बनेका उनले त्यसको दुई वर्षपछि केन्द्रीय सदस्य र त्यसलगत्तै भेरी–कर्णाली क्षेत्रीय ब्यूरो इञ्चार्जको जिम्मेवारी पाए । २०५९ सालमा पोलिटब्यूरो सदस्य भएपछि बस्नेत भेरी–कर्णाली र थारूवान क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिकामा आए । पार्टीको जनमुक्ति सेनाको डिभिजन कमिसार भएर उनले गण्डकी ब्यूरोको पनि नेतृत्व गरे ।
२०७१ मा स्थायी कमिटी सदस्य बनेका उनी आठौं महाधिवेशनबाट उपमहासचिव चुनिए । जाजरकोटबाट कुनै पार्टीको नेतृत्व तहमा पुग्ने पहिलो नेता बनेका बस्नेत २०६४ मा समानुपातिकतर्फबाट पहिलो संविधानसभामा पुगे । २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने अवसर पाएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर गृहमन्त्री बने ।
२०७४ को प्रतिनिधिसभा चुनावमा विजयी भएसँगै उनी वन तथा वातावरणमन्त्री भए । २०७९ सालमा तत्कालीन सत्ता गठबन्धनको बलमा पुनः विजयी भएर संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ गरेका उनलाई अब विरासत जोगाउने चुनौती छ । यसरी उनी जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पनि बस्नेत पर्दछन् ।
गत निर्वाचनमा बस्नेतले ३४ हजार १५१ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका थिए । यसपटक एमालेबाट डम्बरबहादुर सिंह र नेपाली कांग्रेसबाट खड्कबहादुर बुढाले उम्मेदवारी दिएका छन् ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जाजरकोटा ७ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ प्रमुख जित्दा माओवादीले १ मात्र पालिका प्रमुख जितेको थियो । कांग्रेस र माओवादीले ३/३ उपप्रमुख जित्दा एमालले एकजना पालिका उपप्रमुख जितेको देखिन्छ ।
अनुकूलता :
जाजरकोटबाट राष्ट्रिय दलको नेतृत्व पंक्तिमा पुगेका र महत्वपूर्ण राजकीय भूमिका पुगेका बस्नेत स्थानीय स्तरमा पनि उत्तिकै सम्पर्कमा छन् । साथै, माओवादीको परम्परागत बलियो पकड रहेको जाजरकोटमा अब एकीकृत समाजवादी पनि थपिएको छ ।
प्रतिकूलता :
स्थानीय तहको नतिजा हेर्दा माओवादीले आफ्नो परम्परागत आधार गुमाउँदै गएको छनक मिल्छ । यही पृष्ठभूमिमा बिना गठबन्धन विरासत जोगाउने काम बस्नेतलाई केही मुस्किल बन्दै गएको देखिन्छ ।
व्यक्तिगत विवरण
नाम : शत्तिबहादुर बस्नेत
जन्म : २०२८ साल वैशाख १ गते
जन्मस्थान : जाजरकोट
स्थायी ठेगानाः भेरी नगरपालिका– १ कालेगाउँ, जाजरकोट
शिक्षाः स्नातकोत्तर
राजनीतिक टाइमलाइन
२०४६ : जनआन्दोलनमा मशालबाट सहभागी
२०४८ : एकता केन्द्र (मशाल)को राप्ती क्षेक्रीय समन्वय समिति सदस्य
२०४९ : जाजरकोट जिल्ला सेत्रेटरी
२०५१ : नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्युरो सदस्य
२०५५ : माओवादीको वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य हुँदै भेरी–कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज
२०५९ : पोलिटब्युरो सदस्य हुँदै भेरी–कर्णाली र थारुवान् क्षेत्रीय ब्युरो इन्चार्ज । पार्टीको जनमुक्ति सेनाको डिभिजन कमिसार
२०७१ : स्थायी कमिटी सदस्य
२०६४ : समानुपातिकबाट संविधान सभा सदस्य
२०७० : संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित
२०७४ : प्रतिनिधिसभामा निर्वाचित
२०७९ : प्रतिनिधिसभामा निर्वाचित
२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
शक्तिबहादुर बस्नेत को उम्मेदवारि कस्तो लागयो ?

