१२ वर्षपछि एमालेको आफ्नै उम्मेदवार
२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनपछि चितवन–३ मा एमालेले पहिलोपटक प्रत्यक्षमा आफ्नै उम्मेदवार उठाएको छ । २०७४ सालमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको एमालेले २०७९ मा कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई साथ दियो ।
प्रत्यक्षमा आफ्नो उम्मेदवार नहुँदा पार्टीका भोटसमेत गुमाउँदै गएको एमालेले यसपटक भने समर्थकलाई आफ्नै चुनाव चिह्नमा मत हाल्ने मौका दिएको छ । एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलिया उम्मेदवार छन् । माडी नगरपालिकाका ९ वटा वडा र भरतपुर महानगरका १९ वडा रहेको यो क्षेत्रमा एमालेले आफ्नो पुरानो मतलाई जोगाउने र प्रतिस्पर्धामा बाँडिएका मतको बीचबाट जित निकाल्ने दाउ हेरेको छ ।
एमालेले २०७९ को निर्वाचनमा सामुपातिकतर्फ १४ हजार ५२२ मत ल्याएको थियो ।
२०२६ सालमा पश्चिम चितवनको पटिहानीमा जन्मिएका नेकपा एमालेका उम्मेदवार थपलिया एक किसान, पर्यटन व्यवसायीसमेत हुन् । भरतपुर महानगरपालिका-२२ का थपलियाले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । २०४३ सालदेखि नै राजनीतिमा लागेका थपलियाले २०४८ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए ।
युवा संघ, पटिहानीको संस्थापक अध्यक्ष बनेका थपलिया एमाले गाउँ कमिटीको उपसचिव, इलाका कमिटी हुँदै साविक चितवन–४ को सहइन्चार्ज बने । क्षेत्रीय अध्यक्ष समेत बनेका थपलिया एमाले भरतपुर महानगरकमिटीको अध्यक्षका रूपमा दोस्रो कार्यकाल काम गर्दै छन् ।
रोजगारीको सिलसिलामा २०५८ सालमा दक्षिण कोरिया पुगेका उनी ६ वर्ष विताएर स्वदेश फर्किएका थिए । कृषि कर्मसँगै पटिहानीको पर्यटन क्षेत्रको विकासमा पनि उनी लागिरहेका छन् । पटिहानी पर्यटन विकास समितिको उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थपलियाले नै पहिलो पटिहानी पर्यटन महोत्सव लगाएका थिए । पटिहानीमा रहेको अमर जनशक्ति कलेजको उपाध्यक्षसमेत भएका थपलिया विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
नेकपाले भरतपुर महानगरपालिकामा राम्रो विकास गरेर चर्चामा आएकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । रास्वपाले निवर्तमान प्रतिनिधिसभा सदस्य सोविता गौतम र कांग्रेसका टेकप्रसाद गुरूङलाई उठाएको छ ।
प्रस्तुतिः सुवास पण्डित
शंकरराज थपलिया को उम्मेदवारि कस्तो लागयो ?



