नयाँ दलबाट जित जोगाउने चुनौती
२०२६ सालमा दाङमा जन्मिएका सुरेशकुमार चौधरी २०४२ सालदेखि बर्दियाको मोतिपुरमा बसाइँ सरे । नेकपा (एमाले) निकट अखिलबाट राजनीति शुरु गरेका उनले पार्टी निकट कमैया मुक्ति मञ्च, जिफन्ट लगायत भ्रातृ संगठनहरूमा काम गरे ।
आईकम गरेका चौधरीले २०४७ देखि २०५५ सालसम्म बाँकेको कोहलपुर क्षेत्रमा शिक्षण र एमालेको राजनीति गरे । २०५७ सालमा एमाले छाडेर माओवादीमा प्रवेश गरे । सशस्त्र विद्रोह गरिरहेको माओवादीको बुद्धिजीवी संगठनमा काम गरेका उनले थारू राष्ट्रिय मुक्ति, बाँकेको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको पनि जिम्मेवारी पूरा गरे ।
२०७२ भदौमा टीकापुर घटना भएपछि राजनीतिक परिवेश फेरियो । माओवादी पार्टीको नीतिसँग असन्तुष्ट भएर केही समय निष्क्रिय बसे । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खोलेपछि त्यसैमा प्रवेश गरे ।
२०७९ मा नाउपाबाट बाँके–१ को उम्मेदवार बनेर तेस्रो स्थानमा आए । चुनाव हारेपछि पनि नाउपामै सक्रिय थिए । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमको झगडाले पार्टी फुट्यो । त्यसपछि २०८२ पुसमा नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको नेतृत्वमा सुरेशकुमार पनि रास्वपामा प्रवेश गरे । रास्वपाले उनलाई टिकट दियो ।
बाँके–१ थारूबहुल क्षेत्र हो । २०७९ को निर्वाचनमा नाउपाबाट उठ्दा उनले ११ हजार ४६५ मत पाएका थिए । अहिले उनी प्रवेश गरेको रास्वपाका उम्मेदवारको १० हजार ७१ मत थियो । पूर्व मन्त्री रञ्जिता श्रेष्ठको नाउपा नेपाली कम्युनिष्ट पार्टीमा मिसिएको छ भने रेशम पक्षको नाउपाले अशोक राई र राजेन्द्र महतोको पार्टीसँग एकल चिह्नबाट चुनाव लड्ने समझदारी गरेको छ ।
यो क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले लालपुर्जा पाएका छैनन् । चौधरीले उनीहरूलाई लालपुर्जा दिलाउने विषय आफ्नो मुख्य चुनावी अजेन्डा बनाएका छन् ।
यहाँ १ लाख २४ हजार ७२७ मतदाता छन् । २०७९ मा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालले २५ हजार २६ मत पाएर विजयी हुँदा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार माओवादीका महेश्वर गहतराज ‘अथक’ ले १९ हजार ६३२ मत ल्याएका थिए । एमालेले ढकाललाई नै उठाएको छ भने कांग्रेसका जिल्ला सभापति नारायण गौडेल उम्मेदवार छन् ।
रास्वपाको लहर र थारू समुदायको मत उनको अनुकूलता भए पनि संसदीय राजनीतिका चतुर उम्मेदवारहरूलाई पराजित गर्न त्यति सहज भने देखिंदैन ।
–कृष्ण अधिकारी
सुरेश कुमार चौधरी को उम्मेदवारि कस्तो लागयो ?


