पत्रकारिताबाट राजनीतिमा फड्को
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तम निर्वाचन जितेर सदनमा आवाज गुञ्जाउने प्रयासमा छन् ।
०००
आगामी २१ फागुनमा हुने चुनावका लागि उम्मेदवारको टुंगो नलाग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की क्षेत्र नम्बर २ लाई निश्चित जित्ने क्षेत्रको रूपमा हेरेको थियो । त्यसको प्रमुख कारण थियो, रास्वपाले २०७९ मा ल्याएको मत र जेनजी आन्दोलनपछि देखिएको जनलहर ।
अघिल्लो चुनावमा दोस्रो भएको रास्वपाबाट यसपटक जसले टिकट ल्याएपछि जित्ने केन्द्रीय समितिमा रिपोर्टिङ भएको थियो । टिकटको दौडमा रहेका थुप्रै आकांक्षीलाई उछिनेर उम्मेदवार बने पार्टी सभापति रवि लामिछानेका सहकर्मी तथा विश्वासपात्र उत्तमप्रसाद पौडेल ।
कास्कीमा रेडियोबाट पछिल्लो समय रविसँगै टेलिभिजन पत्रकारिता गरेका उत्तम पुरानो राजनीतिक बिरासतलाईसमेत टेकेर रास्वपाको राजनीतिमा लागेका हुन् । न्युज २४ र ग्यालेक्सी टेलिभिजनमा रविसँग सहकार्य गरेका उत्तम पत्रकारितामा राजीनामा दिएर रविलाई नै साथ दिन पार्टी अभियानमा जोडिए ।
रविसँग निकट सम्बन्ध भएका उत्तमले टिकट पाएपछि रास्वपाका केही नेता सुरुमा असन्तुष्टि देखिएको थिए । तर, यसपटकको निर्वाचन आफ्नो पक्षमा पार्दै उत्तमलाई जिताउने अभियानमा रास्वपा होमिइसकेको छ । पत्रकारितामार्फत जनताका आवाज उठाउँदै राज्यका संयन्त्रका कमजोरीमा प्रश्न गर्दै, विसंगति र बेथितिकाविरुद्ध खटिएकाले आफूले जनताको समस्या पनि बुझेको र राज्यको नीतिगत उल्झन पनि पहिल्याएको उत्तमले मतदातालाई बताइरहेका छन् ।
कास्की क्षेत्र नम्बर १ रुपमा घर भएका उत्तमको बुबा तत्कालीन प्रधानपञ्च थिए भने आमासमेत राजनीतिमै होमिएकी थिइन् । नेपाली कांग्रेसको पृष्ठभूमिबाट आएका उत्तम तरुण दलको क्षेत्रीय सचिवसमेत भएर पछि पत्रकारितामा लागेका थिए ।
उत्तमको आमाले २०५१ को मध्यावधि चुनावमा ‘राष्ट्रिय जनता परिषद्’ बाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी थिइन् । अहिले परिवारिक विरासत, जनताको समस्या बुझेको र राज्यका कमजोरी पनि पहिल्याएकाले सुशासन र जनसेवाका लागि आफू नीतिनिर्माणको तहमा काम गर्ने उत्तमले एजेण्डा पस्किरहेका छन् ।
उत्तमले निर्वाचन क्षेत्र कुनै पनि पार्टीको ‘गढ’ वा प्रभाव क्षेत्र नहुने भन्दै चेतनशील मतदाताले यसपटक आशासहित मत फर्ने र धेरैले आशाको नजरले हेरेको पार्टी रास्वपालाई भोट हाल्ने दाबी गर्दै आइरहेका छन् ।
‘म सञ्चारकर्ममा हुँदा पनि नागरिककै पक्षमा थिएँ, नागरिककै दुख, पीर, समस्या मेरा समाचारका सामाग्री बन्थे । अब म सांसद बनेर आफूले देखेका, भोगेका र पहिल्याएका समस्या समाधान गर्नुपर्छ भनेर चुनावी मैदानमा होमिएको छु,’ उत्तमले भने, ‘यसपटक कास्की–२ ले इतिहास रच्छ ।’
उत्तमलाई रोकेर पुरानै विरासत कायम गर्न एमालेले युवा नेता रश्मि आचार्यलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अहिलेसम्म संसदीय चुनाव नलडेका तर निरन्तर कांग्रेसमा इमान्दारितापूर्वक काम गरेका नेताका रुपमा माधवप्रसाद बास्तोला मधुलाई अगाडि सारेको छ । नेकपाले किरण थापा ‘आमोद’ पनि स्थानीय क्षेत्रमा नागरिकसँग भिजेका इमान्दार छवि भएका नेताका रुपमा प्रस्तुत गर्दै भोट मागिरहेको छ । उज्यालो नेपालबाट ऊर्जाविज्ञ कुशल गुरुङले नयाँ विकल्प हामी हौं भनेर मत मागिरहेका छन् । राप्रपा र केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । यस्तोमा कास्की–२ मा मत विभाजन हुँदा उत्तमका लागि जित सहज भने देखिँदैन । तर, नयाँमा आएको लहर, एजेण्डा र युवा पनि भएकाले आफू रोजाइमा पर्ने उत्तमको दाबी छ ।
२०७९ को निर्वाचनमा एमाले नेता विद्या भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी हुँदा रास्वपाका माधव कँडेलले १२ हजार ४९५ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए । कांग्रेस, माओवादी केन्द्र लगायत ५ वटा दलको एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ र राप्रपाका सुवर्णराज पन्तले ३ हजार मत ल्याएको थियो ।
कास्की–२ मा समानुपातिकतर्फ रास्वपाले १४ हजार २ मत ल्याएर पहिलो भएको थियो भने एमालेले १३ हजार ५४० मत पाएर दोस्रो भएको थियो । कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र नेकपा एकीकृत समाजवादीले १ हजार १७७ मत पाएका थिए ।
कानुनका विद्यार्थी पौडेलले अरु उम्मेदवारलाई गाली नगरी आफूले आफ्ना एजेण्डा नागरिकलाई बताइरहेको र यसपटकको चुनावमा दबाब प्रभावमा नपरी मतदाताले निर्णय गर्ने उनको निश्कर्ष छ ।
अनुकूलता :
· रास्वपाप्रति बढ्दो लहर
· स्थानीय हुनु, नागरिकको पहुँचमा रहनु
· समस्याको राम्रो जानकार भएकाले विश्वास जित्न सहज
प्रतिकूलता :
· संसदीय राजनीतिमा नयाँ
· बलिया प्रतिस्पर्धीहरू
· पार्टीभित्रकै असन्तुष्टि
उत्तमप्रसाद पौडेल को उम्मेदवारि कस्तो लागयो ?


