लोकतान्त्रिक समाजवादी पार्टी स्थापना : पार्टी प्रमुख : महन्थ ठाकुर
मधेश–तराई केन्द्रित राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्तारुढ गठबन्धनबाट आगामी चुनावमा भाग लिंदैछ । लोसपाले नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनसँगको तालमेलमा प्रतिनिधिसभातर्फ ८ सिटमा उम्मेदवारी दिएको छ ।
मधेश प्रदेशका ८ सिटमा तालमेल गरी उम्मेदवारी दिएको लोसपाले अन्य क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्दैछ । लोसपाले प्रदेश–१, मधेश प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशबाट ५१ जनाको उम्मेदवारी दिएको छ ।
महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी जस्ता पुराना नेता आबद्ध यो पार्टीको गठन भने ९ भदौ २०७८ मा भएको थियो । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) बाट अलग हुँदै महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको हो ।
साइकल चिह्न लिएर चुनावमा होमिएको लोसपाले प्रदेश सिमाङ्कन हेरफेर, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत एजेण्डा उठाउँदै आएको छ । यो पार्टीका धेरैजसो नेताले २०७४ को चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट भाग लिएका थिए । तर अर्को मधेश केन्द्रित दल समाजवादी पार्टी, नेपालसँग एकता गरेपछि जसपा बन्न पुगेको थियो । तर एकता नटुंगिंदै पार्टीभित्र विवाद हुँदा विभाजित एउटा हिस्साले लोसपा बनाए र यही पार्टीबाट उम्मेदवारी दिएका छन् ।