Home Candidate कविन्द्र बुर्लाकोटी

संसद पुग्ने दोस्रो प्रयास

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
कविन्द्र बुर्लाकोटी
गोरखा - २ उम्मेदवार

कविन्द्र बुर्लाकोटी

पुरुष , ४६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२६६६० मत
विजयी
Profile
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा–२ मा अघिल्लो उम्मेदवारलाई नै दोहोर्‍याएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी दोस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् ।

बुर्लाकोटी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । करिब तीन वर्ष सहमहामन्त्रीको पद सम्हालेका उनले महामन्त्री हुने अवसर गत असारबाट प्राप्त गरेका हुन् । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले अनुशासनको कारबाही गरेपछि बुर्लाकोटीले उपल्लो तहको कार्यकारी भूमिकाको पद प्राप्त गरेका थिए । केही समय कार्यवाहक महामन्त्रीको भूमिकामा रहेका उनी गत असारबाट पूर्ण भूमिकामा छन् । उनी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् ।

नेसनल युथ फेडेरेसनमा समेत विगतमा आबद्ध भएका उनी ‘नयाँ नेपाल, बेटर नेपाल’ अभियानका संयोजक रहेर काम गरेका थिए । पालिका क्षमता विकास केन्द्र संस्थाको कार्यकारी निर्देशक भएर उनले विगतमा एक वर्ष काम गरे ।

४६ वर्षीय कविन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् । बुर्लाकोटीले प्रमुख दलका उम्मेदवारसहित १३ जनासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । तीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन् ।

रास्वपा गठन भएकै वर्ष बुर्लाकोटीले संसदीय चुनावको पहिलो अनुभव संगालेका थिए । रास्वपा गठन भएको छ महिनापछि भएको प्रतिनिधिसभाको चुनावमा गोरखा–२ मा बुर्लाकोटीले प्रतिस्पर्धा गरेका थिए । गोरखास्थित पालुङटार नगरपालिकाका स्थानीय बुर्लाकोटीले अघिल्लोपटक तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गरेका थिए ।

गोरखा–२ को निर्वाचनमा त्यसबेला प्रचण्ड २६ हजार १०९ मत ल्याएर निर्वाचित हुँदा बुर्लाकोटीको पक्षमा १२ हजार ६३९ मत खसेको थियो ।

प्रत्यक्षतर्फ बुर्लाकोटीले दोस्रो स्थानको मत पाउँदा समानुपातिकको मतमा रास्वपा गोरखा–२ मा तेस्रो स्थानमा रह्यो । रास्वपाको पक्षमा यस क्षेत्रमा समानुपातिकमा ८ हजार ९९९ मत आएको थियो ।

बुर्लाकोटीको पालिका पालुङटारमा पनि यसअघि माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् । चुनावी प्रचारका क्रममा बुर्लाकोटीले अन्य दलबाट रास्वपामा भित्र्याउँदै आएका छन् । उनको चुनावी प्रचारको क्रममा रास्वपामा प्रवेश गर्नेमा विगतमा माओवादीको पृष्ठभूमिका कार्यकर्ता छन् ।

रास्वपा गठन भएदेखि एकपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेको उक्त दलका लागि स्थानीय तहमा पाएको मतबाट विश्लेषण गर्न सकिने अवस्था छैन । स्थानीय तहको मतको आधारमा तत्कालीन माओवादी केन्द्र यस क्षेत्रमा बलियो देखिन्छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको समर्थन रास्वपालाई हुने उक्त दलका नेताहरूले दाबी गर्दै आएका छन् । महामन्त्री बुर्लाकोटीलाई चुनावी सहजताका लागि उपसभापति डा. स्वर्णिम वाग्लेले प्रलोपा संरक्षक भट्टराईलाई भेट गरेका थिए । वैकल्पिक राजनीतिक दलको पक्षपाती भट्टराई रहेको उल्लेख गर्दै अभिभावकीय भूमिकाको उनीसँग रास्वपाले अपेक्षा राखेको थियो ।

उपसभापति वाग्लेले उम्मेदवारी फिर्ताको अपेक्षासहित सामाजिक सञ्जालमा आग्रह गरेपछि भट्टराईले नाम फिर्ता लिएका थिए । भट्टराईसँग राखिएको अपेक्षामा वाग्लेले भनेका थिए, ‘पूर्वप्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ रास्वपाको आग्रहअनुसार भट्टराई चुनावी मैदानबाट बाहिरिएका थिए ।

Battleground Analysis

अनुकूलता

  • बलियो पार्टी हैसियत
  • विगतको नतिजा र अनुभव
  • डा. बाबुराम भट्टराईको साथ

प्रतिकूलता

  • प्रतिस्पर्धी दलको बलियो संगठन
  • भीडभाडपूर्ण प्रतिस्पर्धा
  • स्थानीय संगठनको अस्पष्टता
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

कविन्द्र बुर्लाकोटीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

कविन्द्र बुर्लाकोटी
२६६६०
प्रकाशचन्‍द्र दवाडी नेपाली कांग्रेस
११७००
लेखनाथ न्यौपाने नेपाली कम्युनिस्ट पार्टी
११०७३
VS