स्थानीय एजेन्डासहित प्रतिस्पर्धामा
स्थानीय नागरिकले चाहेका बेला भेट्न सकिने र स्वच्छ छवि मिश्रका सबल पक्ष हुन् । उनी गलत कुराको खुलेर विरोध गर्ने स्वभावका छन् ।
०००
२०३५ सालमा जन्मिएका आशुतोष मिश्र मर्चवार गाउँपालिका-३, रुपन्देहीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसबाट रुपन्देही–४ मा उम्मेदवारी दिएका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
मिश्रको पारिवारिक पृष्ठभूमि राजनीति र न्याय क्षेत्रसँग जोडिएको छ । उनका काका ज्ञानप्रकाश मिश्र साविकको रायपुर गाविसका प्रधानपञ्च थिए । अर्का काका ओमप्रकाश मिश्र सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् ।
विद्यार्थी जीवनमा पार्टीका भातृ संगठनमा क्रियाशील नदेखिएका मिश्र २०७० सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । २०७४ को निर्वाचनका बेला मिश्रको अगुवाइमा व्यवसायी प्रमोदकुमार यादव, वसिउद्दिन खान, फखरुद्दिन खान लगायतलाई कांग्रेसमा भित्र्याएका थिए ।
मिश्रले पार्टीमा ल्याएका प्रमोदले राष्ट्रिय जनता पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्ललाई फराकिलो मतान्तरले पराजित गरेका थिए । प्रमोदले कांग्रेस छाडेर नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
स्थानीय नागरिकले चाहेका बेला भेट्न सकिने र स्वच्छ छवि मिश्रका सबल पक्ष हुन् । उनी गलत कुराको खुलेर विरोध गर्ने स्वभावका छन् ।
संसदीय चुनावमा पहिलोपटक प्रतिस्पर्धा गरेका जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, एमालेका प्रमोद यादव र जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
मिश्रले सिंचाइ, मलखाद र बजार सुनिश्चितता, स्थानीय रोजगारी, गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ सेवा, खानेपानी व्यवस्थापनलाई प्राथमिकता दिएका छन् ।
२०७९ सालको समानुपातिक मतमा शुक्लाको पार्टी लोसपाले सबैभन्दा बढी २२ हजार ३७ मत पाएको थियो भने कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ५४८, एमालेले २ हजार ८२३ र जसपा नेपालले २ हजार २६२ मत पाएका थिए ।
अनुकूलता
- स्थानीय नागरिकसँग सहज पहुँच र स्वच्छ छवि
- राजनीतिक तथा न्यायिक पृष्ठभूमि भएको परिवार
- सिंचाइ, कृषि, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मुद्दा प्राथमिकतामा
प्रतिकूलता
- बहुकोणीय कडा प्रतिस्पर्धा
- मत आधार मजबुत बनाउनुपर्ने दबाब
- संगठनात्मक एकता र प्रभावमा असर पर्ने सम्भावना
प्रस्तुति: टोपराज शर्मा
आशुतोष मिश्र को उम्मेदवारि कस्तो लागयो ?


