अर्को छलाङका लागि बालेनले उठाएको जोखिम
३५ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।
२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो ।
मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।
नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।
स्थानीयत चुनावताका विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु शाहको पक्षमा देखिएका थिए । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी शाहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए ।
विकासको ‘भिजन’
चुनाव जित्न मनसँगै मत पनि जित्नुपर्छ भन्ने बुझेका शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए ।
मेयरको उम्मेदवार बन्दा शाह डिग्रीले भन्दा सिपले रोजगारी पाउने वातावरण बनाउने बताउँथे । उनी अहिले पनि राजनीतिभन्दा धेरै विकासका भिजनका कुरा गरिरहेका छन् । रास्वपा प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भने, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?’
संवादात्मक शैलीमा थोरै मात्रै बोल्ने शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउनेदेखि काठमाडौं महानगरले २० हजार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाइरहेको विषयलाई देशव्यापी बनाउन चाहेको सुनाए ।
राजनीतिक मुद्दालाई नागरिकसँग जोड्न माहिर शाहले संघीयताप्रतिको प्रतिबद्धता राख्दै भने, ‘जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने अवस्था छ, हो कि होइन ? जनकपुर प्रदेशको राजधानी होइन ? हो भने काठमाडौं किन जानुपर्यो ? यहीँबाट किन हुँदैन ?’
उनले थपे, ‘पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ । काठमाडौं जाने व्यवस्था बदल्नुपर्छ । अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौं । पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन ।’
अनुकूलता–प्रतिकूलता
जेनजी आन्दोलनलगत्तै प्रधानमन्त्री बन्ने प्रस्ताव शाहले स्वीकारेनन् र सन्देश दिए- मेरो उद्देश्य प्रधानमन्त्री हुनुमात्र होइन । अझ उनले सबैभन्दा बढी मतान्तरसहित विजयी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न चाहे । यो जोखिम मोल्ने आत्मविश्वास उनलाई जेनजी आन्दोलन र नयाँ पुस्ताका मतदातासँगै मतदाताको बदलिएको मनोविज्ञानले दिएको हुनसक्छ ।
वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेनको बल बन्न सक्छ । व्यक्ति र पार्टीको पक्षमा देखिएको यही चुनावी लहर उनको मुख्य अनुकूलता बन्न सक्छ ।
तर, आफूले भोट दिँदै आएको पुराना दलहरूप्रति ‘बफादार’ मतदाता बाक्लो रहेको नेपाली समाजमा विना संगठन केवल चुनावी लहरको भरमा विजय हासिल गर्नु उम्मेदवारलाई फलामको च्यूरा चपाएजस्तै हुन पनि सक्छ ।
यसमाथि शाहले उठाएको जोखिम चानचुने छैन । गत निर्वाचनमा राप्रपाको समेत सहयोगमा २८ हजार ५७६ मतान्तरसहित विजयी एमाले अध्यक्ष ओलीलाई पराजित गर्ने रहरमा चुनावी अंकगणित तगारो बन्ने जोखिम उत्तिकै छ ।
Battleground Analysis
अनुकूलता
- व्यक्ति र पार्टीको पक्षमा देखिएको चुनावी लहर
- एमालेसँग अन्य दलकाे गठबन्धन नहुनु
- भदाै २३ र २४ पछि स्थापीत दल रक्षात्मक अवस्थामा पुग्नु
प्रतिकूलता
- विना संगठन केवल चुनावी लहरको भरमा विजय हासिल गर्नु फलामको च्यूरा चपाएजस्तै हुन सक्ने
- गत निर्वाचनकाे फराकिलो मतान्तर
- बलिया प्रतिस्पर्धी
राजनीतिक स्वभाव र शैली
अत्याधिक महत्वाकांक्षी र साहसी
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको 'अफर' लत्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीको 'गढ' (झापा–५) मा गएर लड्ने निर्णयले उनको आत्मविश्वास र "ठूलै माछासँग पौठेजोरी खेल्ने" स्वभाव देखाउँछ।
डेलिभरी म्यान
काठमाडौंको मेयर हुँदा 'बोल्ने भन्दा काम गर्ने' शैली अपनाए। शिक्षा (२० हजार छात्रवृत्ति), स्वास्थ्य र सम्पदा संरक्षणमा उनले देखाएको नतिजा नै उनको मुख्य पुँजी हो।
प्रणाली भत्काउने
परम्परागत दलको सिन्डिकेट तोड्न स्वतन्त्र उठेर मेयर जित्नु र अहिले रास्वपामा मिसिएर पुराना शीर्ष नेतालाई विस्थापित गर्ने अभियान चलाउनु उनको मुख्य रणनीति हो।
भिजनरी
"डिग्रीले भन्दा सिपले रोजगारी", "आइडिया बैंक" र "प्रशासकीय काम स्थानीय स्तरमै" भन्ने उनका एजेन्डाले युवा पुस्तालाई तानेको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | काठमाडौं महानगर | सिर्जना सिंह | ३८३४१ | ६१७६७ | २३४२६ |
|
राजनीतिक टाइमलाइन
र्यापर इन्जिनियर राजनीतिमा
शैक्षिक: ह्वाइट हाउस इन्स्टिच्युट (सिभिल इन्जिनियरिङ), विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थान, भारत (स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर)। पेशागत: ६५ जिल्लामा इन्जिनियरिङ कन्सल्टेन्सी, र्यापर (हिप-हप कलाकार), २०७२ को भूकम्पमा उद्धारकर्मी। २०७९ (वैशाख): स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित (लौरो चिन्हबाट ऐतिहासिक जित)।
शिक्षा र स्वास्थ्यमा सुधार
मेयर कार्यकालमा अवैध संरचना हटाउने, विद्यालय सुधार र स्वास्थ्य सेवामा सुधार गरेर लोकप्रियता कमाएको।
अन्तरिम सरकारको प्रधानमन्त्री अस्वीकार
जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश। प्रधानमन्त्रीको अफर अस्वीकार गरी केपी ओलीसँग लड्ने घोषणा।
बालेन्द्र शाहको उम्मेदवारि कस्तो लागयो ?


