पालिका हाँकेका मन्सुरी प्रतिनिधिसभाका उम्मेदवार
औपचारिक शिक्षा खासै प्राप्त नगरेका एमाले उम्मेदवार मन्सुरी राजनीतिमा भने खरो र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् ।
०००
नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ४ बाट जालिम मियाँ मन्सुरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकाको जगरनाथपुर गाउँका स्थायी बासिन्दा मन्सुरी १४ असार २००४ मा जन्मेका हुन् ।
साधारण लेखपढ मात्रै गरेका पाका नेता मन्सुरी राजनीतिमा भने खरो र स्पष्ट वक्ताका रूपमा चिनिन्छन् ।
२०२८ सालदेखि नै राजनीतिमा संलग्न मन्सुरीले नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र रहेर समेत काम गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जगरनाथपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी गाउँपालिका अध्यक्ष रहेकै समयमा तत्कालीन माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले एमालेका तर्फबाट पर्सा-४ बाट टिकट पाएका थिए । तर नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालसँग पराजित भए ।
रिजालले ३१ हजार २२४ मत पाएर विजयी हुँदा उनी २५ हजार ६७१ मत ल्याएर दोस्रो भए ।
२०८२ सालको संविधानसभा सदस्य निर्वाचनमा पनि मन्सुरीले उनै रिजाललाई मुख्य प्रतिस्पर्धी पाएका छन् । कांग्रेसले रिजाललाई नै उम्मेदवार बनाएका कारण उनलाई हराएर बदला लिने मौका मन्सुरीलाई छ ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जयप्रकाश थारूलाई उम्मेदवार बनाएको छ ।
पर्सा-४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वराष्ट्रिय योजना आयोगका सदस्य एवं ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत रहेका कृपासिन्धुप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेता टेकबहादुर शाक्य र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चन चुनावी मैदानमा छन् ।
अनुकूलता
- राजनीतिकका पुराना खेलाडी
- खरो र प्रष्ट वक्ता
- गाउँपालिका हाँकेको अनुभव
प्रतिकूलता
- पहिले जोसँग पराजित भए उनैसँग प्रतिस्पर्धा
- संसदीय राजनीतिको अनुभव नभएको
- नयाँ-नयाँ दलहरूको चुनौती
जालिम मियाँ मंसुरी को उम्मेदवारि कस्तो लागयो ?




