Home Candidate झक बहादुर मल्ल

जेल ब्रेकर झकबहादुरलाई ब्यालेटमा चुनौती

सुर्खेत - २ उम्मेदवार

झक बहादुर मल्ल

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२२ मंसिर २०३६ सालमा सुर्खेतको बराहताल तरंगामा जन्मिएका झकबहादुर मल्ल ‘सुदीप’ पढाइमा अब्बल थिए । प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । जागीर खोज्दा सहजै पाउँथे । तर, उनले राजनीति रोजे ।

समाज परिवर्तनको हुटहुटीले उनलाई १४ वर्षको उमेरमै राजनीतिमा लाग्न प्रेरित गर्‍यो । २०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा संगठित भए । तत्कालीन नेकपा माओवादीले ०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरु गरेको थियो । माओवादी प्रभाव बढ्दै थियो । यहीबीच २०५३ सालमा एसएलसी पास गरेपछि झकबहादुर विद्यार्थी राजनीतिसँगै पार्टी राजनीतिमा पनि सक्रिय हुन थाले ।

२०५५ सालमा अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष भए । सोही वर्ष पार्टीको जिल्ला सदस्य भएका उनले पश्चिम दैलेख क्षेत्रको इञ्चार्जसम्म भएर काम गरे ।

१८ भदौ २०५७ मा तत्कालीन सरकारले माओवादी भएको आरोपमा उनीसहित १५ जना विद्यार्थी नेताहरूलाई पक्राउ गरेर सुर्खेत पुर्‍यायो । झकबहादुर मल्लकै घरमा बसिरहेका बेला विन्दमान विष्टसहितलाई प्रहरीले पक्राउ गरेको थियो ।

गिरफ्तारीपछि ३५ दिन हिरासत र त्यसपछि जेल जीवन भोगेका झकबहादुर लगायतका विद्यार्थी नेताहरूले ०५८ साल माघ २ गते सुर्खेत जेल ब्रेक गरे, जसको नेतृत्व मल्लले गरेका थिए ।

उनकै नेतृत्वमा १५ जना माओवादी आस्थाका विद्यार्थी नेतासहित कूल ३० जना सुरुङ खनेर जेलबाट भाग्न सफल भए । सुर्खेत ‘जेलब्रेक’ घटना माओवादी जनयुद्धको चर्चित घटना हो ।

जेलबाट बाहिर निस्किएलगत्तै उनी पार्टीको उच्च जिम्मेवारीमा पुगे । २०५९ सालमा उनले सुर्खेतको जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हाले । सँगै उनले माओवादीको जनमुक्ति सेनामा समेत महत्वपूर्ण कमान्ड सम्हाले । उनले कम्पनी, बटालियन र ब्रिगेड कमिसारको हैसियतमा देशका विभिन्न मोर्चाका लडाईंहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

युद्धकै क्रममा २०५८ सालमा उनले आफ्ना दाजु कुलबहादुर मल्ल ‘भीष्म’ र २०५९ साल जेठमा जीवनसाथि भूमिसरा वली ‘सीमा’ लाई गुमाए । उनी भन्छन्, ‘शहीदहरूकै बलिदानी र हाम्रो कठोर संघर्षकै बलमा आज देशमा गणतन्त्र आयो, समानुपातिक समावेशीता स्थापित भयो, विभेदको अन्त्य भयो ।’

व्यवस्था बदलिए पनि जनताको अवस्था रुपान्तरण हुन सकेन भन्ने उनको पनि बुझाइ छ । ‘अब त्यसको नेतृत्व पनि हामीले नै गर्नुपर्ने छ,’ उनले थपे, ‘त्यही उद्देश्यअनुरुप हामी रुपान्तरित भएर जनतामा आएका छौं ।’

झकबहादुर जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (२०५९/६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार उनकै नेतृत्वमा बसालिएको थियो । उनकै पहलमा ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात पनि भएको थियो ।

शान्ति प्रक्रियापछि सेना समायोजनपश्चात् उनी बाहिर निस्किएर माओवादी निकट युवा दस्ता वाइसीएलको केन्द्रीय सदस्य बने । २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका झकबहादुरले पार्टीको स्कूल विभागको सदस्य र पछिल्लो समय २०७७/७८ सालतिर कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञको रूपमा पनि काम गरे ।

हाल नेकपाको केन्द्रीय सदस्य रहेका उनी २१ फागुनको निर्वाचनमा सुर्खेत २ बाट उम्मेदवार छन् । यो क्षेत्रबाट २०७९ को चुनावमा कांग्रेसका हृदयराम थानी विजयी भएका थिए । त्यसबेला हृदयराम कांग्रेस, तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धनका उम्मेदवार थिए ।

त्यसअघि २०७४ मा एमालेका नवराज रावत निर्वाचित भएका थिए । यसबेला नवराज एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार थिए । यसरी हेर्दा २०७० यताका चुनावमा तत्कालीन माओवादीले उम्मेदवार उठाएको थिएन ।

झकबहादुर यसपटक आफूले जित्ने दाबी गर्छन् । पार्टी राजनीतिमा राम्रो पकड भएता पनि उनी पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । २०७१ सालको विनासकारी बाढी तथा २०७२ को भूकम्पमा परी पीडित परिवारको राहत उद्दार तथा पुन: निर्माणलगायतका कार्यमा सक्रिय रहँदै आएका उनी यसलाई चुनाव जित्ने आधारका रूपमा लिइरहेका छन् ।

उनी भन्छन्, ‘जेल ब्रेकको सपना देख्ने बेला धेरैले असम्भव भन्ने गर्दथे । अहिले एकजनाले सांसद भएर परिवर्तनको नेतृत्व गर्छु भन्दा गफ लगाए जस्तो हुन सक्छ । तर, म जेल ब्रेक गर्ने बेलामा जस्तै साहस, आत्मविश्वास र योजनासहित अगाडि बढेको छु ।’

आफू र आफ्नो पार्टीसँग गौरवपूर्ण इतिहास रहेको र भविष्यको मार्गचित्र समेत रहेको भन्दै उनी थप्छन्, ‘तत्कालीन समयमा गणतन्त्र सम्भव छैन भन्ने थियो । सम्भव भयो । परिवर्तन सम्भव भयो । अब सुशासन र समृद्धि पनि सम्भव छ ।’

भविष्यको मार्गचित्र के छन् ? जवाफमा उनी भन्छन्, ‘नेपालमा विकास, प्रगति र सम्भावना धेरै नै छ । तर, नागरिकहरू अभाव र गरिबीमा रहेका छन् । जेनजी आन्दोलनले दिएको म्यान्डेड लिएर भ्रष्टाचार नियन्त्रण र सुशासन स्थपनाको देशको समग्र नीतिमा सुधार आवश्यक छ । विकास नीतिमा, परराष्ट्र नीतिमा, पर्यटन नीतिमा सुधार आवश्यक छ । यसका लागि सदनमा आवाज उठाउने हुटहुटी छ ।’

उनका नजरमा सुर्खेतकै आर्थिक विकासका लागि समेत जति हुन सक्दथ्यो त्यति भएको छैन । ‘सुर्खेत आफैंमा सम्भावना नै सम्भावना भएको क्षेत्र हो । जलयात्रा छ । नेपालभर पुग्ने सिमेन्ट उत्पादन गर्ने सामर्‍थ्य छ । प्रत्येक पालिकामा आइटी कलेज स्थापना गर्ने लगायतका सम्भावना छन् ।

अनुकूलता :

सामाजिक राजनीतिक परिवर्तनका लागि जेलनेल भोगेका, जेल ब्रेक गरेका र कठिन भूमिगत जीवन बिताएका नेता हुन् । सामाजिक कार्यमा सक्रिय छन् । पहिलोपटक निर्वाचन लड्न लागेकाले राजनीतिमा पुस्तान्तरणका पक्षधरहरू आकर्षित हुन सक्छन् ।

प्रतिकूलता :

अन्य प्रतिस्पर्धी दलका तुलनामा सांगठनिक प्रभाव कमजोर छ ।

व्यक्तिगत विवरण

नाम : झकबहादुर मल्ल ‘सुदीप’

जन्म : २०३६ साल मंसिर २२ गते

जन्मस्थान : सुर्खेत

स्थायी ठेगाना : बराहताल तरंगा, सुर्खेत

शिक्षा : स्नातकोत्तर

राजनीतिक टाइमलाइन 

२०५० : अखिल क्रान्तिकारीमा संगठित

२०५३ : नेकपा माओवादीमा पूर्णकालीन कार्यकर्ता

२०५५ : अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष

२०५५ : पार्टीको जिल्ला सदस्य

२०५७ : पक्राउ परेर सुर्खेत जेल चलान

२०५८ : सुर्खेत जेल ब्रेकको नेतृत्व

२०५९ : सुर्खेतको जिल्ला पार्टी सेक्रेटरी

२०६९ : पार्टीको केन्द्रीय सदस्य

२०८२ : नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

झक बहादुर मल्ल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित