राजनीति र समाजसेवामा अब्बल
महिला, बालबालिका, घरेलु हिंसा विरुद्धका विभिन्न सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील र स्थापित नाम हो, मीना खरेल । मीना खरेल भन्ने वित्तिकै चितवनवासीको दिमागमा झट्ट सम्झना आउँछ, एक समाजसेवी महिला ।
५४ वर्षीय मीनाले झण्डै ३५ वर्ष यसरी नै समाजसेवा गरेर बिताएकी छन् । एकल, बहुविवाहबाट पीडित महिलाका पक्षमा कानूनी लडाइँ लड्नेदेखि जबरजस्ती करणी लगायत विभिन्न कारणबाट जन्मिएका, बाबुआमा दुवै गुमाएका असहाय बालबालिकाका लागि आश्रम चलाउँदै आएकी छन् ।
पीडित र अपहेलित महिलाहरूलाई स्वरोजगार बनाएर समाजमा स्थापित गर्न विभिन्न सीपमूलक तालिमहरू चलाएर चर्चामा आएकी मीनाको छवि राजनीतिक भन्दा बढी सामाजिक रूपमा उजेलिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ की स्थायी बासिन्दा मीना २०२८ मा जन्मिएकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
उनी आदर्श नारी क्लबको संस्थापक सचिव, आदर्श नारी विकास केन्द्र भरतपुरको अध्यक्ष, असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’को संस्थापक संयोजक हुन् ।
सडक बालबालिका पुनर्स्थापना केन्द्र ‘हाम्रो घर’, नारायणगढको संस्थापक, आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, सामुदायिक सेवा केन्द्र, नारायणगढको संस्थापक अध्यक्ष भएर काम गरेकी छन् ।
शुल्क वृद्धिको विरोध गर्दा सानैमा प्रहरीबाट गिरफ्तार भएकी मीना २०४६ सालको जनआन्दोलनमा नेविसंघका तर्फबाट सक्रिय सहभागी भइन् । वीरेन्द्र क्याम्पसमा नेविसंघको अध्यक्ष, कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्यहुँदै हाल कांग्रेसको महासमिति सदस्य छिन् ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिका वडा नं ५ को महिला वडा सदस्य निर्वाचित भएकी मीना पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बनेकी हुन् । २०५६ सालको निर्वाचन पछि कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्न सकेको छैन ।
२०६४ सालमा चितवन निर्वाचन क्षेत्र नं ३ मा रहेको यो क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । २०७० र २०७४ को निर्वाचनमा लगातार नेकपा (एमाले)ले जितेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए । २०८० को उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित भए ।
२०७९ र २०८० मा माओवादी सहितको गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठेका थिए । तर, यसपटक कांग्रेसले गठबन्धन नगर्दा मीना मैदानमा उत्रिएकी छन् । अन्य उम्मेदवारका विषयमा कांग्रेसभित्र मतभेद, विवाद र असहयोग हुने गरेको विगतमा देखिए पनि यसपटक मीनाका बारेमा कांग्रेस एकढिक्का भएको छ ।
रास्वपाको सबैभन्दा प्रभाव क्षेत्रको पनि सबैभन्दा प्रभावित वडा, भरतपुर ४ कै स्थानीय बासिन्दा मीना हुन् । वाक्पटुता, तार्किक क्षमता, सबैलाई सहयोग गर्ने मीना रास्वपाका लागि चुनौती दिने बलियो उम्मेदवार हुन् ।
पार्टीभित्रको एकता, संगठनात्मक बल र चर्चित सामाजिक अभियानकर्मी हुनु उनका अनुकूलता हुन् भने रास्वपाको बलियो प्रभाव प्रतिकूलता रहेको छ ।
प्रस्तुतिः सुवास पण्डित
मीना कुमारी खरेल को उम्मेदवारि कस्तो लागयो ?


