Home Candidate रमेश अर्याल

वडाध्यक्षबाट संसद्तर्फको यात्रा  

काठमाडौं - ३ उम्मेदवार

रमेश अर्याल

नेपाली कांग्रेस
पुरुष , ५९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

अर्याल आफूलाई परम्परागत राजनीतिभन्दा फरक ढंगले प्रस्तुत गर्न चाहन्छन् । जेनजी आन्दोलन र युवाको असन्तुष्टिले राजनीतिमा सोच र कार्यशैली बदल्नुपर्ने उनको बुझाइ छ ।

०००

काठमाडौं-३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् रमेश अर्याल । उनी स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ लागेका हुन् । गोकर्णेश्वर नगरपालिका-६ का पूर्ववडाध्यक्ष अर्याल यसपटक प्रतिनिधिसभा सदस्यका लागि होमिएका छन् ।

२२ जे७ २०२३ मा काठमाडौंमा जन्मिएका अर्यालको स्थायी ठेगाना गोकर्णेश्वर नगरपालिका, अर्याल गाउँ हो । स्नातक तहसम्म अध्ययन गरेका उनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका अर्याल स्थानीय तहमा काम गरेको अनुभव छ ।

अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार थिए । उनी गोकर्णेश्वर नगरपालिका-६ मा वडाध्यक्ष निर्वाचित भए । 

पाँच वर्षे कार्यकालमा स्थानीय आवश्यकता, विकास योजना र जनप्रतिनिधिका रूपमा उनले काम गरेका छन् । ‘वडामा काम गर्दा जनताको अपेक्षा र राज्य संयन्त्रको सीमाबारे स्पष्ट बुझाइ भयो,’ उनले भने ।

पहिलो पटक उनी संसदीय चुनावमा उठेका हुन् । कांग्रेसले काठमाडौं–३ बाट उनलाई नयाँ अनुहारका रूपमा उम्मेदवार बनाएको हो । पार्टी भित्र पुस्तान्तरणको बहस चलिरहेका बेला अर्यालको उम्मेदवारीलाई सोही अनुरूप हेरिएको छ ।

अर्याल आफूलाई परम्परागत राजनीतिभन्दा फरक ढंगले प्रस्तुत गर्न चाहन्छन् । जेनजी आन्दोलन र युवाको असन्तुष्टिले राजनीतिमा सोच र कार्यशैली बदल्नुपर्ने उनको बुझाइ छ ।

‘जेनजी आन्दोलनपछिको अवस्थामा फरक ढंगले काम गर्नुपर्ने छ । विगतको भन्दा नयाँ शैलीमा देश र जनताको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

उनको चुनावी एजेन्डामा सुशासन र भ्रष्टाचार विरुद्धको अभियान मुख्य छ । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, स्थानीय उत्पादनको प्रबर्द्धन र सन्तुलित पूर्वाधार विकासमा उनले जोड दिएका छन् ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई आफ्नै ठाउँमा रोजगारी दिने वातावरण बनाउने र आधारभूत सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ ।

काठमाडौं–३ मा यसपटक प्रतिस्पर्धा कडा छ । अघिल्लो चुनावमा यो क्षेत्रमा कांग्रेस नै विजयी भएको थियो । तर यसपटक नयाँ दलहरूले चुनौती दिइरहेका छन् ।

क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

२०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए । 

एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ मतदाता छन् । 

अनुकूलता

  • स्थानीय नेतृत्वको प्रत्यक्ष अनुभव । गोकर्णेश्वर नगरपालिका-६ मा पाँच वर्ष काम गरेको
  • कांग्रेस संगठन भित्रको निरन्तर सक्रियता
  • युवा–केन्द्रित र सुधारमुखी एजेन्डा

प्रतिकूलता

  • संसदीय चुनावमा पहिलो प्रयास
  • रास्वपा, उज्यालो नेपाल जस्ता नयाँ दलका चर्चित उम्मेदवारसहित २४ जना प्रतिस्पर्धी हुँदा मत विभाजन र कडा टक्करको सामना गर्नुपर्ने अवस्था
  • स्थानीयबाट राष्ट्रिय तहमा उक्लिँदा अपेक्षाको दबाब

को हुन् रमेश अर्याल

जन्ममिति : २०२३–०५–२२

जन्मस्थान : काठमाडौं

स्थायी ठेगाना : गोकर्णेश्वर नगरपालिका, अर्याल गाउँ

शैक्षिक योग्यता : स्नातक

पूर्ववडाध्यक्ष : २०७४

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रमेश अर्याल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित