वैकल्पिक राजनीतिकी पर्याय
कुनै समय एउटै राजनीतिक धारमा रहेका रविन्द्र मिश्र र रञ्जु दर्शना यसपटक फरक–फरक पार्टीबाट आमनेसामने प्रतिस्पर्धा गर्दैछन् ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम हुन् । २०५२ सालमा जन्मिएकी दर्शना काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
विवेकशील नेपाली पार्टीबाट राजनीतिमा प्रवेश गरेकी दर्शना ७ माघमा रास्वपाबाट ‘घण्टी’ चुनाव चिन्हसहित उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि रास्वपाको समानुपातिक सूचीमा रहेकी उनीमाथि आलोचना भएपछि प्रत्यक्षतर्फ उम्मेदवारी दिने निर्णयमा पुगेकी थिइन् ।
रञ्जुको राजनीतिक यात्रा १७ वर्षको उमेरमा २०७० सालमा विवेकशील नेपाली पार्टीबाट सुरु भएको हो । तत्कालीन समयमा चल्तीमा रहेको बन्द–हड्तालको विरोधमा सडक आन्दोलनमा सक्रिय रहेकी उनले ‘बन्द बहिष्कार अभियान’ समेत सञ्चालन गरेकी थिइन् ।
२०७२ सालको भूकम्पपछि राहत तथा पुनर्स्थापनाको कार्यमा सक्रिय रहेकी दर्शना डा. गोविन्द केसीको भ्रष्टाचारविरुद्धको अनशनमा सहयोगी भूमिकामा पनि देखिएकी थिइन् ।
सामाजिक अभियानमा सक्रिय रहँदै आएकी दर्शना विवेकशील नेपाली पार्टीको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनी ‘काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी थिइन् ।
सो निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेकी थिइन् । यद्यपि, उक्त निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका थिए । यस चुनावले भने रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो ।
विवेकशील नेपाली र साझा पार्टी एकीकरणपछि उनी विवेकशील साझा पार्टीमा सक्रिय भइन् र महासचिवको जिम्मेवारीसमेत सम्हालिन् ।
तर, २०७८ सालमा पार्टीभित्र आन्तरिक कलह चुलिएपछि ‘ढोँगपूर्ण वैकल्पिक राजनीति’को आरोप लगाउँदै उनले पार्टीबाट राजीनामा दिइन् ।
केही समय स्वतन्त्र रहेकी दर्शना २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिन्हसहित उम्मेदवार बनेकी थिइन् । सो निर्वाचनमा उनी विजयी हुन सकिनन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाको आन्तरिक प्राइमरी निर्वाचनमा महिलातर्फ पहिलो भए पनि समानुपातिक बन्दसूचीमा अपेक्षाकृत पछाडि नाम परेपछि उनले अन्तिम समयमा आफ्नो नाम सूचीबाट हटाइन् । त्यसपछि काठमाडौं–१ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएकी छन् ।
यसअघि काठमाडौं–५ बाट उम्मेदवारी दिएकी दर्शना यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–१ आइपुगेकी हुन् । कुनै समय एउटै राजनीतिक धारमा रहेका रविन्द्र मिश्र र रञ्जु दर्शना यसपटक फरक–फरक पार्टीबाट आमनेसामने प्रतिस्पर्धा गर्दैछन् ।
आफ्नो राजनीतिक दृष्टिकोणबारे दर्शना भन्छिन्, 'यो सतीले सरापेको देश होइन, देवीले बचाएको देश बनाउने यात्रा हो । आजको पुस्ताका लागि मात्र होइन, भोलिको भविष्यका लागि पनि हो ।'
अनुकूलता
- वैकल्पिक राजनीति र नागरिक आन्दोलनबाट आएको स्पष्ट पहिचान
- युवा पुस्ता, महिला र शहरी मतदातामाझ प्रभावशाली छवि
- सामाजिक आन्दोलन, सुशासन र भ्रष्टाचारविरोधी एजेन्डामा निरन्तर सक्रियता
प्रतिकूलता
- निर्वाचन क्षेत्र परिवर्तनले स्थायित्वमाथि प्रश्न
- अघिल्ला निर्वाचनमा पराजयका कारण मतदाताको विश्वास पुनः जित्नुपर्ने चुनौती
- काठमाडौं–१ मा ठूला दल र चर्चित उम्मेदवारबीच कडा प्रतिस्पर्धा
रन्जु न्यौपाने को उम्मेदवारि कस्तो लागयो ?


