वैकल्पिक राजनीतिबाट संसद् छिर्ने यात्रामा
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन उनी सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका थिए।
०००
काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल हुन्। २०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेल यसै क्षेत्रका स्थायी बासिन्दा हुन्। उनी युवा राजनीतिक कार्यकर्ता, कानुन स्नातक तथा वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित छन्। हाल उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेका छन्।
उनको प्रारम्भिक शिक्षा तथा प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको हो। नेपाल फर्किएपछि काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरेका छन् र औपचारिक शिक्षाका लागि थप अध्ययनको क्रममा छन्।
२०७२ सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको राजनीतिक यात्रा विवेकशील अभियानबाट सुरु भएको हो। वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिँदै उनी विवेकशील साझा युवा संगठनका नेता बने तथा विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यसमेत भए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन उनी सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपंक्तिमा खटिएका थिए।
बालेन शाहको विजयपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–५ (क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए। प्रदेशसभा निर्वाचनमा पराजयपछि पनि उनी मेयर बालेन शाहको टिममा रहेर काठमाडौं महानगरपालिकामा सक्रिय रहे।
महानगरपालिकामा उनले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा शहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरे। शिक्षा सल्लाहकारको हैसियतमा नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समन्वय र नेतृत्वदायी भूमिका खेले। पुराना कानुन परिमार्जन तथा नयाँ कानुनी संरचना तर्जुमा गर्न पनि उनी सक्रिय रहे।
उनको उल्लेखनीय योगदान शिक्षा क्षेत्रमा देखिन्छ। सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई कानुनसम्मत रूपमा छात्रवृत्ति वितरण गर्न नेतृत्व गरे।
यसका लागि महानगरपालिकाले वार्षिक करिब ३.५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरुयोजना निर्माण, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको सुरुवात, भौतिक सौन्दर्यीकरण, आईसीटीमैत्री विकास, ईसीडी कक्षाकोठा सुधार, दिवा खाजा कार्यक्रम तथा शिक्षक तालिमजस्ता पहलहरूमा उनको प्रत्यक्ष भूमिका रह्यो। हाँडीगाउँलाई ‘नो भेहिकल जोन’ बनाउने पहलमा पनि उनको योगदान रहेको छ।
विगत तीन वर्षदेखि काठमाडौं महानगरपालिकाको शैक्षिक उन्नयन, विकास तथा सकारात्मक परिवर्तनमा सक्रिय रहेका पोखरेलले यही स्थानीय अनुभवलाई राष्ट्रिय तहमा विस्तार गर्ने उद्देश्यसहित संसद् प्रवेशको प्रयास गरिरहेका छन्।
रास्वपाका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार बनेका पोखरेलले आफूलाई कानुन बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको तथा परिणाम दिन सक्ने युवा नेताका रूपमा प्रस्तुत गरेका छन्। शिक्षा सुधार, सुशासन तथा पारदर्शिता, युवा रोजगारी र डिजिटल अर्थतन्त्र, खेलकुद सशक्तिकरण, सेवा प्रवाह तथा शहरी व्यवस्थापनलाई उनले प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
'म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहाँका गल्ली–गल्ली चहारेको व्यक्ति भएकाले यस क्षेत्रका आवश्यकता र तपाईंहरूको चाहनालाई नजिकबाट बुझेको छु। जनताको आवाज संसद्सम्म पुर्याउने संकल्पसहित यो यात्रामा अघि बढेको हुँ,” उनले भने, “युवा पुस्तालाई नेतृत्वमा पुर्याउन तपाईंहरूको विश्वास चाहन्छु।'
अनुकूलता
- काठमाडौं महानगरपालिकामा काम गरेको अनुभव
- छात्रवृत्ति, सामुदायिक विद्यालय सुधारमा गरेको काम
- युवा र वैकल्पिक राजनीतिक पहिचान
प्रतिकूलता
- प्रत्यक्ष संसदीय अनुभवको अभाव
- परम्परागत राजनीतिक संरचनासँग प्रतिस्पर्धा
- महानगर–केन्द्रित छविको सीमितता
सस्मित पोखरेल को उम्मेदवारि कस्तो लागयो ?



