
एकीकृत समाजवादी स्थापना : पार्टी प्रमुख : माधवकुमार नेपाल
नेकपा एमालेबाट अलग भएर २ भदौ २०७८ मा बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनबाट चुनावमा भाग लिंदैछ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा १९ र प्रदेशसभातर्फ सात प्रदेश गरी ३५ जना उम्मेदवार बनाएको छ ।
यसबाहेक केही ठाउँमा एकीकृत समाजवादीले गठबन्धनकै उम्मेदवारसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ । सत्ता गठबन्धनमा भाग पाएको १९ प्रतिनिधिसभा सदस्यमध्ये रूपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भइसकेको छ । गुरुङको उम्मेदवारी खारेज भएसँगै चुनावी मैदानमा यो पार्टीका १८ जना उम्मेदवार छन् ।
आगामी चुनावबाट पनि हाल कायम संसदीय हैसियत नगुमाउने उद्देश्य एकीकृत समाजवादीले लिएको छ । एमालेबाट अलग हुँदै गर्दा एकीकृत समाजवादीसँग २४ प्रतिनिधिसभा सदस्य, ८ राष्ट्रिय सभा सदस्य र ५३ प्रदेशसभा सदस्य थिए, तर हाल कायम संसदीय हैसियत जोगाउन एकीकृत समाजवादीले गठबन्धनमा रहेका अन्य दलको भर पर्नुपर्ने देखिन्छ ।
३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि एकीकृत समाजवादीले गठबन्धनबाटै २० स्थानीय तहको प्रमुख जितेको छ । पोखरा महानगर, हेटौंडा उपमहानगरसहित स्थानीय तहको प्रमुख जितेको एकीकृत समाजवादीको उद्देश्य समानुपातिकतर्फ सकेसम्म मत बढाउने देखिन्छ ।