‘ह्याट्रिक’ गर्ने धुनमा एमालेका ‘मधेश कमान्डर’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महासेठले धनुषा क्षेत्र नं. ४ बाट लगातार दोस्रो पटक जित निकालेका थिए। पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री महेन्द्र यादव उम्मेदवार हुँदाहुँदै पनि महासेठ एमालेबाट एक्लै विजयी भएका थिए।
००० ०००
नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार हुन्। यसअघि यसै क्षेत्रबाट दुईपटक विजयी भइसकेका महासेठ तेस्रो पटक प्रतिनिधिसभा प्रवेशको प्रयासमा छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–२ का स्थायी बासिन्दा महासेठ विद्यार्थी राजनीतिबाट उदाएका हुन्।
अनेरास्ववियु हुँदै एमालेको मूलधारको राजनीतिमा प्रवेश गरेका महासेठ पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भइसकेका छन्। गत मंसिरमा भएको एमालेको ११औँ महाधिवेशनबाट पुनः उपमहासचिवमा निर्वाचित हुनु उनको पार्टी जीवनको ‘ह्याट्रिक’ नै हो। उनी मधेशबाट एमालेका एक्ला पदाधिकारी हुन्। उनी मधेशमा एमालेका प्रभावशाली नेताका रूपमा स्थापित छन्।
महासेठको राजनीतिक उचाइसँगै उनको पारिवारिक र आर्थिक पृष्ठभूमिबारे पनि चर्चा हुने गरेको छ। उनी नेपालका धनाढ्य व्यवसायी उपेन्द्र महतोका बहिनीज्वाइँ हुन्। उनकी श्रीमती जुलीकुमारी महतो पनि एमालेकी प्रभावशाली नेतृ हुन्। आर्थिक सम्पन्नता र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताका कारण महासेठ दम्पती पार्टीको शक्ति केन्द्रमा निरन्तर रहँदै आएको भन्ने टिप्पणी राजनीतिक वृत्तमा सुनिन्छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेशका दुईवटा मात्र निर्वाचन क्षेत्रमा एमालेले प्रत्यक्ष जित निकालेको थियो, जसमा धनुषा क्षेत्र नं. ४ बाट महासेठ विजयी भएका थिए। सोही निर्वाचनमा उनकी श्रीमती जुली समानुपातिक सांसद बनिन्। ओली प्रधानमन्त्री बनेपछि महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बने। यद्यपि केही विवाद र बदनामीका कारण २०७६ मंसिर ४ गतेको मन्त्रिपरिषद् पुनर्गठनमा उनी हटाइएका थिए। नेकपा विभाजनको सँघारमा ओलीसँग दूरी बढेपछि पनि २०७८ सालमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बने। तर सर्वोच्च अदालतको परमादेशपछि सरकार परिवर्तन हुँदा दुई सातामै उनले पद गुमाउनुपर्यो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महासेठले धनुषा क्षेत्र नं. ४ बाट लगातार दोस्रो पटक जित निकाले। पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री महेन्द्र यादव उम्मेदवार हुँदाहुँदै पनि महासेठ एमालेबाट एक्लै विजयी भएका थिए। सोही निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो प्रत्यक्ष निर्वाचित भएपछि महासेठको राजनीतिक शक्ति थप मजबुत बन्यो।
महासेठको राजनीतिक यात्रा उतार–चढावले भरिएको छ। २०५० सालमै उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष बनेका उनी २०६४ सालमा धनुषा–४ बाट संविधानसभा निर्वाचनमा लडे। तर सञ्जय साह ‘टकला’ सँग पराजित भए। २०६५ सालको उपनिर्वाचनमा धनुषा–५ बाट उनी पहिलोपटक प्रत्यक्ष निर्वाचित भए।
२०७० मा धनुषा–५ बाट पुनः हार बेहोरे। २०७३ मा महासेठ र जुली पार्टीमा केन्द्रीय सदस्य बने। एकीकृत नेकपामा स्थायी समिति सदस्य हुँदै उनी १०औँ महाधिवेशनबाट सचिव निर्वाचित भएका थिए। त्यसपछि ११औँ महाधिवेशनबाट उनी उपमहासचिव निर्वाचित भएका थिए।
Battleground Analysis
अनुकूलता
- इन्कम्बेन्सी र स्रोत: लगातार दुई पटक सांसद र मन्त्री हुँदा राज्यको स्रोतसाधन परिचालन गरेको अनुभव।
- पार्टी कमान्ड: एमालेको मधेस इन्चार्ज र उपमहासचिव भएकाले टिकट वितरणदेखि कार्यकर्ता परिचालनमा एकछत्र अधिकार।
- जनाधार: मिथिला बिहारी नगरपालिका लगायतका क्षेत्रमा एमालेको बलियो संगठन।
प्रतिकूलता
- छवि र विवाद: ठेकेदार र बिचौलियासँगको सम्बन्ध, मन्त्री हुँदाका विवाद र 'सम्पन्न वर्ग' को ट्यागले भुइँमान्छेका मतदाता चिढिन सक्ने।
- वंशवादको आरोप: एउटै परिवार (श्रीमान्-श्रीमती) ले पार्टी र सत्ता कब्जा गरेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढ्न सक्ने।
- मधेस सेन्टिमेन्ट: मधेस आन्दोलनका बाँकी तुषहरू र एमालेप्रतिको परम्परागत अविश्वास कायमै रहनु।
राजनीतिक स्वभाव र शैली
शक्तिशाली दम्पती
श्रीमती जुलीकुमारी महतो (सांसद/नेतृ) र सालो उपेन्द्र महतो (धनाढ्य व्यवसायी) को पारिवारिक र आर्थिक बलले उनलाई मधेसको राजनीतिमा 'हेभीवेट' बनाएको छ। उनलाई 'क्रोनी क्यापिटलिज्म' को अभ्यासकर्ता भन्ने आरोप पनि लाग्ने गर्छ।
ओलीका विश्वासपात्र
मधेसमा एमाले कमजोर हुँदा पनि संगठन जोगाएको र केपी ओलीसँगको निकट सम्बन्धका कारण पार्टीको 'कोर टिम' मा उनको स्थान सुरक्षित छ। ११औं महाधिवेशनबाट उपमहासचिवमा दोहोरिनु यसको प्रमाण हो।
विकास र विवाद
भौतिक पूर्वाधार मन्त्री हुँदा सडक र पुल निर्माणमा सक्रिय देखिए पनि ठेक्कापट्टा र 'सेटिङ' को विवादमा मुछिएर मन्त्री पद गुमाउनुपरेको इतिहास छ। उनको छवि 'काम गर्ने तर विवादित' नेताको छ।
मधेसको खम्बा
मधेस आन्दोलनको रापतापमा पनि एमालेको झन्डा गाड्ने र २ पटक लगातार जित्ने उनको संगठनात्मक क्षमता लोभलाग्दो छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | धनुषा-४ | सञ्जय शाह | ६,८८२ | १३,४२३ | ६,५४१ | पराजय |
| २०६५ (उप) | धनुषा-५ | डा. चन्द्रमोहन यादव | १०,९६७ | १२,३३८ | १,३७१ |
|
| २०७० | धनुषा-५ | डा. चन्द्रमोहन यादव | १२,३३८ | १०,५३४ | ८६४ | पराजय |
| २०७४ | धनुषा-४ | महेन्द्र यादव | १९९९१ | २२५३२ | २५४१ |
|
| २०७९ | धनुषा-४ | महेन्द्र यादव | ३२११२ | ३२२३६ | १२४ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
विद्यार्थी काल: अनेरास्ववियुबाट राजनीति आरम्भ। २०५०: उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष (राजनीतिक नियुक्ति)।
संविधानसभामा जय-पराजय
२०६४ (संविधानसभा-१): धनुषा–४ बाट सञ्जय साह 'टकला' सँग पराजित। २०६५ (उपनिर्वाचन): धनुषा–५ बाट पहिलो पटक प्रत्यक्ष विजयी। २०७० (संविधानसभा-२): धनुषा–५ बाट पराजित।
एमाले केन्द्रीय समितिमा
एमाले केन्द्रीय सदस्य।
विजयसँगै मन्त्री
धनुषा–४ बाट विजयी। केपी ओली सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री।
विवादले मन्त्रीपद गयो
कार्यसम्पादन र विवादका कारण मन्त्री पदबाट हटाइएका।
उपप्रधानमन्त्री र पार्टी सचिव
छोटो समयका लागि उपप्रधान तथा परराष्ट्र मन्त्री। एमालेको १०औं महाधिवेशनबाट सचिव।
दोस्रो जित
धनुषा–४ बाट कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई हराउँदै विजयी (लगातार दोस्रो जित)।
एमाले उपमहासचिव
एमालेको ११औं महाधिवेशनबाट उपमहासचिव निर्वाचित।
रघुवीर महासेठको उम्मेदवारि कस्तो लागयो ?

