डा. भीम रावलका लागि यो निर्वाचन केवल सांसद पदको लडाइँ मात्र नभई उनको राजनीतिक अस्तित्व र "नैतिकताको राजनीति" को अग्निपरीक्षा हो। अछामका मतदाताले उनलाई "अन्यायमा परेका योद्धा" का रूपमा हेरेर मतदान गरेमा उनको पुनरागमन निश्चित छ, अन्यथा एमाले र कांग्रेसको दलीय मतभारले उनलाई कडा चुनौती दिने देखिन्छ।
०००
४ साउन २०१३ सालमा अछामको साँफेबगर नगरपालिका–६ कालाआम गाउँमा जन्मिएका भीम रावल नेपाली राजनीतिमा परिचित नाम हो । २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न उनले राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र वरिष्ठ नेता रहेका रावल विगतमा नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष हुनुका साथै ५० वर्ष एमालेमार्फत देश र जनताका लागि योगदान गरिसकेका छन् ।
उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी भए । त्यहीं झापाली राजबन्दीहरूसँग रावलको भेट भयो । २०३२ सलमा केन्द्रीय कारागारमा रहँदा उनले पार्टी सदस्यता प्राप्त गरे ।
रावल २०३३ सालमा राजकाज मुद्दाअन्तर्गत कारागार परे । २०३५ सालदेखि पार्टीको विद्यार्थी क्षेत्रमा पार्टीको नेतृत्ववादी केन्द्रीय न्युक्लियसको सदस्य भए ।
अनेरास्ववियु (एकताको पाँचौं) को संस्थापक मध्येका एक रावल २०३६ सालमा संगठनको केन्द्रीय सचिवालय सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।
विद्यार्थी आवाज र स्टुडेन्ट्स भ्वाइसको सम्पादक रहिसकेका रावल २०३८ सालमा अनेरास्ववियु एकताको पाँचौं राष्ट्रिय सम्मेलनका सिलसिलामा गिरफ्तारी परे । उनी डिल्लीबजार खोरमा विद्रोह र भैरहवा कारागारमा नौ दिन आमरण अनशन बसे ।
डा. रावल नेपालको राजनीतिमा एक 'हाइप्रोफाइल' नेता हुन्। राष्ट्रियता, सीमा रक्षा र पार्टीको विधि-पद्धतिका विषयमा उनीले लिने अडानका कारण देशभर र अछाममा उनको छुट्टै सम्मान छ।
२०३९ सालपछि नेकपा (माले) को काठमाडौं बुद्धिजीवी कमिटीको सचिव भएका रावलले पार्टीका तर्फबाट साप्ताहिक पत्रिकाको सम्पादनको जिम्मेवारी सम्हाले । उनी २०४८ सालपछि लगत्तै प्रचार विभागको सदस्य बने ।
२०५० सालदेखि विदेश विभागको सदस्य र सचिवका रूपमा लामो समय काम गरेको अनुभव रावलसँग छ ।
नेता रावल २०५४ सालमा छैठौं र २०५९ सालमा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी २०६५ सालमा आठौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित हुन पुगे ।
तर, केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भएका रावल २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित भए ।
उनीसँग उपप्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेको राजकीय अनुभव छ।
१० वर्ष एमालेको सेती अञ्चल इन्चार्ज रहिसकेका रावलले झन्डै १५ वर्ष प्रवास क्षेत्रको पार्टी कामको जिम्मेवारी बहन गरे । विभिन्न समयमा केन्द्रीय संगठन विभागको सदस्यको रूपमा पनि उनले जिम्मेवारी सम्हाले ।
संघीय व्यवस्था आइसकेपछि रावल सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक र त्यसको संस्थापक हुन् । २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण भएपछि उनी स्थायी कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज भए ।
नेता रावलले सरकार र संसदीय क्षेत्रको जिम्मेवारी पनि सम्हाली सकेका छन् । रावल २०४७ सालमा नेकपा (माले) का तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार थिए । २०४८ सालमा नेकपा एमालेका तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उनी उम्मेदवार थिए । तर, उनको संसदीय यात्रामा निर्वाचनबाट ब्रेक लाग्यो, उनी पराजित भए ।

२०५१ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी रावल एमालेको अल्पमतको सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र वाणिज्य राज्यमन्त्री बने । पछि उनले उद्योग मन्त्रालयको समेत जिम्मेवारी सम्हाले ।
उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको चुनावी सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
रावल २०५६ सालको आम निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ अछामबाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । रावल २०६२/६३ सालको जनआन्दोलनमा ३५ दिन सशस्त्र प्रहरीको ब्यारेकमा बन्दी बने ।
उनी २०६४ सालको संविधानसभामा एमालेका तर्फबाट संविधानसभामा समानुपातिकतर्फ सदस्य बने । रावल २०६६ सालदेखि २०६८ सालसम्म गृहमन्त्री तथा २०७२ साल कात्तिकदेखि २०७३ साल साउनसम्म उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
२०७० सालमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा उनी निर्वाचित भए । उनी संविधानसभाको संवैधानिक समिति तथा संविधान मस्यौदा समितिको सदस्य थिए ।
माओवादी सेनाका लडाकुहरूको समायोजन तथा पुनर्स्थापनासम्बन्धी विशेष समितिको सदस्य भएर रावलले विभिन्न वार्तामा संलग्न रही शान्ति प्रक्रियामा सक्रिय र महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
२०७४ सालको आम निर्वाचनमा अछाम– १ बाट प्रतिनिधिसभाको सदस्य निर्वाचित रावल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको लामो समयसम्म सदस्य रहे ।
२०७९ को निर्वाचनमा अछाम–१ बाट सर्वसम्मत सिफारिस हुँदा पनि एमाले नेतृत्वले टिकट नदिएको र पछि पार्टीबाटै निष्कासन गरेको घटनाले स्थानीय मतदातामा उनीप्रति ठूलो सहानुभूति छ।
२०७९ सालको आम निर्वाचनमा अछाम– १ बाट सर्वसम्मत एकल उम्मेदवारको सिफारिसमा परे पनि अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवारीबाट बञ्चित गरे ।
देशको स्वाधीनता, हित तथा पार्टीको विधि, पद्दति र स्वच्छ किसिमले चलाउने माग गर्दा अन्ययापूर्ण किसिमले उनी पार्टी सदस्यबाट निष्कासनमा परे ।
पार्टीबाट निष्कासनमा परेपछि रावलले २०८१ साल पुस १७ देखि देश र जनताको पक्षमा आवाज घन्काइ रहन र सिद्धान्त, विधि र पद्दतिका लागि मातृभूमि जागरण अभियान सञ्चालन गरे ।

नेपालको वामपन्थी र देशभक्तको सशक्त संगठन र मूल प्रवाह निर्माणका लागि २०८२ साल असोज २६ गते उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए ।
मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य तथा निर्देशक रहिसकेका रावल, नेपाल बार एसोसिएसनद्वारा सञ्चालित कानुनी सहायता परियोजनाको निर्देशक तथा कानुनको सम्पादक बने ।
अधिवक्तासमेत रहेका रावलले मानवाधिकार र विकाससम्बन्धी नेदरल्यान्डको इन्स्टिच्युट अफ सोसल स्टडिजमा तीन महिने विशेष अध्ययन गरेका छन् । जलस्रोतको उपयोगबारे अमेरिकाको हार्वर्ड विश्व विद्यालयमा १० दिने विशेष कार्यशालामा सहभागी रहेका उनी २०५० साल फागुनदेखि १० महिना संयुक्त राष्ट्रसंघअन्तर्गत कम्बोडियामा निर्वाचन गराउने काममा संलग्न भए ।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका रावल एक अध्ययनशील नेता हुन्। संसद् र सार्वजनिक बहसमा उनीले राख्ने तार्किक प्रस्तुतिले सचेत र युवा मतदातालाई आकर्षित गर्छ।
रावलले ‘नेपालमा साम्यवादी आन्दोलन, उद्भव र विकास’ (पुस्तक), ‘राजनीति र मानव अधिकार’ (पुस्तक), ‘लिम्पियाधुरा’ (कविता संग्रह) लेखका छन् ।
विद्यावारिधिका लागि पोलिटिकल भ्वाइलेन्स एन्ड माओइस्ट इमसर्जेन्सी इन नेपाल (राजनीतिक हिंसा तथा माओवादी विद्रोह) नामक शोधपत्र तयार गरेका रावलका दर्जनौं अनुसन्धानात्मक शोधपत्र, लेख तथा सयौं समसामयिक विषयका लेखहरू प्रकाशित छन् ।
रावलले आसन्न निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अछाम–१ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । यो क्षेत्रमा एमालेले दीपकबहादुर साउद र नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट यहाँ ओमप्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाह उम्मेदवार छन् ।
५० वर्ष एमालेमा रहेर काम गरेका रावलको अछामका गाउँ-गाउँमा व्यक्तिगत सम्बन्ध र "क्याडर बेस" पकड छ। उनले नेतृत्व गरेको 'मातृभूमि जागरण अभियान' ले उनलाई जनताको बीचमा सधैँ सक्रिय राखेको छ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा रावल उम्मेदवार रहेको अछाम–१ मा तत्कालीन नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतसहित विजयी भएका थिए ।
रावलको टिकट रोकेर एमालेले उम्मेदवार बनाएका झपटबहादुर बोहरा १५ हजार ४५ मत ल्याएर दोस्रो हुँदा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका राजन कुँवरको पक्षमा ४ हजार ३९२ मत खसेको थियो ।