भ्रष्टाचारविरोधी युवा अभियन्ता भुवनको संसदीय यात्रा
मुगुमा अनुभवी नेताहरूसँग भुवनले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
०००
१२ मंसिर २०५७ सालमा मुगुको खत्याड गाउँपालिका गाडेखोलामा जन्मिएका हुन् भुवन टमटा ।
स्नातक तह अध्ययन गरिरहेका उनै टमटालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुगुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
पढ्दा पढदै राजनीतिमा लागेका उनी आफ्नो जिल्लामा अन्याय र अत्याचार धेरै हुने गरेको पाइएपछि त्यसैको विरुद्धमा चुनावमा होमिएको बताउँछन् । उनी भन्छन्- भ्रष्टाचार नै मूल समस्या हो भनेर माइतीघरमा प्रदर्शन गरेर भ्रष्टाचारविरुद्ध आवाज उठाएँ । जिल्लातरमा भ्रष्टाचारविरुद्ध विविधि गतिविधि गरेँ । जुन रूपमा सुनिनुपर्ने थियो सुन्नुपर्नेहरूले सुनेनन् ।
नागरिकका आवाज किन सुनिँदैन भन्ने खोज्दा राज्य संयन्त्रमा दलीय सिन्डिकेटको दबदबा रहेको पाएको उनी सुनाउँछन् ।
'सीमित नेता र कार्यकर्ताको पहुँच राज्यको साधन र स्रोतमा छ । जिल्लामा नेता/कार्यकर्ताको सिन्डिकेट छ । यस्ता बेतिथिलाई तोड्न र समावेशी विकासको नीति कार्यान्वयन गर्न राजनीतिमा लागेको हुँ,’ उनी सुनाउँछन् ।
उच्च पहाडी र दुर्गम भूगोलमा हुर्किएका भुवन कानुनका विद्यार्थी हुन् । स्थानीय जीवनशैली, परम्परा र जनजीवनका चुनौतीहरू प्रत्यक्ष अनुभव गरेका उनी सबै नागरिकका लागि राज्यको समान नीति हुनुपर्ने र सबैले समान अवसर पाउनुपर्ने मत राख्दछन् । यसका लागि राज्यको नीति सही हुनुपर्ने लागेर आफू यसकै लागि प्रयास गर्छु भनेर उम्मेदवार भएको बताउँछन् ।
जिल्लामा पनि उनी युवा नेताको रूपमा परिचित छन् । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा पनि चिनिन्छन् ।
युवा नेताको रूपमा समाजसँग सम्बन्ध प्रगाढ बनाउँदै अगाडि बढेका भुवनको लक्ष्य निर्वाचनमा जनताको विश्वास जितेर क्षेत्रीय विकास र सामाजिक कल्याणमा योगदान पुर्याउने छ ।
‘टुक्रे योजनाले विकासको गति बढाउँदैन । साना योजना छाडेर ठूला योजना लिएर अगाडि बढ्नुपर्छ । यसमा लागि संघीय नीति नै चाहिन्छ’ उनी प्रष्ट छन् ।
समाज विकासको मुख्य भ्रष्टाचार भएको निष्कर्ष सुनाउने उनी चुनाव जितेपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पति अनिवार्य सार्वजनिक गर्ने नीति बनाउने प्रतिबद्धता जनाउँछन्, ‘सार्वजनिक पद धारण गर्ने सबैको सम्पति विवरण सार्वजनिक गर्नैपर्छ । यसमा काम गर्छु ।’
सामाजिक न्याय, समावेशी विकास र क्षेत्रीय अधिकारका पक्षधर भुवन युवा, किसान र पिछडिएका वर्गका लागि निरन्तर अभियान सञ्चालन गर्ने व्यक्तिका रूपमा पनि चिनिन्छन् ।
भ्रष्टाचारको विषयलाई लिएर काठमाडौंका समय–समयमा प्रदर्शन गर्ने, जिल्लामा पनि भ्रष्टाचारले विकास हुन नसकेको भनेर आवाज उठाउने भुवन राजनीतिक दलसँग जोडिएको भने धेरै भएको छैन ।
२०८१ सालमा रास्वपामा जोडिएका उनलाई रास्वपाले उम्मेदवार बनाएको हो । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका मुद्दामा विशेष चासो राख्दै आएका उनी चुनाव जितेपछि प्रतिवद्धता कार्यान्वयनबारे नागरिकसँग निरन्तर प्रत्यक्ष संवाद गर्ने, विश्वास र सहभागितामा आधारित राजनीति निर्माण गर्न निरन्तर लागिरहने प्रतिबद्धता उनको छ ।
तर, मुगुमा अनुभवी नेताहरूसँग भुवनले प्रतिस्पर्धा गर्नुपर्ने छ । नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बलबहादुर मल्ल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐटन मल्ल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रंगवीर परियार उम्मेदवार छन् ।
Battleground Analysis
अनुकूलता
- ऊर्जावान युवा छवि र एजेन्डा
- बौद्धिक र कानुनी पृष्ठभूमि
- सामाजिक न्याय र समावेशिता
प्रतिकूलता
- अनुभव र संगठनको अभाव
- कमजोर मतदाता आधार
- दुर्गम भूगोल र स्रोत साधन
भुवन टमटाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?