Home Candidate दामोदर भण्डारी

निरन्तर जितकाे खाेजी

बैतडी - १ उम्मेदवार

दामोदर भण्डारी

नेकपा एमाले
पुरुष , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय दामोदर भण्डारी बैतडीको पाटन नगरपालिका–६ का बासिन्दा हुन् । २०३० कात्तिक २० गते जन्मिएका उनले नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरू गरेका हुन् ।

भण्डारी २०४८ सालमा बैतडीको जिल्ला कमिटी अध्यक्ष बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् २०५० मा उनी एमाले बैतडी जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

२०५४ सालमा जिल्ला कमिटी उपसचिव बनेका नेता भण्डारी २०५६ देखि २०६४ सम्म पार्टी प्रमुख सचिव हुँदै एमाले बैतडीको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहे ।

२०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) का नेता नरेन्द्र कुँवरसँग पराजित भए पनि उनले दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मार्फत् संसदीय यात्रा तय गरे । उक्त निर्वाचनमा उनीे बैतडी–१ बाट ११ हजार ६७२ मत प्राप्त गरी संविधान सभा सदस्यमा निर्वाचित भए ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा बैतडी एउटै निर्वाचन क्षेत्र बनेपछि भण्डारी वाम गठबन्धनका उम्मेदवारका रूपमा मैदानमा उत्रिए ।उक्त निर्वाचनमा भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरे ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा तत्कालीन सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवरलाई एक हजार ५३१ मतान्तरले हराउँदै उनले ३३ हजार ६११ मतसहित विजयी भए ।

दोस्रो संविधान सभा निर्वाचनमा विजयी भण्डारीलाई एमालेले २०७३ अर्थ राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्मा पठायो । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा निर्वाचित भएपछि नेता भण्डारीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई पटक उक्त मन्त्रालय सम्हालेका थिए ।

आसन्न निर्वाचनमा एमालेले पूर्वमन्त्री भण्डारीलाई बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । यहाँ कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीसहित कुल ११ जना उम्मेदवार छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले नेता भण्डारी ३३ हजार ६११ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत पाएका थिए । यो निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो ।

प्रस्तुतिः कृष्ण बिष्ट

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

दामोदर भण्डारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित