मजदुर नेता मैदानमा
जनयुद्धदेखि श्रमिक आन्दोलनसम्मको अनुभव बोकेर ओपेन्द्रकुमार राय मोरङ–६ मा वर्गीय एजेन्डासहित मैदानमा छन् ।
०००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मोरङ क्षेत्र नम्बर ६ बाट श्रमिक नेता ओपेन्द्रकुमार रायलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । ४८ वर्षीय राय श्रमिक आन्दोलनबाट खारिएका नेता हुन्। उनी पिछडिएको वर्ग, श्रमिक र सीमान्तकृत समुदायलाई नीति निर्माणको केन्द्रसम्म पुर्याउने लक्ष्यसहित निर्वाचनमा होमिएको बताउँछन् ।
जनयुद्धको समयदेखि नै नेकपाको राजनीतिमा सक्रिय रहेका राय पार्टीका पुराना र प्रतिबद्ध नेता मानिन्छन् । श्रमिक हक–अधिकार, सामाजिक न्याय र वर्गीय मुद्दालाई प्राथमिकतामा राख्दै आएका उनले राजनीति सत्ताका लागि होइन, श्रमिक र उत्पीडित वर्गको आवाज बुलन्द गर्नुपर्ने माध्यम भएको धारणा राख्दै आएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेपाली कांग्रेससँग गठबन्धनमा रहेकाले यस क्षेत्रबाट उम्मेदवार नउठाएको थियो। सो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा ‘१’ बाट जीवन आचार्य निर्वाचित भएका थिए। यसपटक भने पार्टीले आफ्नै संगठन र एजेन्डाका आधारमा प्रतिस्पर्धामा उत्रिने निर्णय गर्दै रायलाई अघि सारेको हो ।
मोरङ क्षेत्र नम्बर ६ मा यसपटक तीन जना स्वतन्त्र उम्मेदवारसहित जम्मा १७ जनाले उम्मेदवारी दिएका छन् । बहुपक्षीय प्रतिस्पर्धाबीच श्रमिक वर्गको प्रतिनिधित्व गर्दै रायले आफू फरक राजनीतिक धार र वर्गीय एजेन्डासहित मैदानमा उत्रिएको दाबी गरिरहेका छन् । चुनावी अभियानका क्रममा उनले श्रमिक, किसान, मजदुर र सीमान्तकृत समुदायसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना कार्यक्रम र लक्ष्य प्रस्तुत गरिरहेका छन् ।
अनुकूलता
- श्रमिक आन्दोलन र जनयुद्धको पृष्ठभूमि, स्पष्ट वर्गीय राजनीति
- पिछडिएको समुदाय र मजदुर मुद्दामा निरन्तर सक्रियता
- गठबन्धनबिनै आफ्नै संगठन र विचारका आधारमा प्रतिस्पर्धा
प्रतिकूलता
- ठूला दलका स्थापित र संसाधनसम्पन्न उम्मेदवारसँग कडा प्रतिस्पर्धा
- सीमित प्रचारप्रसार र संगठनात्मक पहुँच
- बहु–उम्मेदवारीका कारण मत विभाजनको जोखिम
ओपेन्द्रकुमार राय को उम्मेदवारि कस्तो लागयो ?


