प्रतिनिधिसभामा पुनरागमनको प्रयासमा रवीन्द्रराज शर्मा
२०७९ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमाले उम्मेदवार थिए, रवीन्द्रराज शर्मा । उनका निकटका प्रतिस्पर्धी थिए, अम्मरबहादुर थापा । रवीन्द्रराज र अम्मरबहादुर लामो समयसम्म एउटै पार्टीमा क्रियाशील थिए, पार्टीभित्रका प्रतिस्पर्धी पनि ।
२०७९ मा भने यी दुई फरक फरक दलका उम्मेदवार थिए । रवीन्द्रराज एमालेबाट उम्मेदवार बन्दा अम्मरबहादुर एमाले विभाजनपछि बनेको एकीकृत नेकपा समाजवादीबाट । दैलेख १ को यो रोचक प्रतिस्पर्धामा अम्मरबहादुर सफल भए । त्यसबेला अम्मरबहादुरलाई नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धनको साथ थिया ।
यसपटक फेरि तिनै रवीन्द्रराज एमालेबाट उम्मेदवार छन् । चुनावी मैदान अन्य उम्मेदवारसहित अम्मरबहादुर पनि उभिएका छन् । अम्मरबहादुरको पार्टी फेरि परिवर्तन भएको छ । यसपटक उनी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रसहित विभिन्न २३ दल र घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा छन् । तर, अम्मरबहादुरलाई कांग्रेसको साथ छैन । कांग्रेसले युवा र महिला उम्मेदवार बासना थापालाई उठाएको छ ।
योपटक रवीन्द्रराज २०७९ को पराजयलाई अब जितमा बदल्नै प्रतीक्षामा छन् । उनीसँग २०७४ मै प्रतिनिधिसभा सदस्य बनेको अनुभव छ । तत्कालीन समयमा उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवार थिए । त्यसबेला उनले कांग्रेस उम्मेदवारलाई पराजित गरेका थिए । यसपटकको चुनावी प्रतिस्पर्धामा पनि उनी त्यही नतिजा दोहोर्याउने प्रयासमा छन् ।
१० असोज २०२१ मा दैलेखको नारायण नगरपालिका– २, जाहारकोटमा जन्मिएका रवीन्द्रराजको प्रतिनिधिसभामा तेस्रो प्रतिस्पर्धा हो ।
जिल्लाको राजनीतिमा कुशल संगठकका रूपमा चिनिएका उनी जिल्लाको भूगोल र ग्रामिण क्षेत्रका मतदातासँग पनि राम्रो पहुँच भएका नेता मानिन्छन् ।
६१ वर्षीय रवीन्द्रराज विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका हुन् । २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेको अनेरास्ववियू पाँचौंको प्रारम्भिक कमिटी सदस्य भएका उनी २०४५ मा नेकपा (माले) मार्फत राजनीतिक दलमा आबद्ध भएका थिए । २०४६ मा नेकपा (माले) नेपालगन्जको नगर कमिटी सदस्य समेत बनेका थिए ।
२०४७ असारमा नेकपा (माले) दैलेख जिल्ला कार्यसमितिको संस्थापक सचिव बनेका उनी सोही वर्ष नेकपा एमालेको संस्थापक जिल्ला सचिव समेत बने । २०५२ देखि एमाले दैलेख जिल्ला कार्यसमितिको सचिवालय सदस्य बने । २०७१ मा निर्वाचित जिल्ला कार्यसमिति अध्यक्ष बने ।
२०७८ चैतमा भएको नेकपा एमाले दैलेखको सातौं जिल्ला अधिवेशनबाट शर्मा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । भेरी अञ्चल समन्वय कमिटी सदस्य, एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कार्यसमितिको सहसचिव छन् ।
रवीन्द्रराज दैलेखमा एमालेका संस्थापक मात्र होइनन्, २०५४ सालमा नारायण नगरपालिकाका निर्वाचित मेयर पनि हुन् । उनी २०५५ मा नारायण क्याम्पसको संस्थापक अध्यक्ष समेत हुुन् । उनले २०७४ सालमा प्रतिनिधिसभा सदस्य हुँदा कानुन न्याय तथा मानव अधिकार समितिको सदस्य भएर काम गरेका थिए ।
अनुकूलता
लामो राजनीतिक पृष्ठभूमि, नगरपालिका प्रमुखदेखि प्रतिनिधिसभा सदस्यसम्मको अनुभव, जिल्लाको भूगोलको राम्रो ज्ञान तथा तल्लोतहका कार्यकर्ता–मतदातासम्म पहुँच भएका नेता हुन् ।
प्रतिकूलता
पटकपटक अवसर पाउँदा पनि प्रभावकारी काम गर्न नसकेको तथा अरुलाई मौका नदिई सधैं आफैं मात्र उम्मेदवार बनिरहेको भन्दै आफ्नै पार्टीका नेताहरूबाट हुने आलोचनालाई उनले चिर्नुपर्नेछ । राजनीतिमा पुस्तान्तरणलाई बल नपुर्याएको आरोप ।
व्यक्तिगत विवरण
नाम: रवीन्द्रराज शर्मा
जन्म : २०२१ असोज १० गते,
जन्मस्थान : दैलेख
स्थायी ठेगाना : नारायण नगरपालिका रुपाखेत, दैलेख
शिक्षा: एसएलसी
२०५४ : नारायण नगरपालिका दैलेखको मेयर
२०७४ : प्रतिनिधिसभा सदस्य निर्वाचित
२०७९ : प्रतिनिधिसभा सदस्यमा पराजित
२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
२०४२ : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेको अनेरास्ववियु कमिटी सदस्य
२०४५ : नेकपा (माले)मा आबद्ध
२०४६ : नेकपा (माले) नेपालगन्जको नगर कमिटी सदस्य
२०४७ : नेकपा (माले) दैलेख जिल्ला कार्यसमितिको संस्थापक सचिव
२०५२ : एमाले दैलेख जिल्ला कार्यसमितिको सचिवालय सदस्य
२०५४ : नारायण नगरपालिका दैलेखको मेयर
२०७१ : दैलेख जिल्ला पार्टी अध्यक्ष
२०७८ : जिल्ला पार्टी अध्यक्ष (दोस्रो कार्यकाल)
२०७४ : प्रतिनिधिसभा सदस्य निर्वाचित
२०७९ : प्रतिनिधिसभा सदस्य पराजित
२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार
रविन्द्र राज शर्मा को उम्मेदवारि कस्तो लागयो ?




