लोकप्रियता परीक्षण गर्दै सेलिब्रिटी पत्रकार
विवादित पात्रलाई पाहुना बनाएर कडा र कहिलेकाहीँ विवादित प्रश्न सोध्ने शैलीले सामाजिक सञ्जालमा छाइरहने धमलाले आफ्नो लोकप्रियतालाई मतमा कति रूपान्तरण गर्न सक्छन् भन्ने मूल्याङ्कन भने निर्वाचन परिणामले मात्र गर्ने छ।
०००
आम जनता पार्टीको तर्फबाट पत्रकार ऋषि धमला यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । रौतहट क्षेत्र नं ४ मा उम्मेदवार बनेका उनको चुनाव चिह्न मोबाइल तोकिएको छ ।
पहिलो पटक निर्वाचन लड्दै गर्दा उनले आफ्नो राजनीतिक क्षेत्र मधेश प्रदेशलाई रोजेका हुन् । ७ कात्तिक २०३२ सालमा धादिङमा जन्मिएका धमला टेलिभिजन पत्रकारितामा आक्रामक र कहिलेकाहिँ विवादित प्रश्न शैलीका कारण चर्चित नाम हुन्।
प्रभु साह नेतृत्वको मधेशकेन्द्रित दल आम जनता पार्टीबाट चुनाव लड्दै गर्दा धमलाको प्रतिस्पर्धा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी शाह, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललगायतसँग हुने छ ।
प्रभु साहको राजनीतिक पृष्ठभूमि माओवादीसँग जोडिएको छ। उनी २०६४, २०७० र २०७४ सालको निर्वाचनमा माओवादीबाट विजयी भएका थिए। २०७९ सालमा रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार बनेका साह पछि एमाले हुँदै आफ्नै दल आम जनता पार्टी स्थापना गरेका हुन्, जसमा हाल धमला दम्पती सक्रिय छन्।
अघिल्ला दुई निर्वाचनमा रौतहट–४ मा नेपाली कांग्रेस तुलनात्मक रूपमा बलियो देखिँदै आएको छ। २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसका तिमिल्सिनाले लगातार जित निकालेका थिए ।
तर ती निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन कांग्रेसलाई थियो। यसपटक सबै दल आ–आफ्नै बलमा चुनाव लड्दा प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ। अघिल्लो निर्वाचनमा एमाले दोस्रो स्थानमा सीमित भएको थियो।
रिपोर्टर्स क्लब नेपालका संस्थापक अध्यक्ष धमलाले प्राइम टाइम्स टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममार्फत पछिल्ला दिनमा झनै चर्चा कमाएका थिए ।
अभिनेत्री तथा नेतृ एलिजा गौतमका श्रीमानसमेत रहेका धमला व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहँदै आएका छन्। गौतम यसपटक आम जनता पार्टीको समानुपातिक सूचीमा उम्मेदवार छिन् । निर्वाचन आयोगको विवरणअनुसार धमलाको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह रहेको छ।
विवादित पात्रलाई पाहुना बनाएर कडा र कहिलेकाहीँ विवादित प्रश्न सोध्ने शैलीले सामाजिक सञ्जालमा छाइरहने धमलाले आफ्नो लोकप्रियतालाई मतमा कति रूपान्तरण गर्न सक्छन् भन्ने मूल्याङ्कन भने निर्वाचन परिणामले मात्र गर्ने छ।
Battleground Analysis
अनुकूलता
- टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक पहिचान
- मिडिया प्रयोगमा दक्षता
- आम जनता पार्टी र प्रभु साहको साथ
प्रतिकूलता
- बाहिरी जिल्लाको उम्मेदवार
- स्थापित दलहरूको किल्ला
- पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा
ऋषिराज धमलाको उम्मेदवारि कस्तो लागयो ?



