२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार पहिलो जितको परीक्षा दिन यस पटक काठमाडौं–४ पुगेका छन् ।
०००
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-४ मा उम्मेदवारी दर्ता गरेर पनि फिर्ता लिएको थियो । यस पटक भने यो क्षेत्रमा रावपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा काठमाडौं–१ मा उम्मेदवार बनेर तेस्रो स्थानको मत पाएका पुकारले यसपटक क्षेत्र परिवर्तन गरेका छन् । उनी काठमाडौं–१ निवासी हुन् ।
उज्ज्वल थापाले नेतृत्व गरेको विवेकशील अभियानदेखि पुकार सुशासन र सामाजिक कार्यमा क्रियाशील बनेका थिए । विवेकशील अभियान सुशासन र सामाजिक न्यायको अभियानसँगै परिणाममुखी र सुसंस्कृत राजनीतिका लागि प्रारम्भ गरिएको थियो ।
अभियानलाई उज्ज्वल थापाले दलका रूपमा विवेकशील नेपाली दल गठन गरेका थिए । यही माध्यमबाट पुकार वैकल्पिक राजनीतिमा संलग्न भएका हुन् । विवेकशील नेपाली दल नेपाली युवाले सुरु गरेको वैकल्पिक राजनीतिको इमानदार प्रयास थियो ।
उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको उक्त राजनीतिक अभियानबाट अघि बढेका पुकार हाल रास्वपाको केन्द्रीय सदस्य छन् । काठमाडौं–११, थापाथलीका बासिन्दा उनले २०७२ को महाभूकम्पपछि ‘विवेकशील नेपाली’को तर्फबाट देशभर राहत र उद्धार अभियानको नेतृत्व गरे ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका पुकारले गत वैशाखमा सामाजिक सञ्जालबाट अध्ययनका लागि आर्थिक सहयोगको आह्वान गरेका थिए । अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय अध्ययनका लागि सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेका थिए । अध्ययनका लागि संकलन गरेको रकम र पढ्न गए-नगएको विषयमा भने उनले जानकारी हालसम्म गराएका छैनन् ।
२०६२–६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी त्यसयता ‘नेपाल खुला छ’, ‘नेताज्यू खबरदारः संविधान कहिले’, ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’, ‘भ्रष्टाचार विरुद्धको अभियान’, ‘इनफ इज इनफ’ र गोविन्द केसीको चिकित्सा शिक्षाको २० पटकसम्मको आन्दोलनलगायत दर्जनौं अभियान-आन्दोलनमा सहभागी भए ।
कोरोना महामारीमा पीडित नागरिकप्रति राज्यलाई जवाफदेही बनाउन साथी ईः सँग पुकार पनि १२ दिन सत्याग्रह (आमरण अनसन) बसेका थिए । कोरोना महामारीमा विपन्न व्यक्तिहरूलाई काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउने काममा उनले नेतृत्वदायी भूमिका खेले । कोरोनाकालमा विभिन्न ठाउँमा सहयोग जुटाएर ५०० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र सिलिन्डर लिएर बिरामीहरूको घर–घर पुगे उनी ।
पुकारले २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट प्रतिस्पर्धा गरेका थिए । ती दुई निर्वाचनमा उनी छैटौं र तेस्रो स्थानमा आएका थिए ।
गत निर्वाचनमा काठमाडौं–१ मा रास्वपाबाट उम्मेदवार बनेका पुकारले ४ हजार ११५ मत प्राप्त गरेका थिए । पुकारले पाएको मत तेस्रो स्थानको मत हो । यस क्षेत्रमा गत निर्वाचनमा प्रकाशमान सिंहले जित्दा उनको प्रमुख प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्र बनेका थिए ।
२०७० सालदेखि कांग्रेसका गगन थापाले जित्दै आएको क्षेत्रमा पुकार यस पटक प्रतिस्पर्धी बनेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस पहिलो शक्ति बनेको थियो । समानुपातिकमा रास्वपाले तेस्रो स्थानको मत पाएको थियो ।