शेर बहादुर कुँवर एकीकृत समाजवादी, अछाम - १ पुरुष , ५६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

कुनै बेला नेकपा (एमाले), अछामका नेता रहेका शेरबहादुर कुँवर अहिले पार्टी विभाजनका कारण चुनावी सहजतामा छन् । पार्टी फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी यो पटक अछाम–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

एमालेले भीम रावललाई पाखा लगाउँदै पूर्व माओवादी झपट बोहोरालाई टिकट दिंदा चुनावी माहोल अझ आफूअनुकूल भएको कुँवरको आकलन छ । संसदीय राजनीतिका पुराना खेलाडी कुँवरलाई बोहोरासँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनको साथ त छँदैछ ।

२०७४ को निर्वाचनमा बोहोरा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादीबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । वाम गठबन्धनको सफलतापछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटपछि उनी एमालेमा बसेका हुन् । उनको लागि पार्टीभित्रको विग्रह प्रतिकूलता बनेको छ ।

प्रतिस्पर्धीको कमजोरी बुझेका कुँवर अछाम एमालेभित्रको असन्तुष्ट मत आफूले पाउने बताउँछन् । ‘पूर्वमाओवादी नेताले टिकट पाउँदा एमालेभित्र चर्को असन्तुष्टि छ’ उनी भन्छन्, ‘म पूर्वएमाले भएको र पुरानो सम्बन्ध जीवितै रहेको आधारमा पनि असन्तुष्ट मत पाउने नै छु ।’

भीम रावलले टिकट नपाएपछि एमाले क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले राजीनामा दिएका छन् । बोहोराले मनोनयन दर्ता गरेको दिन एमाले कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेर विरोध जनाएका थिए ।

अछाममा एमाले पार्टी विस्तार गरेका पुरानामध्येका नेता हुन्, शेरबहादुर कुँवर । त्यो कारण पनि जिल्लाका धेरै एमाले नेता–कार्यकर्तासँग आफू भावनात्मक रूपमा निकट रहेको उनी बताउँछन् ।

एमाले विभाजन अगाडिसम्म रावलको पक्का सहयोगी थिए कुँवर । यो पटकको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेका रावलबाट पनि आफूलाई सहयोग हुने उनको अपेक्षा छ ।

चुनावमा पराजित हुने डरले भीम रावलले कुँवरलाई प्रत्यक्षमा चुनाव लडाए । एमाले तेस्रो शक्तिमा खुम्चिएको बेला २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रावल समानुपातिकमा सुरक्षित बसेर प्रत्यक्षमा कुँवरलाई उठाउँदा जित हासिल भएको थियो ।

२०३८ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका कुँवर २०६९ देखि २०७५ सम्म एमाले अछाम जिल्ला कमिटी अध्यक्ष थिए । आफू जिल्ला अध्यक्ष हुँदा २०७० र २०७४ को चुनाव पार्टीलाई जिताएको अनुभवको आधारमा पनि यो पटक आफू सजिलै विजयी हुने आत्मविश्वास उनी सुनाउँछन् ।

२०६४ यता लगातारजसो अछामबाट संघीय सांसद रहेका कुँवर यो पटक भीम रावल प्रतिस्पर्धामा भएको भए अप्ठ्यारोमा हुनेथिए । तर, एमालेले झपट बोहोरालाई टिकट दिएर कुँवरलाई सजिलो बनाइदिएको आकलन अछाममा छ ।

त्यसो त, अछाममा बोहोरा पनि बलियो पकड भएकै नेता हुन् । २०७४ को आम निर्वाचनमा उनले १३ हजार ९३७ मत पाएका थिए । एमालेभित्रको असन्तुष्ट पक्षलाई फकाउन सके उनले बाजी मार्ने अवस्था पनि छ ।

अछाम–१ मा साँफेबगर नगरपालिका, रामारोशन, बान्नीगढी, जयगढ, चौरपाटी र मेल्लेख गाउँपालिका छन् । यीमध्ये चार स्थानीय तह नेपाली कांग्रेस र एकमा माओवादी केन्द्रको नेतृत्व छ । पाँच पालिकाका ४२ वडामध्ये समाजवादी केन्द्रले २ वटा मात्र जितेको छ । यो तथ्यांकले भने समाजवादीको सांगठनिक बलमा मात्र चुनाव जित्न कुँवरलाई मुश्किल हुने देखाउँछ ।

एमालेले पाँच पालिकाका १३ वडामा जितेकाले जितका लागि उनलाई कांग्रेस र माओवादीको भर पर्नुपर्नेछ । ‘धेरै पालिकामा कांग्रेस र माओवादी बलिया छन्’ उनी भन्छन्, ‘उनीहरूले उम्मेदवारी नदिएर मलाई जिताउन नै गठबन्धन भएको हो ।’

एमालेभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने र कांग्रेस–माओवादीको भोट एकत्रित गर्ने काम भने कुँवरले भने जस्तो सजिलो देखिंदैन ।

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतपरिणाम हेर्दा उनले प्रतिनिधित्व गर्ने एकीकृत समाजवादी २ हजार ७५२ मतसहित चौथो स्थानमा छ भने एमाले १६ हजार ९९४ मतसहित पहिलो स्थानमा ।

कांग्रेसको १६ हजार ७२८ र माओवादी केन्द्रको ६ हजार ७९० मत तान्न सकेको अवस्थामा भने अछाम–१ मा यो पटक पनि कुँवरले जित्नसक्ने अवस्था देखिन्छ ।

Full Read

अछाम - १ का उम्मेदवारहरु

२०७९ २०७४
झपट बहादुर बोहरा
अछाम, अछाम - १
बर्ष: ५४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१५०४५
शेर बहादुर कुँवर
अछाम, अछाम - १
बर्ष: ५६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी १९५३४
तेज प्रसाद शर्मा
अछाम, अछाम - १
बर्ष: ६०, पुरुष
गठबन्धन:
१७१
राजन कुँवर
अछाम, अछाम - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
४३९२
बर्ष: ३२, पुरुष
गठबन्धन:
१७१
हिकमत कुवँर
अछाम, अछाम - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
१०२
भीम वहादुर रावल
अछाम , अछाम - १
बर्ष: ६१ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २४८९३ मत
भरत कुमार स्वाँर
अछाम , अछाम - १
बर्ष: ६२ , पुरुष
गठबन्धन:

चुनावी समाचार