
जनता समाजवादी पार्टी स्थापना : पार्टी प्रमुख : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) संसदको पाँचौं ठूलो शक्ति हो । एमाले विभाजन भएर एकीकृत समाजवादी नबन्दासम्म २०७४ को जनमतका आधारमा जसपा चौथो शक्ति थियो । त्यही संसदीय हैसियतका साथ जसपा संघीय सरकारमा सहभागी भयो भने मधेश प्रदेश सरकारको नेतृत्व ग¥यो ।
तर एकता र विभाजनका क्रममा जसपा केही खुम्चिन पुगेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा जम्मा ९ वटा स्थानीय तहको प्रमुख मात्रै जितेको छ ।
आगामी चुनावमा भने जसपाले एमालेसँग गठबन्धन गरेको छ । तराई–मधेशका १४ जिल्लामा १७ सिट भागमा लिएर जसपाले एमालेसँग तालमेल गरेको छ भने एमालेलाई ३५ निर्वाचन क्षेत्रमा समर्थन गरेको छ । तालमेल बाहेक पनि जसपाले उम्मेदवारी दिएको छ ।
तालमेल र एकल गरी प्रतिनिधिसभातर्फ ८१ र प्रदेश सभातर्फ १८२ उम्मेदवार जसपाले उठाएको छ । जसपाका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलगायत नेताहरू चुनावी मैदानमा छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष राई एमालेबाट पार्टी विभाजन गरेर जसपामा आइपुगेका हुन् । केन्द्रीय कार्यकारिणी अध्यक्ष यादव मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता र समाजवादलाई जसपाले मूल एजेण्डाका रूपमा उठाउँदै आएको छ ।