पार्टीको अनुमोदनलाई जनअनुमोदनमा बदल्ने रहर
नेकपा (एमाले)का सचिव रहेका ६६ वर्षीय लेखराज भट्ट व्यवस्थापिकामा पुग्ने चौथो चुनावी दौडमा छन् । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका उनी यसअघि २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए ।
यसपटक कैलाली–४ मा भट्टलाई रोक्न नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उठेका छन् । बलायर सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
२०२८ सालमा कर्णाली विद्यार्थी हित परिषदबाट राजनीतिमा आएका भट्ट २०३८ मा अनेरास्ववियु छैटौंको कैलाली जिल्ला अध्यक्ष बने । त्यसपछि सातौं र आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०३६ सालमा नेकपा (मशाल) मा प्रवेश गरेका भट्ट २०५१ मा नेकपा (माओवादी)मा आवद्ध भएर भूमिगत भए । २०५७ मा माओवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै स्थायी कमिटी सदस्यसम्म भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिकामा उनी पार्टीका तर्फबाट सांसद बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले कांग्रेसका दीर्घराज बलायरलाई पराजित गरे ।
२०६४ सालको चुनाव जितेपछि भट्ट सुरुमा श्रममन्त्री त्यसपछि विज्ञान तथा प्रविधिमन्त्री र २०६८ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री बने ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी वाम गठबन्धनको बलमा कैलाली–५ बाट विजयी भए ।
निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता भएर एउटै पार्टी नेकपा बन्यो । उनले दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाए । नेकपा विभाजनपछि भने उनी एमालेमा लागेर फेरि केही समय मन्त्री भए ।
माओवादीमा हुँदा सधैं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट रहेका भट्ट एमालेमा पनि अध्यक्ष केपी शर्मा ओली नजिक छन् ।
नेकपा विभाजनपछि एमाले रोजेका धेरैजसो माओवादीका नेता अहिले अध्यक्ष ओलीसँग रुष्ट देखिँदा उनले सम्बन्ध सुमधुर बनाएका छन् । यसपटक त उनी एमालेको उपमहासचिव नै निर्वाचित भएका छन् ।
माओवादी आन्दोलनमा सुदूरपश्चिमको कमाण्ड सम्हालेका भट्ट अहिले एमालेको सुदूरपश्चिम हुँदै महत्वपूर्ण पदाधिकारी बनेका छन्। उनको राजनीतिक यात्रा 'प्रचण्डका सारथी' देखि 'ओलीका विश्वासपात्र' सम्म आइपुगेको छ।
चुनावी गणित
एमाले सचिव लेखराज भट्ट यसपटक आफ्नो चुनावी 'कमब्याक' को तयारीमा छन्।
कैलाली–४ मा भट्टको जित र हारको शृङ्खला निकै रोचक छ । २०७४ मा वाम गठबन्धनको बलमा १० हजार ३९९ मतान्तरले कांग्रेसका सुनिल कुमार भण्डारीलाई पराजित गरेका भट्ट २०७९ मा ३ हजार ६१२ मतान्तरले कांग्रेसका वीरबहादुर बलायरसँग पराजित बने ।
यसपटक कांग्रेसले अघिल्लो विजेता वीर बहादुर बलायरको सट्टा गोरख बहादुर विष्टलाई मैदानमा उतारेको छ। यसले कांग्रेसभित्रको स्थानीय समीकरण परिवर्तन गर्न सक्छ।
त्यस्तै, रास्वपाबाट खेमराज कोइरालाउम्मेदवार छन्। २०७९ सालमा रास्वपाले यहाँ २ हजारभन्दा बढी मत ल्याएको थियो । यसपटक बालेन्द्र शाह रास्वपामा जोडिएपछिको माहोल देख्दा मतपरिणाम बदलिने आकलन गर्न सकिन्छ ।
अघिल्लो चुनावमा यहाँ नागरिक उन्मुक्ति पार्टीका कइयाँ चौधरीले ६,२३३ मत ल्याएर भट्टलाई हराउन ठूलो भूमिका खेलेका थिए। यसपटक नागरिक उन्मुक्ति पार्टीबाट धन बहादुर सुनार मैदानमा छन्, जसले थारु र दलित मत काट्ने निश्चित छ।
अनुकूलता
पार्टी उपमहासचिव र प्रदेश इन्चार्जको रूपमा भट्टले एमालेको संगठनलाई गाउँ-गाउँसम्म सक्रिय बनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले भट्टलाई 'पार्टीको गौरव' को रूपमा व्याख्या गर्ने गरेका छन्। उनलाई जिताउन एमालेले विशेष शक्ति र संशाधन परिचालन गर्ने देखिन्छ।
कांग्रेसका नयाँ उम्मेदवार, रास्वपाका खेमराज कोइराला र नागरिक उन्मुक्तिका धन बहादुर सुनारबीच विपक्षी मत बाँडिँदा कम्युनिस्ट मत पनि विभिन्न घटकका उम्मेदवारबीच बाँडिने देखिन्छ ।
प्रतिकूलता
एमालेभित्र महाधिवेशनमा देखिएको गुटगत संघर्ष र भट्टको माओवादी पृष्ठभूमि अझै पनि चुनावी परिणाम सहज बनाउने बाटोमा उल्झन बन्न सक्छन् । माओवादीबाट आएका नेतालाई एमालेका पुराना कार्यकर्ताले अझै पूर्ण रूपमा स्वीकार गरिनसकेको अवस्था छ। यसले गर्दा 'कोर एमाले' मत सुरक्षित राख्न उनले थप कसरत गर्नुपर्नेछ।
नेकपाबाट उम्मेदवार बनेका हरिराम चौधरीले जनजाति भोटमा पकड बलियो बनाउन सक्छन् । यस क्षेत्रमा नेकपा माओवादीबाट भक्त बहादुर शाही उम्मेदवार छन्। भट्टका पूर्वसहयात्री शाहीले पुरानो माओवादी भोट काट्न सक्छन्। साथै, नागरिक उन्मुक्तिले थारु बाहुल्य क्षेत्रमा लिने मतले भट्टको समीकरण बिगार्न सक्छ।
यो पृष्ठभूमिमा, भट्टका लागि २०८२ सालको निर्वाचन 'एमालेभित्र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने' निर्णायक मोड हो। अघिल्लो हारको बदला लिने र प्रतिकूलतालाई अनुकूलतामा बदलेर आफ्नो साख जोगाउनु नै उनको मुख्य चुनौती हुनेछ।
Battleground Analysis
अनुकूलता
- बलियो सांगठनिक पकड र नेतृत्वको साथ
- विपक्षी मत विभाजनको लाभ
- राजनीतिक उचाइ
प्रतिकूलता
- आन्तरिक स्वीकार्यताको चुनौती
- भोट बैंकमा चौतर्फी प्रहार
- नयाँ शक्ति र विगतको नतिजा
राजनीतिक स्वभाव र शैली
कमान्डरको रूपान्तरण
जनयुद्धकालमा माओवादीको सुदूरपश्चिम कमान्ड सम्हालेका भट्ट, शान्ति प्रक्रियापछि प्रचण्डका 'सारथी' मानिन्थे। नेकपा विभाजनपछि उनले प्रचण्डको साथ छोडेर केपी ओलीलाई रोजे र अहिले ओलीका 'विश्वासपात्र' बनेका छन् ।
विकास र उद्योग
पटक–पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा सुदूरपश्चिममा औद्योगिक क्षेत्र विस्तार (जस्तै: दैजी छेला, दोधारा चाँदनी सुक्खा बन्दरगाह) को पहल गरेकाले 'विकासप्रेमी' छवि बनाउने प्रयास।
संगठक
माओवादी पृष्ठभूमि भए पनि एमालेको ११औं महाधिवेशनबाट सचिव निर्वाचित भएर उनले एमालेको 'कोर' संगठनमा आफ्नो पकड जमाएका छन् ।
अविचलित
माओवादी छोडेर एमालेमा आउँदा 'धोकेवाज' को आरोप खेपे पनि उनी विचलित नभई एमालेको राजनीतिमा जमिरहेका छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | कैलाली-५ | दीर्घराज बलायर | १३६३८ | १७९७९ | ४३४१ |
|
| २०७० | कैलाली-४ | दीर्घराज बलायर | १६३४६ | ९३३४ | ७०१२ | पराजित |
| २०७४ | कैलाली-४ | सुनिलकुमार भण्डारी | २०९६० | ३१३५९ | १०३९९ |
|
| २०७९ | कैलाली-४ | वीरबहादुर बलायर | २६१७१ | २२५५९ | ३६१२ | पराजित |
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
कर्णाली विद्यार्थी हित परिषदबाट राजनीति सुरु।
नेकपा (मशाल)
नेकपा (मशाल) मा प्रवेश।
भूमिगत राजनीति
नेकपा (माओवादी) मा आबद्ध भई भूमिगत।
माओवादी पदाधिकारीमा
माओवादी केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो र स्थायी कमिटी सदस्य।
संविधानसभामा जय-पराजय
२०६४ (संविधानसभा-१): कैलाली–४ बाट कांग्रेसका दीर्घराज बलायरलाई हराउँदै विजयी। श्रम तथा विज्ञान मन्त्री। २०७० (संविधानसभा-२): पराजित।
आपूर्ति मन्त्री
वाम गठबन्धनबाट विजयी। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री।
नेकपा विभाजन
प्रचण्डको साथ छोडी केपी ओली (एमाले) खेमामा।
पराजय
कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायरसँग पराजित।
एमाले उपमहासचिव
एमाले उपमहासचिवका रूपमा चौथो पटक संसदीय चुनावको मैदानमा।
लेखराज भट्टको उम्मेदवारि कस्तो लागयो ?

