अनुभवी नेतालाई जितको श्रृङ्खला जोगाउने चुनौती
सर्लाही, हरिपुर्वा नगरपालिका-९ मा जन्मिएका महिन्द्र राय यादव नेपाली राजनीतिमा नयाँ नाम होइन । २०५१ र २०५६ सालमा सर्लाही–१, २०६४ र २०७० सालमा सर्लाही–५, २०७४ र २०७९ मा सर्लाही–२ बाट उनी चुनाव लडेका थिए ।
२०६४ सालको चुनावबाहेक सबै चुनावमा जित निकालेका यादव तीन पटकसम्म मन्त्री भइसकेका छन् । २०५१ र २०५६ सालमा उनले नेकपा (एमाले)बाट चुनाव जितेका थिए ।
२०६४ को संविधानसभा चुनावमा सर्लाही–५ बाट चुनाव लडेका उनी नेपाल सदभावना पार्टीका खोभारी रायसँग पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव लडेर जित निकाले । उनले राजेन्द्र महतोलाई पराजित गरेका थिए ।
२०७४ सालकै प्रतिनिधिसभा निर्वाचनमा राजपा नेपालबाट सर्लाही-२ मा चुनाव लडे । यो चुनावमा उनले कांग्रेसका जंगीलाल रायलाई पराजित गरे ।
त्यसपछि डा. बाबुराम भट्टराई र यादव अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी नेसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेका थिए । लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै उनले जित निकाले । यादवले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका थिए ।
एसएलसीसम्मको अध्ययन पूरा गरेका यादव लोकतान्त्रिक मूल्यमा दृढ, अनुभवी र प्रक्रियामुखी राजनीतिज्ञको रूपमा पनि परिचित छन् । तर, उनलाई मन्त्री हुँदा ठूला उपलब्धि देखाउन नसकेकाले जनअपेक्षा पूरा गर्न नसकेको आलोचना हुने गरेको छ ।
नेसपाका अध्यक्ष रहेका यादव यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलमा थिए । मधेश आन्दोलनसँगै उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा आबद्ध रहे ।
डा. बाबुराम भट्टराईसँगको एकता पनि धेरै समय टिकेन । २०८० मा यादव, गंगानारायण श्रेष्ठलगायत छुट्टिएर बनेको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए ।
तर, लामो समयसम्म पनि एकता नभएपछि गंगानारायणसहितका नेता माओवादी केन्द्रमा मिल्न गएका थिए भने यादव नेसपामा नै रहेका छन् ।
यसपटकको चुनामा उनी नेपाली कम्युनिस्ट पार्टीकै चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।
२१ फागुनमा हुने निर्वाचनमा यादवसँग राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, नेपाली कांग्रेसका डा. सरोजकुमार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो प्रतिस्पर्धामा छन् ।
Battleground Analysis
अनुकूलता
- बहु निर्वाचन जितेको लामो संसदीय अनुभव ।
- स्थापित राजनीतिक पहिचान, मधेश केन्द्रित राजनीतिमा निरन्तर सक्रियता र स्थानीय जनाधार ।
- मन्त्री पदको अनुभव तथा शासन सञ्चालनको व्यावहारिक समझ ।
प्रतिकूलता
- मन्त्री हुँदा ठूला उपलब्धि नदेखिएको आरोप ।
- विभिन्न दल परिवर्तन र राजनीतिक अस्थिरताले विश्वसनीयतामा प्रश्न उठ्ने सम्भावना ।
- बहुपक्षीय प्रतिस्पर्धामा नयाँ तथा स्थापित दुवै खालका उम्मेदवारसँग कडा भिडन्त ।
महिन्द्र राय यादव को उम्मेदवारि कस्तो लागयो ?



