
राष्ट्रिय जनमोर्चा स्थापना : पार्टी प्रमुख : अध्यक्ष- चित्रबहादुर केसी
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट चुनावमा भाग लिंदैछ । सत्तारुढ पाँचदलीय गठबन्धनसँगको साझेदारीमा जनमोर्चाले बागलुङ–१ बाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ । ८० वर्षीय केसी जनमोर्चाका अध्यक्ष र पौडेल उपाध्यक्ष हुन् ।
२०७४ मा जनमोर्चा वाम गठबन्धनमा आवद्ध थियो । त्यसबेला प्यूठानबाट दुर्गा पौडेलले प्रतिनिधिसभा सदस्य जितेकी थिइन् । बाँकी क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारलाई समर्थन गरेको थियो ।
तर समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत नकटाएकाले जनमोर्चा राष्ट्रिय दल बन्न सकेन । २०७४ मा गठबन्धनको चुनावी संस्कृति नबन्दा समेत जनमोर्चा एक्लै उम्मेदवार उठाउने र संसदमा सहभागी हुने गरेको थियो । गठबन्धनमार्फत दलहरू चुनावी प्रतिस्पर्धामा उत्रन थालेपछि जनमोर्चाले पनि कित्ता प्रष्ट पार्न थालेको हो । जनमोर्चा अहिले पनि संघीयता खारेजी गर्नुपर्ने एजेण्डामै अडिग छ ।