संसदीय भूगोल फेरेर सत्ताको बागडोर सम्हाल्ने लक्ष्य
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै गगनकुमार थापाले आफ्नो संसदीय राजनीतिको भूगोल परिवर्तन गरेका छन्।
विगत १५ वर्षदेखि काठमाडौं-४ लाई आफ्नो राजनीतिक आधारक्षेत्र बनाएका थापा यसपटक ‘मधेसको आवाज सिंहदरबारमा सुनाउने’ संकल्पका साथ सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका छन्।
२०३३ साउनमा काठमाडौंमा जन्मिएका गगनकुमार थापा रातोपुलका स्थायी बासिन्दा हुन् । जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले गरेको आगजनीबाट घरमा क्षति पुगेपछि हाल उनी बुढानीलकण्ठमा अस्थायी बसोवास गर्दै आएका छन् ।
सभापति थापा कांग्रेसको विद्यार्थी संगठनको क्रियाशील हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । नेविसंघमा संगठित भएर २०४६ सालको जनआन्दोलन उनी सहभागी भए । २०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री बने । नेविसंघको राजनीति गर्दै उनले स्नातकोत्तरसम्म अध्ययन सके ।
२०५१ सालमा नेकपा (एमाले)को अल्पमतको सरकार भएको समय नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा थापा पहिलो पटक हिरासतमा परेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि भएका विरोधमा उनी पटक पटक हिरासतमा परे ।
२०५९–२०६३ को अवधिमा सडक प्रदर्शनका क्रममा उनलाई पक्राउ गरेर तत्कालीन सत्ताले दुईपटक राजद्रोहको मुद्दा चलाएको थियो । पार्टीलाई गणतन्त्रको पक्षमा उभ्याउन उनले सडकबाट दबाब सिर्जना गर्न सक्रिय भूमिका खेले ।
पार्टीको केन्द्रीय राजनीतिमा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४ औं महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए ।
संसदीय यात्रा चाहिं २०६४ सालमा संविधानसभामा समानुपातिक सभासदबाट सुरु भए पनि थापाले चुनावी प्रतिस्पर्धा २०७० सालबाट सुरु गरेका थिए । त्यसयता काठमाडौं–४ बाट जित्दै आएका थिए ।
दोस्रो संविधानसभाबाट निर्वाचित भए लगत्तै उनले संसदीय समितिको सभापतिको भूमिका समेत निर्वाह गरेका थिए । संसदको कृषि तथा जलस्रोत समितिका सभापति बने ।
सभापति थापा चारपटक सांसद हुँदा एकपटक मन्त्री हुने अवसर समेत प्राप्त गरेका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदा (२०७३ सालमा) सभापति थापा स्वास्थ्यमन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा गरेका सुधारको प्रशंसा हुँदै आएको छ ।
विद्यार्थी राजनीतिको मूल नेतृत्वमा पुग्न नसकेका उनी विशेष महाधिवेशनको बलमा पार्टी सत्ताको नेतृत्वमा पुगेका छन् । पार्टी सभापति बनेसँगै उनी मधेसमा झरेका छन् । ‘मधेसको आवाज सदन, सिंहदरबारमा सुनाउन र नेपाल जोड्न’ आफू मधेसमा प्रतिस्पर्धा गर्न आएको मतदातालाई बताइरहेका छन् ।
नवनिर्वाचित केन्द्रीय समितिले चुनावपछिको प्रधानमन्त्रीका रूपमा सभापति थापालाई अघि सारेको छ । सभापति थापाका लागि पूर्व कांग्रेस अमरेशकुरमार सिंह लगायत अन्य उम्मेदवार प्रतिस्पर्धी छन् ।
चुनावअघिको गठबन्धनको विपक्षमा रहेका उनले सभापति बनेसँगै निर्वाचन अघिको गठबन्धन नगर्ने निर्णय गरेका छन् । यसपटक कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार बनाएको छ ।
थापाले प्रखर, स्पष्ट वक्ता र समसामयिक विषयमा तार्किक रुपमा उठाउन सक्ने नेताको छवि बनाएका छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको सर्वोच्च पदमा पुगेका उनी सुझबुझपूर्ण राजनीति गर्ने नेतामा विश्लेषण हुने गरेको छ । संसदमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रका मुद्दामा खरो रूपमा उत्रने उनको शैली छ ।
चुनावी गणित
यसपटक सभापति थापाले 'निर्वाचन पूर्वको गठबन्धन' नगर्ने नीति लिएका छन्, जसका कारण कांग्रेस देशभरका १६५ वटै क्षेत्रमा एक्लै लडिरहेको छ। सर्लाही-४ मा उनीसँग पूर्व कांग्रेस नेता अमरेशकुमार सिंह रास्वपाबाट चुनाव लड्दैछन् । मधेस झरेका थापालाई 'टुरिस्ट उम्मेदवार' को आरोप चिर्दै स्थानीय भावनासँग जोडिनु मुख्य चुनौती हुनेछ।
Battleground Analysis
अनुकूलता
- प्रखर वक्ता: समसामयिक विषयमा तार्किक र स्पष्ट धारणा राख्न सक्ने।
- युवा लोकप्रियता: जेनजी र युवा पुस्तामाझ बलियो पकड।
- एजेन्डा केन्द्रित: शिक्षा, स्वास्थ्य र सुशासनमा स्पष्ट मार्गचित्र।
- प्रधानमन्त्रीको दाबेदार: पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकाले मतदातामा उत्साह।
प्रतिकूलता
- क्षेत्र परिवर्तनको जोखिम: अपरिचित भूगोल (सर्लाही) मा संगठन र मतदातासँगको तत्कालै तालमेल मिलाउन कठिन हुनसक्ने।
- आन्तरिक असहजता: स्पष्ट र आलोचनात्मक शैलीका कारण पार्टीभित्रकै केही पक्षबाट असहयोग हुनसक्ने जोखिम।
- मधेसी मतदाताको मनोविज्ञान बुझ्ने र सम्बोधन गर्ने चुनौती
राजनीतिक स्वभाव र शैली
बौद्धिक र तार्किक प्रस्तुति
थापा आफ्ना कुराहरू तथ्य, तथ्याङ्क र तर्कका आधारमा राख्न माहिर मानिन्छन्। उनी सदनमा होस् वा सार्वजनिक मञ्चमा, विषयवस्तुको गहिरो अध्ययन गरेर बोल्ने शैलीका कारण युवा पुस्तामाझ निकै लोकप्रिय छन्।
आक्रामक र स्पष्ट वक्ता
उनी अन्याय र बेथितिका विरुद्ध प्रखर रूपमा प्रस्तुत हुन्छन्। आफ्नै पार्टी सत्तामा रहँदा समेत सरकारका गलत निर्णयको आलोचना गर्न नहिचकिचाउने उनको 'विद्रोही' स्वभावले उनको फरक छवि बनाएको छ ।
परिवर्तन र पुस्तान्तरणका संवाहक
उनी नेपाली राजनीतिमा 'पुस्तान्तरण'को मुद्दालाई कडा रूपमा उठाउने नेता हुन्। पुरानो कार्यशैलीलाई त्यागेर प्रविधिमैत्री र आधुनिक राजनीतिक संस्कार बसाल्ने एजेन्डाको व्यवहारिक रुपान्तरण गरेका छन् ।
नीतिगत बहस र भिजन
उनी केवल भाषणमा मात्र सीमित नभई 'स्वास्थ्य बिमा' जस्ता नीतिगत सुधारका काममा पनि सक्रिय देखिन्छन्। देशको विकासका लागि स्पष्ट 'रोडम्याप' हुनुपर्छ भन्ने मान्यता राख्दै उनले विभिन्न समयमा 'प्रोजेक्ट नेपाल' जस्ता अवधारणामा बहस चलाउने गरेका छन्।
कार्यकर्ता र जनतासँगको निकटता
थापा सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाट दुवै माध्यमबाट जनतासँग निरन्तर जोडिने प्रयास गर्छन्। युवाहरूको भावना बुझ्न सक्ने र उनीहरूको आवाजलाई राजनीतिक मूलधारमा ल्याउन सक्ने क्षमतालाई उनको मुख्य शैली मानिन्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधान सभा सदस्य निर्वाचन २०६४ | समानुपातिक |
|
||||
| संविधान सभा सदस्य निर्वाचन २०७० | काठमाडौं-४ | निर्मल कुइँकेल | ९१३५ | २२३३६ | १३२०१ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ | काठमाडौं-४ | राजन भट्टराई | १८१४० | २१५५८ | ३४१८ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | काठमाडौं-४ | राजन भट्टराई | १३८५५ | २१३०२ | ७४४७ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
२०४६ सालमा नेविसंघमा आबद्ध । २०५१ - २०५३: त्रि-चन्द्र क्याम्पसको स्ववियु सदस्य र पछि सचिव। २०५५: त्रि-चन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित। यहीँबाट उनको वक्ता र सडक आन्दोलनकारीको छवि स्थापित भयो। २०५९: नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय महामन्त्री नियुक्त।
गणतन्त्रको प्रखर आवाज
२०६१/६२: तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध सडकमा गणतन्त्रको नारा लगाउने थोरै युवा नेतामध्ये एक। उनले कांग्रेसभित्र ‘गणतन्त्र’ को बहस छिराउन महत्वपूर्ण भूमिका खेले। २०६२/६३: जनआन्दोलन-२ का क्रममा पटक-पटक पक्राउ र जेल सजाय। उनी आन्दोलनको ‘युवा आइकन’ बने।
संसदीय यात्रा र नीतिगत हस्तक्षेप
२०६४: पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद नियुक्त। उनले संविधान निर्माण प्रक्रियामा युवाका एजेन्डा र मौलिक अधिकारका विषयमा प्रखर वकालत गरे। २०७०: दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित। २०७१: संसदको कृषि तथा जलस्रोत समितिको सभापति। यो अवधिमा उनले नीतिगत सुधारका धेरै प्रयास गरे।
कार्यकारी भूमिका र मन्त्रालय
२०७३ भदौ – २०७४ जेठ: पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री नियुक्त। विशेष योगदान: स्वास्थ्य बिमा ऐन ल्याउनु, सरकारी अस्पतालको सुधार, र मिर्गौला, क्यान्सर जस्ता कडा रोगको उपचारमा सहुलियत दिने जस्ता लोकप्रिय कामहरू।
पार्टीको नेतृत्वदायी भूमिका
२०७४: प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट भारी मतान्तरले पुनः निर्वाचित। २०७८ मंसिर: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भारी मतका साथ केन्द्रीय महामन्त्री पदमा निर्वाचित। उनले ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ को भिजन डकुमेन्ट अघि सारेका थिए।
प्रश्न गरेर पार्टी सभापति
२०७९ मंसिर: प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट लगातार तेस्रो पटक विजयी। २०७९ पुस: पार्टीभित्र संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धा (पराजित)। २०८२ : विदेश महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित ।
गगनकुमार थापाको उम्मेदवारि कस्तो लागयो ?
