
नेपाली कांग्रेस स्थापना : पार्टी प्रमुख : शेरबहादुर देउवा
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले यो चुनावमा प्रतिनिधिसभातर्फ ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेकाले बाँकी सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई छोडेको छ । कांग्रेसले प्रदेशसभातर्फ सात प्रदेशमा ३३० मध्ये १७७ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेको कांग्रेस पुरानो संसदीय पार्टी हो । कांग्रेसले २०१५ सालदेखि चुनावमा भाग लिंदै आएको छ । २०१५ सालमा १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट जितेको थियो । यो चुनावपछि पार्टीका संस्थापक बीपी कोइराला प्रधानमन्त्री भए ।
२०४८ सालमा २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११० क्षेत्र जित्यो । कांग्रेसले २०५१ को मध्यावधिमा ८३ र २०५६ सालको आमनिर्वाचनमा ११३ सिट जितेको थियो ।
२०६४ सालमा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । तर कांग्रेसले ३७ सिट मात्रै जित्दै दोस्रो शक्ति बन्यो । २०७० मा १०५ सिट जित्यो । २०७२ को संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेर पार्टी विभाजन हुन पुग्दा सभापति शेरबहादुर देउवा २९ असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री भए ।
२०६५ सालमा गणतन्त्र स्थापना नहुँदासम्म कांग्रेस सत्तामा जाने र फेरि व्यवस्था परिवर्तनको आन्दोलन गर्ने चक्र लामो समय चलिरह्यो । २००७ सालमा राणाशासन अन्त्य भएपछि २०१५ सालमा बनेको बीपी कोइराला नेतृत्वको सरकारलाई राजा महेन्द्रले ‘कु’ गरेका थिए ।
महेन्द्रले निर्दलीय पञ्चायत सुरु गरेपछि कांग्रेस बहुदलको पक्षमा संघर्षमा होमियो । २०४६ मा कांग्रेसकै नेतृत्वमा संयुक्त आन्दोलन भयो । २०१७ मा गुमेको प्रजातन्त्र २६ चैत २०४६ को मध्यरातमा पुनस्र्थापित गर्न तत्कालीन राजा वीरेन्द्र शाह तयार भए ।
जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो ।
२०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भयो । शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर ज्ञानेन्द्र शाहले फेरि प्रत्यक्ष शासन सुरु गरेपछि २०६२÷६३ सालमा संयुक्त जनआन्दोलन भयो । राजतन्त्रको अन्त्य भयो ।
फेरि दुई कांग्रेसबीच एकता भयो । गणतन्त्र स्थापनापछि पार्टी सभापतिहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आदर्श मान्ने कांग्रेसले आगामी मंसिर ४ को चुनावपछि फेरि सरकारको दावी गरिरहेको छ ।