एमालेको संगठन र आफ्नै प्रभावमा 'कमब्याक'को रणनीति
बाँके–२ मा एमालेबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उठेका थिए। त्यतिबेला उनी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार थिए।
कात्तिक २०३६ मा बाँकेमा जन्मिएका राईको राजनीतिक यात्रा २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको हो। राई २०६२/०६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) मा प्रवेश गरे। त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भए। आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार भएर हिरासतमा बसे।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट उम्मेदवारी दिएका उनी बाँके–२ बाट निर्वाचित भए। २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बने। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए।
२०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री भए। २०७८ मा सर्वोच्च अदालतको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मुस्लिम समुदायका इश्तियाक नेपालगन्जमा धार्मिक–सांस्कृतिक सद्भाव फैलाउने अभियानमा पनि सक्रिय छन्।
२०७९ मा २३ हजार ५२० मतसहित दोस्रो स्थानमा आएका इश्तियाक २०८१ मा जसपा नेपाल विभाजन हुँदा अशोक राई नेतृत्वको जसपामा लागेका थिए। जसपाको महासचिवसमेत बनेका उनी पछिल्लो समय एमालेमा प्रवेश गरेसँगै पार्टीले उनलाई टिकट दिएको हो।
यो क्षेत्रमा गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले ९ हजार ३४५ मत प्राप्त गरेको थियो। यसपटक यहाँ नेपाली कांग्रेसले सुधान्सु कोइराला, नेपाल कम्युनिष्ट पार्टीले दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीले विवेककुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ऋषिराज देवकोटा र जसपा नेपालले कमरुद्दीन राईलाई उम्मेदवार बनाएको छ।
Battleground Analysis
अनुकूलता
- इश्तियाकको २३ हजार र एमालेको ९ हजार मत जोड्दा ३२ हजार पुग्छ, जुन जित्नका लागि पर्याप्त हुन सक्छ।
- नेपालगन्जलाई आधुनिक सहर बनाउन मन्त्री हुँदा गरेको योगदानको प्रचार।
- एमाले जस्तो ठूलो संगठन भएको पार्टीको साथ।
प्रतिकूलता
- एमालेको विचारधारा र मुस्लिम समुदायको परम्परागत मतबीच तालमेल नहुँदा केही 'कोर' मुस्लिम भोट कमरुद्दीन राई (जसपा) वा कांग्रेसतिर जान सक्ने खतरा।
- पटक-पटक पार्टी फेरेको कारण मतदातामा "अवसरवादी" भन्ने छाप।
- नेपालगन्जमा राप्रपा (धवलशमशेर राणा) को प्रभाव अझै बलियो हुनु।
राजनीतिक स्वभाव र शैली
सत्ताका केन्द्र
मधेसी जनअधिकार फोरमदेखि जसपा र अहिले एमाले। उनी जुनसुकै दलमा रहे पनि सत्ता र शक्तिको वरिपरि रहन सफल छन्। झलनाथ खनाल, केपी ओली र शेरबहादुर देउवा तीनै जनाको मन्त्रिपरिषदमा मन्त्री बन्नुले उनको 'लचकता' र 'बार्गेनिङ पावर' देखाउँछ।
विकासको कार्ड
शहरी विकास मन्त्री हुँदा नेपालगन्जमा ल्याएका सडक र पूर्वाधारका योजनाहरू उनको मुख्य चुनावी अस्त्र हुन्। उनी आफूलाई 'काम गर्ने नेता' भनेर चिनाउँछन् ।
धार्मिक सन्तुलन
मुस्लिम समुदायको प्रतिनिधित्व गरे पनि हिन्दु-मुस्लिम मिश्रित बसोवास रहेको नेपालगन्जमा 'धार्मिक सद्भाव' को राजनीति गर्नु उनको बाध्यता र खुबी दुवै हो।
दल बदलु
राप्रपाबाट सुरु भई फोरम, जसपा, अशोक राई समूह हुँदै अहिले एमालेमा प्रवेश गर्नुले उनीमाथि 'अवसरवादी' को ट्याग पनि लाग्ने गरेको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | बाँके-२ | दिनेशचन्द्र यादव | ४,५६५ | १९,३९६ | १४,८३१ |
|
| २०७० | बाँके-२ | दिनेशचन्द्र यादव | १२,५८६ | ७,८४४ | 4742 | पराजित |
| २०७४ | बाँके-२ | पशुपति दयाल मिश्र | १५९५१ | २१५७५ | ५६२४ |
|
| २०७९ | बाँके-२ | धवलशमशेर राणा | २९५७७ | २३५२० | ६०५७ | पराजय |
राजनीतिक टाइमलाइन
राजनीतिक यात्रा सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजनीति सुरु।
पश्चिमबाट मधेश आन्दोलनको नेतृत्व
मधेश आन्दोलनका क्रममा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) मा प्रवेश। केन्द्रीय सचिव।
पहिलो संसदीय जित
बाँके–२ बाट फोरमको उम्मेदवार भई विजयी।
मन्त्री
श्रम तथा यातायात व्यवस्था मन्त्री (झलनाथ खनाल सरकार)।
पराजय
बाँके–२ मा पराजित।
शहरी विकास मन्त्री
तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी। केपी ओली सरकारमा शहरी विकास मन्त्री।
फेरि मन्त्री
शेरबहादुर देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री।
पराजय
जसपाबाट उम्मेदवार, २३,५२० मतसहित दोस्रो स्थान (राप्रपाका धवलशमशेर राणासँग पराजित)।
पार्टी विभाजन
जसपा विभाजनमा अशोक राई समूहमा (महासचिव)।
एमाले प्रवेश
एमालेमा प्रवेश र बाँके–२ बाट सूर्य चिन्हसहित उम्मेदवार।
मोहम्मद इश्तियाक राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


