Home Candidate बीना मगर

दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बन्ने धोको

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
बीना मगर
कञ्चनपुर - १ उम्मेदवार

बीना मगर

महिला , ४२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
११११० मत
Profile Election History
Profile Election History

बिना मगरको जन्म २०४० साल मङ्सिर २२ गते कञ्चनपुरको पुनर्वास नगरपालिका (साविक त्रिभुवन वस्ती) मा भएको हो। उनी चन्द्रबहादुर र सावित्रीमायाकी जेठी छोरी हुन्।

बिनाले पुनर्वासकै अरनिको बस्तीस्थित अरनिको प्राथमिक विद्यालयबाट शिक्षारम्भ गरिन्। पुनर्वासकै गौरीशङ्कर निम्न मावि हुँदै जनता मावि (पुनर्वास) बाट उनले माध्यमिक तहको शिक्षा पूरा गरिन्। उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन्।

सानै उमेरमा ‘जनबालकलाकार’ को भूमिकाबाट राजनीतिमा प्रवेश गरेकी बिना कञ्चनपुरमा विद्यार्थी राजनीति गर्ने क्रममा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष बनिन्।

काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य पदमा अत्यधिक मतले जितेकी बिना २०६० सालमा तत्कालीन विद्रोही माओवादीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्ष भएकी थिइन्।

माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई तत्कालीन शाही नेपाली सेनाले काठमाडौंबाट गिरफ्तार गर्‍यो। उनले भैरवनाथ गणमा २७ महिनासम्म चरम यातना सहनुपर्‍यो। विद्रोही माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि बिना फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष बनिन्। २०६४ सालको स्ववियु निर्वाचनमा सरस्वती क्याम्पस लैनचौरको सभापतिमा उनी लोकप्रिय मतका साथ विजयी भएकी थिइन्।

बिनासँग माओवादीको केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। बिनाले दोस्रो संविधानसभा निर्वाचन (२०७०) बाट संसदीय यात्राको थालनी गर्ने अवसर पाए पनि सफल हुन सकिनन्। त्यसबेला उनी नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टसँग कञ्चनपुर–१ बाट पराजित भइन्।

प्रतिनिधिसभा निर्वाचन–२०७४ बाट बिनाको संसदीय यात्रा सुरु भयो। उनी कञ्चनपुर–१ बाट निर्वाचित भइन्। निर्वाचनको प्रचारप्रसारकै क्रममा बिनाले जीवनसाथी प्रकाश दाहाललाई गुमाउनुपर्‍यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो। २०७४ को निर्वाचनमा खटिएका बेला बिनाका श्रीमान् प्रकाशको हृदयघातबाट निधन भएको थियो। उनीहरूको एक सन्तान (छोरा) छन्।

२०७४ मा चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस नेता दिवानसिंह विष्टलाई नै पराजित गरेर बिना संसदीय यात्राको पदार्पण गर्न सफल भइन्। ३८ हजार ४७६ मतसहित उनी प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा विष्टले १९ हजार २१९ मतमा चित्त बुझाउनुपरेको थियो। २०७४ को निर्वाचनमा बिना आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेल थियो।

कञ्चनपुर–१ बाट निर्वाचन जितेर संसदीय यात्राको सुरुवात गरेकी बिनाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाइन्।  

मन्त्री छँदा बिनाले आफ्ना घरबेटी शारदाप्रसाद अधिकारीको ‘शैलुङ कन्स्ट्रक्सन’ लाई मेलम्ची खानेपानीको पाइप बिछ्याउने बूढानीलकण्ठ क्षेत्रको परियोजना दिएपछि पनि आलोचना खेप्नुपरेको थियो।  

यसपटक बिना आफ्नो गृहक्षेत्र कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रत्यक्षतर्फको उम्मेदवार छिन्। यो क्षेत्रमा उनीसँगै एमालेबाट तारालामा तामाङ (साविक विजेता), कांग्रेसबाट गोपीप्रसाद उपाध्याय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनकसिंह धामी चुनावी प्रतिस्पर्धामा छन्।

स्मरणीय छ, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पनि बिना यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी थिइन्। तर, उनको संसदीय यात्रामा एमालेका तारालामा तामाङ तगारो बनेका थिए। तामाङ २४ हजार ९४३ मतका साथ विजयी हुँदा दोस्रो भएकी बिनाले १९ हजार ४०० मत प्राप्त गरेकी थिइन्। उक्त निर्वाचनमा उनी सत्ता गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी) की साझा उम्मेदवार थिइन्। 

Battleground Analysis

अनुकूलता

  • सङ्घर्षपूर्ण विगत र ‘कोर’ माओवादी मत
  • सुदूरपश्चिमको सशक्त महिला नेतृत्व
  • केन्द्रीय पहुँच र स्रोत

प्रतिकूलता

  • मन्त्री हुँदाको विवादित छवि
  • गठबन्धन हुँदा पनि पराजित इतिहास
  • नातावादको आरोप
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेपाली कम्युनिष्ट पार्टी
सरकारको अनुभव
खानेपानीमन्त्री (२०७४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० कञ्चनपुर–१ दिवानसिंह विष्ट १०२९४ ९१५१ ११४३ पराजित
२०७४ कञ्चनपुर–१ दिवानसिंह विष्ट १९२१९ ३८४७६ १९२५५ विजयी
२०७९ कञ्चनपुर–१ तारा लामा तामाङ २४९४३ १९४०० ५५४३ पराजित

बीना मगरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित