बलियो संगठनको बलमा जित दोहोर्याउने रहर
धादिङको खनियाबास गाउँपालिका–२, झार्लाङमा वि.सं. २०२५ भदौ २५ गते जन्मिएका तारालामा तामाङ हाल कञ्चनपुरको पुनर्वास नगरपालिका–३, रामबस्तीका स्थायी बासिन्दा हुन्। साधारण किसान परिवारमा हुर्किएका तामाङले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार हुन्।
कक्षा ९ मा अध्ययनरत रहँदा २०४३ सालमै अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्यता लिएका तामाङ २०४७ सालमै तत्कालीन अनेरास्ववियु (पाँचौँ) को जिल्ला कमिटी सदस्य बनिसकेका थिए। २०४८ सालमा नेकपा एमालेको सदस्यता पाएका उनी २०४९ सालको आम निर्वाचन र त्यसअघिका स्थानीय तह निर्वाचनमा १८ वर्षकै उमेरमा प्रचार संयोजकको जिम्मेवारी सम्हालेर खटिएका थिए।
२०५१ देखि २०५४ सालसम्म स्थानीय विद्यालयमा शिक्षण पेसामा आबद्ध तामाङले पछि राजीनामा दिएर पार्टीको पूर्णकालीन राजनीतिमा आफूलाई समर्पित गरे। २०५३ सालमा कालिका गाउँ कमिटी सचिव बनेका उनी २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन कालिका गाविसको अध्यक्षमा निर्वाचित भए। सो समयमा उनी सुदूरपश्चिमकै कान्छा गाविस अध्यक्ष बनेका थिए।
पार्टी सङ्गठनमा निरन्तर सक्रिय तामाङ २०५५ सालमा जिल्ला कमिटी सल्लाहकार बने। २०६३ सालमा निर्वाचन क्षेत्रीय कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनी २०६६ सालदेखि दुई कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै सोही वर्ष एमाले कञ्चनपुर जिल्ला कमिटी सचिव बने। २०६९ सालमा जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका तामाङ २०७५ सालमा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कञ्चनपुरको सह–संयोजक बने।
यससँगै २०६४ देखि २०७१ सालसम्म पार्टीको सहकारी विभाग सदस्यका रूपमा काम गरेका तामाङ सहकारी अभियानबारे जानकार नेताको पहिचान बनाएका छन्। उनी २०६३ सालमा राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक सदस्यसमेत रहेका थिए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि रहेका तामाङसँग स्थानीय तह, प्रदेश हुँदै सङ्घीय संसदसम्म काम गरेको अनुभव छ।
२०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित तामाङले नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाले। २०७८ सालमा उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीमा नियुक्त भए। मन्त्री रहँदा उनले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका थिए। एमाले विभाजनपछि केही समय नेकपा एकीकृत समाजवादीमा रहेका तामाङ पछि पुनः एमालेमै फर्किए।
२०७९ सालको सङ्घीय निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङले विघटित संसद्को सार्वजनिक लेखा समितिमा रहेर काम गरे। गत निर्वाचनमा उनले २४ हजार ९४३ मतका साथ विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी बिना मगरले १९ हजार ४०० मत प्राप्त गरेकी थिइन्। त्यसबेला बिना मगरलाई कांग्रेस र एकीकृत समाजवादीको साथ थियो।
आसन्न निर्वाचनमा कञ्चनपुर–१ बाट तामाङसँगै नेपाल कम्युनिस्ट पार्टीकी पूर्वमन्त्री बिना मगर, नेपाली कांग्रेसका गोपी उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका जनक धामीसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रस्तुति: मदन गिरी
Battleground Analysis
अनुकूलता
- विगतको जितको मनोबल
- अनुभवी र ‘टेस्टेड’ नेता
- सङ्गठनात्मक आधार
प्रतिकूलता
- राजनीतिक अस्थिरताको आरोप
- ‘एन्टि–इन्कम्बेन्सी’ फ्याक्टर
- त्रिपक्षीय प्रतिस्पर्धा
तारा लामा तामाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


