Home Candidate सुधन गुरुङ

जेनजी आन्दोलनले चिनाएका गुरुङ संसद् छिर्ने प्रयासमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सुधन गुरुङ
गोरखा - १ उम्मेदवार

सुधन गुरुङ

पुरुष , ३८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

 

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन्- सुधन गुरुङ । नेतृत्वविहीन आन्दोलनको मोर्चा सम्हाल्दै नेतृत्व दिनेमा उनी अगाडि देखिन थाले ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रिपरिषद् विस्तारसम्म जोडिएका तिनै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ मा उम्मेदवार दिएका छन् ।  

चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भए पनि उनको जन्म काठमाडौँमा भयो । २०४४ सालमा जन्मिएका उनले गाउँले जीवनसँग घुलमिल हुने अवसर सायदै पाए । बाल्यकाल सहरमै बित्यो । पढाइ उतै गरे । मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि विपद् सम्बन्धी तालिम लिए अनि सहजकर्ताको रूपमा काम गर्न थाले ।

विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गए । सामाजिक कार्यमा अग्रसर हुन थाले । २०७२ सालको गोरखा भूकम्पपश्चात् उनले ‘हामी नेपाल’ नामक संस्था खोले र राहत तथा उद्धारमा खटिए । देश विदेशका विभिन्न संघसंस्थासँग उनी जोडिन पुगे ।

‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङले भने, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’ २०७२ को भूकम्पमा उद्धार र राहतका कार्यक्रम लिएर गोरखासहित अन्य प्रभावित जिल्लाहरू पुगेको उनी बताउँछन् ।

घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्‌मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्‍यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।

सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो ।

आन्दोलनपछि बढी चर्चामा आएका उनी बालेन्द्र शाहसँगै रास्वपामा मिसिए । सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए ।

उनी यतिबेला चुनावी घरदैलो अभियान लिएर आफ्नो निर्वाचन क्षेत्र घुमिरहेका छन् । जेनजीका मागहरू पूरा गर्न आफू चुनावमा होमिएको उनी बताउँछन् । ‘जेनजीका मागहरू पूरा भएका छैनन्, अहिलेको अन्तरिम सरकारले पनि आन्दोलनको मर्म बुझ्न सकेन,’ उनले भने, ‘आन्दोलनमा होमिएकाले मात्र मर्म बुझ्न सक्छ भनेर म आफैँ चुनावमा उठेको हुँ ।’

आफ्नै गाउँठाउँबाट चुनाव लड्ने अठोटसहित उम्मेदवारी दिएको उनले बताए । भने, ‘काठमाडौँमा जन्मिए पनि आफ्नो जरा समाउनुपर्छ भनेर गोरखा आएँ, जहाँ विकास भएको छैन त्यहाँबाट जितेर राज्यको नजर पार्न यो क्षेत्र रोजेको हुँ ।’

जेनजी आन्दोलनपश्चात् मात्र चर्चामा आएका गुरुङलाई चुनाव जित्न त्यति सहज देखिँदैन । काठमाडौँमा जन्मिएर उतै हुर्केका उनी आफ्नै पुर्ख्यौली थलोसँग त्यति चिरपरिचित छैनन् । माओवादीको राम्रै वर्चस्व भएको यो क्षेत्रमा जितका लागि राम्रै कसरत गर्नुपर्ने देखिन्छ ।

यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरिराज अधिकारी, समाजसेवीको रूपमा आफूलाई परिचित गराएका नेपाली कांग्रेसका प्रेम खत्री र एमालेका आरसी लामिछाने गुरुङका प्रतिस्पर्धी छन् । यसअघिका चुनावमा व्यक्त मतका आधारमा एमाले गोरखामा कमजोर रहेकाले गुरुङको मुख्य प्रतिस्पर्धीको रूपमा नेकपाका अधिकारी र कांग्रेसका खत्री देखिन्छन् ।

विगतलाई फर्केर हेर्दा २०७४ सालको निर्वाचनमा गोरखा–१ मा कांग्रेस माओवादीसँग पराजित बनेको थियो । माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गठबन्धन गरेको थियो । २०७९ सालको निर्वाचनमा भने सो क्षेत्रमा कांग्रेस विजयी बन्यो तर माओवादी केन्द्रसँग गठबन्धन गरेर । गोरखा–२ प्रचण्डले लिए भने १ कांग्रेसको भागमा परेको थियो ।

तर अहिले दलहरूबीच चुनावी गठबन्धन छैन । उम्मेदवारहरूको असली परीक्षा यसपटक हुँदैछ । प्रतिस्पर्धी दलहरूको सूचीमा रास्वपा पनि थपिएको छ । रास्वपाबाट उम्मेदवारी दिएका गुरुङ देश र गाउँको समस्या नै आफ्नो मुख्य प्रतिस्पर्धी रहेको बताउँछन् । ‘उम्मेदवारहरू मेरो प्रतिस्पर्धी होइनन्, गाउँको समस्यासँग मेरो प्रतिस्पर्धा हो,’ उनले भने ।

आन्दोलनबाट आएकाले आफूले सबैको ‘सपोर्ट’ पाउने उनको अपेक्षा छ । अन्तरिम सरकार गठनपश्चात् मन्त्री बन्ने अवसरलाई इन्कार गरेको बताउँदै उनले आफूमा कुनै लोभलालच नभएको जिकिर गरे । भने, ‘जेनजी आन्दोलनमा देशको समस्याप्रति उभिने पहिलो व्यक्ति हुँ म, देशको समस्याप्रति मात्र म केन्द्रित छु, त्यसैले सबैले सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ ।’

प्रस्तुतीः बिकास मरहट्टा

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • आन्दोलनको नेतृत्व र त्याग
  • सामाजिक कार्यको अनुभव
  • परिवर्तनको लहर

प्रतिकूलता

  • ‘टुरिस्ट’ उम्मेदवारको आरोप
  • बलियो प्रतिस्पर्धी
  • संगठनको अभाव
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

सुधन गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

सुधन गुरुङ
प्रेमकुमार खत्री नेपाली कांग्रेस
VS