नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वसांसद हरिराज अधिकारीलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको टिकट दिएको छ । २०७४ सालको निर्वाचन जितेका उनी अहिले पुनः सांसद बन्ने लक्ष्यसहित चुनावी मैदानमा छन् ।
गोरखाको गण्डकी गाउँपालिका-५ दर्बुङस्थित अलैंचेमा जन्मेका अधिकारीको बाल्यकाल गाउँमै बित्यो । भवगती माविमा कक्षा ७ को अध्ययनपश्चात् उनी विजय भवानी मावि मकैसिङ गए । कम्युनिस्ट शिक्षा प्रचार गरेको भन्दै उनलाई विद्यालयबाटै निकालियो ।
‘त्यतिबेला म कक्षा ९ मा पढ्थें,’ अधिकारीले भने, ‘कम्युनिस्ट शिक्षा प्रचार गर्यो, अवैध गतिविधि गर्यो भनेर मलाई स्कुलबाट निकालियो, अनि घ्याच्चोक गएर एसएलसी दिएँ ।’
अध्ययनलाई निरन्तरता दिन उनी गोरखा क्याम्पसमा आईएड भर्ना भए । ब्याक पेपर भएका कारण नेपालगञ्ज गए र महेन्द्र बहुमुखी क्याम्पसमा पुनः आईएडमा भर्ना गरे । त्यसपछि गोरखा क्याम्पस आएर बीएडमा भर्ना भए, त्यहींबाट स्नातक उत्तीर्ण गरे ।
विगतका अनुभव र आफूले थालनी गरेका विकास निर्माणका कामहरू नै जितको मुख्य आधार रहेको बताउने अधिकारी दोस्रो पटक संसद् प्रवेश गर्ने उद्देश्यका साथ चुनावी मैदानमा छन् ।
अधिकारीको राजनीतिक यात्रा २०४१ सालबाट सुरु भएको हो । नेकपा मसालको पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका उनी २०४५ सालमा पार्टीको जिल्ला सदस्य हुँदै २०४७ सालमा तत्कालीन जनमोर्चाको जिल्ला सचिव भए । २०४३ सालदेखि २०४५ सालसम्म गोरखा क्याम्पसको स्ववियु सभापतिसमेत भए ।
२०५४ सालमा पार्टीको उपब्युरो सदस्य बनेका अधिकारी केन्द्रीय सदस्य हुँदै जनयुद्धको समयमा ब्रिगेड कमिसारसमेत बनेका थिए । राजनीतिक यात्राको क्रममा विभिन्न जिल्लामा रहेर उनले पार्टी प्रमुखको भूमिका निर्वाह गरे ।
पार्टीको केन्द्रीय समितिमा निरन्तर रहँदै आएका उनी जनयुद्धका घाइतेसमेत हुन् । २०६१ सालमा म्याग्दीको बेनी र सिन्धुपाल्चोकको चौतारा आक्रमणमा उनी घाइते भएका थिए । शरीरका विभिन्न भागमा गोलीको छर्रा लागेको उनी बताउँछन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई पराजित गरेका अधिकारीलाई यो पटक भने त्यति सहज देखिँदैन । त्यतिबेला उनले एमालेको साथ पाएका थिए । अहिले एक्लै लड्दैछन् ।
यसअघि माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धी रहँदै आएको गोरखा-१ मा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको छ । रास्वपाका उम्मेदवार सुधन गुरुङ, कांग्रेसका प्रेम खत्री र एमालेका आरसी लामिछाने उनका मुख्य प्रतिस्पर्धी देखिन्छन् ।
नेकपा उम्मेदवार अधिकारी विगतका अनुभव र आफूले थालनी गरेका विकास निर्माणका कामहरू नै जितका मुख्य आधार रहेको बताउँछन् ।
‘म निर्वाचित हुँदा र नहुँदाको काम हेरे हुन्छ,’ उनी भन्छन्, ‘मेरो पालामा बेनीघाट–लार्के सडक र बुढीगण्डकी मुआब्जा वितरणको कामले तिव्रता पाएको थियो ।’ आफ्ना पालामा सकारात्मक कामको सुरुवात भएको भन्दै विगतका अनुभव प्रयोग गर्ने अवसर जनताले दिने अपेक्षा उनले गरेका छन् ।
चुनाव खर्च गरेर नभई स्वच्छ प्रतिस्पर्धाबाट जितिने उनको धारणा छ । अन्य प्रतिस्पर्धीबारे खासै बोल्न नरुचाएका उनले सुधन गुरुङलाई भने राजनीतिक यात्राका लागि शुभकामना दिँदै देशको विकास निर्माणमा अघि बढ्न सुझाव दिए ।
अधिकारीले भने, ‘युवा अवस्थामा राजनीतिमा प्रवेश गर्नुभयो, त्यो राम्रो हो । उहाँको यात्रा दिगो होस्, देशको विकासमा अघि बढ्नुहोस् भन्ने शुभकामना छ ।’