Home Candidate नारायणकाजी श्रेष्‍ठ

मकवानपुर र गोरखापछि सर्लाहीमा जनमत परीक्षण

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
नारायणकाजी श्रेष्‍ठ
सर्लाही - ३ उम्मेदवार

नारायणकाजी श्रेष्‍ठ

पुरुष , ६६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Political Nature Election History Timeline

पूर्व उपप्रधानमन्त्री नारायणकाजी  श्रेष्ठ आफ्नो जिल्ला छोडेर मधेश झरेका हुन् । सर्लाही-३ मा पनि उनलाई जित निकाल्न सहज भने छैन । २०७९ को चुनावमा यस क्षेत्रबाट एमालेका हरि उप्रेतीले चुनाव जितेका थिए भने नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार दोस्रो भएका थिए । गत निर्वाचनका पहिलो र दोस्रो भएका दुवैजना श्रेष्ठको विपक्षमा उम्मेदवार छन् ।

००० 

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन्  । श्रेष्ठ लामो समय माओवादी पार्टीको मात्रै नभई राष्ट्रिय राजनीतिकै केन्द्रमा रहेका पात्र हुन् ।

उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनले लामो समय नेकपा माओवादी केन्द्रको उपाध्यक्ष भएर पनि काम गरेका छन् । 

उनको जन्म गोरखाको जौबारीमा २०१६ सालमा भएको हो । सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठ सन् १९८० को दशकमा काठमाडौंको सिद्धार्थ वनस्थलीमा केही समय गणितका शिक्षकसमेत बनेका थिए । 

२०६२-०६३ को जनआन्दोलनका बेलासम्म भूमिगत जीवनमै रहेका श्रेष्ठ त्यसपछि बल्ल सार्वजनिक रूपमा देखिएका हुन् । करिब ६६ वर्ष कटेका श्रेष्ठ हालसम्म अविवाहित छन् ।

२०३३ सालदेखि राजनीतिमा लागेका उनी २०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम) को केन्द्रीय सदस्य बने । २०४८ सालमा प्रचण्डहरूसँगको एकतापछि बनेको नेकपा (एकता केन्द्र) मा श्रेष्ठ पोलिटब्युरो सदस्य बने ।

२०५१ सालमा एकता केन्द्र फुट्यो । प्रचण्ड–बाबुरामले नेकपा (माओवादी) गठन गरे र युद्धमा होमिए । श्रेष्ठ भने प्रचण्ड समूहमा नलागी एकता केन्द्रमै रहे र पार्टीको महासचिव बने । एकता केन्द्रको नेतृत्व करिब ८ वर्षसम्म श्रेष्ठसँगै रह्यो । त्यसबेला उनी ‘प्रकाश’ भूमिगत नामले चिनिन्थे । 

यसबीचमा श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र र मोहनविक्रम सिंह-चित्रबहादुर केसीले नेतृत्व गरेको नेकपा (मसाल) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र–मसाल) जन्मियो । त्यसको महामन्त्री मोहनविक्रम सिंह थिए भने श्रेष्ठ सहमहामन्त्री बने । तर त्यो एकता लामो समय टिकेन र दुवै पार्टी पुरानै अवस्थामा फर्किए ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र एकता केन्द्रबीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ नेकपा एकीकृत माओवादीको उपाध्यक्ष बने । भूमिगत सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन त्यसबेला श्रेष्ठ र उनको पार्टीका अर्का नेता अमिक शेरचनले महत्वपूर्ण भूमिका निभाएका थिए । 

श्रेष्ठले नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ढोलराम बारकोटी लगायतसँग प्रतिस्पर्धा गर्दै छन् । 

राष्ट्रिय सभाको सदस्यबाट राजीनामा दिएर चुनावी मौदानमा उत्रेका श्रेष्ठको राजनीतिक छवी भने सकारात्मक नै छ । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उनी २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेको विषयमा आलोचना भएको थियो । 

उनी समानुपातिक प्रणालीबाट पटकपटक र राष्ट्रिय सभामा एकपटक सदस्य भए पनि प्रत्यक्षतर्फ भने अहिलेसम्म निर्वाचित हुन सकेका छैनन् । २०७० को संविधानसभा निर्वाचनमा उनी मकवानपुरबाट र २०७४ को चुनावमा गोरखा- २ बाट पराजित भएका थिए । 

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा उनी जनमोर्चा नेपालतर्फबाट मनोनीत संविधानसभा सदस्य बनेका थिए । उनी त्यसबेला माओवादीको संसदीय दलका उपनेतासमेत बनेका थिए ।

२०७० र २०७४ को चुनावमा पराजित भएपछि संसद् बाहिर रहेका श्रेष्ठ २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेका थिए । उनी राष्ट्रिय सभामा माओवादीको संसदीय दलको नेताको भूमिकामा थिए । उनले २०७९ कै चुनावमा सर्लाही-३ बाट उठ्ने चाहना राखे पनि चुनाव लडेनन् ।

नारायणकाजी श्रेष्ठ आफ्नो जिल्ला छोडेर मधेश झरेका हुन् । सर्लाही-३ मा पनि उनलाई जित निकाल्न सहज भने छैन ।

२०७९ को चुनावमा यस क्षेत्रबाट एमालेका हरि उप्रेतीले चुनाव जितेका थिए भने नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार दोस्रो भएका थिए । गत निर्वाचनका पहिलो र दोस्रो भएका दुवै जना श्रेष्ठको विपक्षमा उम्मेदवार छन् । उप्रेती एमालेबाट पुनः उम्मेदवार बनेका छन् भने कलवार भने पार्टी फेरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

राजकीय जिम्मेवारीका हिसाबले श्रेष्ठ २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पहिलो पटक उपप्रधानमन्त्री एवं गृह मन्त्री बनेका थिए । त्यसलगत्तै २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी प्राप्त गरे । 

२०७९ मा पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा तीन महिना भौतिक पूर्वाधार मन्त्री बनेर काम गरेका उनी त्यसपछि गृहमन्त्री बनेका थिए । 

फागुन २३-२४ को आन्दोलनपछि श्रेष्ठले माओवादी अध्यक्ष प्रचन्डलाई नेतृत्व छोडेर आफूलाई अध्यक्ष बनाउन पनि प्रस्ताव गरेका थिए ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अनुभवी नेता: उपप्रधानमन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रिय सभा सदस्यदेखि संविधानसभा सदस्यसमेत रहेकाले शासन, कूटनीति र सुरक्षा नीतिबारे गहिरो अनुभव ।
  • स्वच्छ व्यक्तिगत छवि: ठूलो आर्थिक घोटालामा प्रत्यक्ष संलग्नता नदेखिएको, व्यक्तिगत जीवनशैली सरल र अविवाहित रहेर संगठन र आन्दोलनमा समर्पित भएको छवि ।
  • शान्ति र संक्रमणकालीन राजनीतिमा भूमिका: जनयुद्धपछि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, सातदलीय गठबन्धन र माओवादीबीचको समझदारी निर्माण तथा संक्रमणकालीन सत्ता समीकरणमा महत्वपूर्ण भूमिका ।​
  • भ्रष्टाचार/अपराधविरुद्ध कठोर: गृहमन्त्री हुँदा ठूलो जोखिम मोलेर ठूला मुद्दा खोल्नु, ‘सिस्टम सुधार’को पक्षमा उभिएको छवि ।​
  • वैचारिक स्पष्टता: २०३३ सालदेखि निरन्तर वाम राजनीतिमा रहेर विभिन्न विभाजन–एकताका बीच पनि वाम लाइन नत्यागेको । 

प्रतिकूलता

  • दलप्रति बढ्दो जनअसन्तुष्टि: उनले प्रतिनिधित्व गर्दै आएको वाम/माओवादी धारप्रति युवा पुस्तामा विकर्षण र अविश्वास बढेको, जसको राजनीतिक मूल्य चुकाउनुपर्ने जोखिम । ​
  • संगठनात्मक–इलेक्सन मेसिन कमजोर: आफ्नो परम्परागत आधार क्षेत्र (गोरखा) छोडेर मधेश केन्द्रित सर्लाही पुग्दा स्थानीय संगठन, जातीय–समाजशास्त्रीय समीकरण र ‘ग्रासरुट’ काममा प्रतिस्पर्धीहरूभन्दा कमजोर । ​
  • आन्तरिक पार्टी विवाद: माओवादी आन्दोलनपछिको सत्ता–साझेदारी, भागबन्डा र नेतृत्त्वको सेकेन्ड–लाइनमा भएका असन्तुष्टिहरूबीच उनी पनि ‘स्थापित नेतृत्व’ मै बसिरहेकाले युवा/नयाँ धारबाट आलोचना झेल्नुपर्ने स्थिति ।
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
सरकारको अनुभव
विभिन्न समयमा उपप्रधानमन्त्री, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्री

राजनीतिक स्वभाव र शैली

समन्वयकारी भूमिका

  • माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी नभए पनि १२ बुँदे समझदारी र शान्ति प्रक्रियामा 'माओवादी र सात दल' बीच पुलको काम गरेको इतिहास। उनलाई 'वार्ता र सहमति' को राजनीति रुचाउने नेता मानिन्छ।

स्वच्छ छवि

लामो राजनीतिक जीवनमा ठूला आर्थिक काण्डमा नमुछिएको र अविवाहित रही सरल जीवनशैली अपनाएको 'त्यागी' छवि।

एन्टी-इस्टाब्लिस्मेन्ट टर्न

पछिल्लो समय गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका ठूला भ्रष्टाचार काण्डमा 'हाई प्रोफाइल' नेताहरूलाई पक्राउ गरेर उनले आफ्नो 'सफ्ट' छविलाई 'कडा प्रशासक' मा बदले ।

संसदीय परीक्षणमा कमजोर

राष्ट्रिय राजनीतिमा जति प्रभावशाली भए पनि प्रत्यक्ष चुनावमा जनताको मत जित्न उनी सधैं असफल देखिएका छन् ।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ संविधानसभा मनोनीत
२०७० मकवानपुर-२ सुवासचन्द्र ठकुरी ११७११ १०७४० ९७१ पराजित
२०७४ गोरखा-२ डा. बाबुराम भट्टराई ३१८०७ २४९३३ ६८७४ पराजित

राजनीतिक टाइमलाइन

२०३३

राजनीति सुरु

२०३३: कम्युनिष्ट राजनीतिमा औपचारिक प्रवेश।

२०४३

केन्द्रीय सदस्य

नेकपा (चौम) को केन्द्रीय सदस्य।

२०४८

पोलिटब्युरो सदस्य

नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य।

२०५१

सशस्त्र संघर्षबाट टाढा

एकता केन्द्र विभाजन हुँदा प्रचण्ड युद्धमा गए, श्रेष्ठ महासचिव भएर संस्थापन पक्षमै रहे (भूमिगत नाम: प्रकाश)।

२०६२/६३

शान्ति प्रक्रियामा सक्रिय

जनआन्दोलन र शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका।

२०६५

पार्टी एकता

माओवादीसँग पार्टी एकता। एमाओवादीको उपाध्यक्ष।

२०६७

उपप्रधानको जिम्मेवारी

२०६७ : उपप्रधान तथा गृह मन्त्री (झलनाथ खनाल सरकार)। २०६८: उपप्रधान तथा परराष्ट्र मन्त्री (बाबुराम भट्टराई सरकार)।

२०७०-२०७६

प्रत्यक्षमा पराजित भएपछि राष्ट्रियसभामा

२०७० (संविधानसभा-२): मकवानपुरबाट उम्मेदवार (पराजित)। २०७४ (प्रतिनिधिसभा): गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित। २०७६: राष्ट्रिय सभा सदस्य निर्वाचित (गण्डकीबाट)।

२०८२

फेरि प्रत्यक्ष निर्वाचनमा

२०७९ (पुस/फागुन): उपप्रधान तथा भौतिक पूर्वाधार र पछि गृह मन्त्री (प्रचण्ड सरकार)। २०८२: राष्ट्रिय सभाबाट राजीनामा दिई सर्लाही–३ बाट प्रतिनिधिसभा उम्मेदवार।

नारायणकाजी श्रेष्‍ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

निकटतम प्रतिद्वन्द्वी

नारायणकाजी श्रेष्‍ठ
विनोदकुमार खनाल नेपाली कांग्रेस
VS