उषालक्ष्मी तुम्बाहाम्फेका लागि यो निर्वाचन "भाषणको होइन, सेवाको राजनीति" प्रमाणित गर्ने कडी हो । तेह्रथुमका सचेत मतदाताले पुराना दलहरूको विकल्प खोजिरहेको अवस्थामा उनको उम्मेदवारीले एउटा नयाँ तरङ्ग पैदा गरेको छ ।
०००
स्नातक तहको अध्ययन पूरा गरेपछि करिअरका लागि विदेश जाने तयारीमा थिइन् उषालक्ष्मी तुम्बाहाम्फे । उनका लागि त्यो समय विदेश नै निर्विकल्प लक्ष्य जस्तै बनेको थियो । तर जेनजी आन्दोलनले उनको जीवनको दिशा नै बदलिदियो ।
जेनजी विद्रोहमा सहभागी हुँदा धेरैले ज्यानको आहुति दिए, उषालक्ष्मी आफैं पनि घाइते भइन् । त्यसपछि उनको सपना र संकल्प फेरियो । ‘त्यो क्षणले मेरो डर तोडिदियो र जिम्मेवारीको अनुभूति गरायो,’ उनी भन्छिन्, ‘मलाई लाग्यो, ‘बगेको रगत खेर जान दिनु हुँदैन ।’
म्याङलुङ नगरपालिका-९ की २६ वर्षीया उषालक्ष्मी यतिबेला चुनावी अभियानमा सक्रिय छिन् । राष्ट्रिय परिवर्तन पार्टी (सीपीए) ले उनलाई तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । विदेशिने तयारी छोडेर उनी अहिले संसद् यात्राको दौडमा होमिएकी छिन् ।
घरघरमा पुगेर उनी छिन्ताङ आन्दोलन, जनयुद्ध र जेनजी आन्दोलनसम्मको परिवर्तनलाई सत्ताको खेलमा मात्र सीमित गर्न नहुने तर्क राखिरहेकी छन् । राजनीतिलाई शक्तिको खेल बनाउँदा साधारण नागरिकले सधैं अपमान र अन्याय भोग्नुपरेको उनको बुझाइ छ ।
जेनजी आन्दोलनले सोच बदलेकी उषालक्ष्मी तुम्बाहाम्फे विदेशिने सपना त्यागेर तेह्रथुमबाट प्रतिनिधिसभा यात्रामा उत्रिएकी छन् ।
‘हाम्रो नारा नै छ- रगत होइन, परिवर्तन चाहियो,’ उनी भन्छिन्, ‘अब फेरि रगत बग्न नपरोस् । त्यागको राजनीति र कामको सरकार चाहिन्छ ।’
उनको पार्टीले शहीद र घाइतेको सम्मानलाई मूल अभियान बनाएको छ । घोषणापत्रमा स्थिर नेतृत्व र दिगो विकासका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको उल्लेख छ । शून्य भ्रष्टाचार, घुस, कमिसन र गरिबमारा प्रथाको अन्त्य उनका मुख्य एजेन्डा हुन् ।
पद र सुविधाको राजनीतिलाई अन्त्य गर्दै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीलगायत पदाधिकारीका लागि शून्य तलब-भत्ता प्रणाली लागु गर्ने पार्टीको घोषणा छ । ‘राजनीति जागिर होइन, सेवा हो’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने दाबी गरिएको छ ।
युवाको भविष्य देशमै सुरक्षित गर्न जलविद्युत, पर्यटन, कृषि र खनिज क्षेत्रलाई प्राथमिकतामा राख्दै देश भित्रै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य पनि पार्टीको एजेन्डामा समेटिएको छ ।
११ जना पुरुष उम्मेदवारहरूका बीचमा एक्ली महिला उम्मेदवारका रूपमा उनको उपस्थितिले तेह्रथुमको निर्वाचनलाई थप अर्थपूर्ण बनाएको छ ।
राष्ट्रिय सार्वभौमिकताको सवालमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग भएको पुनः पुष्टि गर्दै नेपाललाई सगरमाथा, भगवान् बुद्ध र वीर गोर्खालीको देशका रूपमा विश्वसामु चिनाइने प्रतिबद्धता गरिएको छ ।
‘म भोट मागेर हराउने नेता होइन,’ उषालक्ष्मी भन्छिन्, ‘यहीँ बसेर जवाफ दिने प्रतिनिधि बन्न चाहन्छु । आश्वासन होइन, कामको रिपोर्ट लिएर बारम्बार जनतामाझ आउने छु । मेरो राजनीति भाषणको होइन, सेवाको हुनेछ ।’