जेनजी आन्दोलनले सिर्जित चुनावमा अग्निपरीक्षा
जेनजी आन्दोलनपछि बद्लिएको राजनीतिक समीकरणमा पृथ्वीसुब्बा गुरुङका लागि लमजुङको चुनाव सबैभन्दा कठिन परीक्षा बनेको छ ।
०००
२०७४ सालमा गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा संघीयता कार्यान्वयनको विषयमा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुलेर टकरिएका पृथ्वीसुब्बा गुरुङले त्यतिबेला ‘विद्रोही’ नेताको छवि बनाएका थिए । प्रदेशलाई अधिकार सम्पन्न बनाउने र संघीय संरचना व्यवहारमा उतार्ने विषयमा उनी पटक–पटक ओलीसँग आमनेसामने देखिएका थिए ।
दोस्रो पटक पनि गण्डकी प्रदेशकै मुख्यमन्त्री बन्ने आकांक्षा राखिरहेका पृथ्वीसुब्बालाई संघीय चुनावको टिकट मात्र मिलेन, कांग्रेस र एमाले मिलेर बनेको ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्रीसमेत बनाइयो । संघीयता कार्यान्वयनमा ओलीसँग प्रश्न गर्ने भूमिकाबाट उनी सरकारका प्रवक्तासम्म पुगे, जहाँ उनले सरकारको बचाउ गर्ने जिम्मेवारी मात्रै पाएनन्, रुखा अभिव्यक्तिका कारण आलोचनाको सिकारसमेत बने ।
सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नेपाल सरकारको ऐन मातहत ल्याउने प्रयास र केही सामाजिक सञ्जाल एपहरू प्रतिबन्ध गर्ने निर्णय सरकारका लागि भारी पर्यो । एकातिर दुई ठूला दल मिलेर बनेको सरकारप्रति असन्तुष्टि चुलिँदै गएको थियो, अर्कोतिर नागरिकको अभिव्यक्ति माध्यम नै बन्द गरिएको अनुभूतिले जनआक्रोश थप बढायो ।
यही पृष्ठभूमिमा २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको वातावरण बनेको भन्दै सरकारको तीव्र आलोचना भयो । जेनजी आन्दोलनले पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको माग उठाए पनि पृथ्वीसुब्बा अन्ततः ओलीकै पक्षमा उभिए। आन्दोलनकै दबाबपछि सत्ताबाट ओलीसँगै पृथ्वीसुब्बा पनि बाहिरिए ।
त्यसपछि भएको पार्टी महाधिवेशनमा भने पृथ्वीसुब्बा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो कार्यकालमा उपमहासचिव रहेका उनी लोकप्रिय मतका आधारमा उपाध्यक्ष बने, जसलाई पार्टीभित्रको बलियो समर्थनका रूपमा हेरियो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको २१ फागुनको निर्वाचनका लागि महाधिवेशनमार्फत उम्मेदवार छानिँदा ओलीले पृथ्वीसुब्बालाई फेरि लमजुङबाट टिकट दिए । अहिले पृथ्वीसुब्बा मन्त्री होइन, ‘उस्तै परे प्रधानमन्त्री बन्न सक्ने’ दाबी गर्दै मत मागिरहेका छन् ।
चुनावी अभियानमा पृथ्वीसुब्बाले जेनजी आन्दोलनका मूल माग राम्रो भए पनि २३ र २४ भदौको घटना सुनियोजित भएको दाबी गरिरहेका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध गर्न नभई नियमन गर्न खोजिएको, तर त्यसलाई डिजिटल साम्राज्यवाद र साइबर उपनिवेशवादले गलत रूपमा प्रयोग गरेको उनको तर्क छ ।
‘नेपाल सरकारले त्यही साँझ सामाजिक सञ्जालमाथिको निष्क्रियताको निर्णय फिर्ता लिएको हो,’ उनी घरदैलो अभियानमा भन्ने गर्छन् ।
संघीय सांसद हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्री र संघीय सञ्चारमन्त्री बनेर सत्ता छाडेका पृथ्वीसुब्बा गुरुङ अहिले फेरि लमजुङमै मतदाताको घरदैलोमा छन्। तर यसपटकको चुनाव उनीका लागि सहज भने देखिँदैन।
हालै सत्ता गुमाएकाले एमालेप्रति जनस्तरमा खासै अनुकूल वातावरण छैन । त्यसमाथि अघिल्लो निर्वाचनमै सम्मानजनक मत ल्याएको रास्वपाबाट धर्मराज केसी उम्मेदवार छन् । कांग्रेसले पनि ‘सुधारिएको नारा’सहित गमप्रसाद गुरुङलाई अघि सारेको छ भने नेकपाबाट युवा उम्मेदवार हरिजंग तामाङ मैदानमा छन् ।
अघिल्लो चुनावको अंकगणित यसपटक काम नलाग्ने आँकलन भइरहँदा पृथ्वीसुब्बा भने लमजुङका सचेत मतदाताले आफूलाई लोकप्रिय मतका साथ जिताउने दाबी गरिरहेका छन् ।
पृथ्वीसुब्बा यो निर्वाचनसँगै नवौँ पटक चुनावी मैदानमा उत्रिएका हुन् । पटक–पटक हार र जितको अनुभव बटुलेका उनीकै कारण नयाँ नेताले अवसर नपाएको गुनासो पनि लमजुङमा सुनिन्छ ।
२०४३ सालमा लमजुङ क्षेत्र–२ बाट जनपक्षीय उम्मेदवार बनेका उनले २०४८, २०५१ र २०५६ मा लगातार हार व्यहोरे । २०६४ मा संविधानसभा सदस्य बने, २०७० मा फेरि हारे, २०७४ मा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री बने। २०६४ सालमै पर्यटनमन्त्री भइसकेका उनी २०७९ सालमा संघीय चुनाव जितेर मन्त्री बने ।
नवौँ पटक घरदैलोमा निस्किएका पृथ्वीसुब्बा अहिले आफू सरकार चलाउन सक्षम नेता भएको दाबी गर्दै मत मागिरहेका छन् ।
Battleground Analysis
अनुकूलता
- संघीय, प्रदेश र केन्द्रीय सरकार तीनै तहको नेतृत्व अनुभव
- पार्टीभित्र लोकप्रिय मतका आधारमा निर्वाचित उपाध्यक्ष
- लमजुङमा दीर्घकालीन राजनीतिक परिचय र पहिचान
प्रतिकूलता
- जेनजी आन्दोलन र सामाजिक सञ्जाल विवादले बनेको नकारात्मक धारणा
- नयाँ र वैकल्पिक दलका बलिया उम्मेदवारसँग कडा प्रतिस्पर्धा
- लामो समय राजनीतिमा रहेकाले नयाँ नेतृत्वको मागसँग टकराव
राजनीतिक स्वभाव र शैली
विद्रोहीदेखि रक्षकसम्म
गण्डकीको मुख्यमन्त्री हुँदा संघीयताविरोधी कदमको खुलेर विरोध गर्ने 'विद्रोही' छवि बनाएका गुरुङ, पछिल्लो समय सञ्चार मन्त्री हुँदा सरकारको बचाउमा सामाजिक सञ्जाल नियमन गर्न खोज्दा आलोचित बने।
निरन्तर यात्री
२०४३ सालदेखि २०८२ सम्म आइपुग्दा यो उनको नवौं चुनावी प्रतिस्पर्धा हो। लगातार तीन पटक हार्दा पनि मैदान नछोड्ने उनको 'दृढ इच्छाशक्ति' लोभलाग्दो छ।
जनजाति अनुहार
एमालेभित्र जनजाति समुदायको बलियो प्रतिनिधित्व गर्ने र आदिवासी अधिकारका पक्षमा वकालत गर्ने नेता।
पार्टीमा पकड
सरकारबाट बाहिरिएपछि पनि महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष जित्नुले उनको पार्टीभित्रको सांगठनिक पकड बलियो रहेको पुष्टि गर्छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | लमजुङ-२ | रामचन्द्र अधिकारी | पराजित | |||
| २०५१ | लमजुङ-२ | रामचन्द्र अधिकारी | पराजित | |||
| २०५६ | लमजुङ-२ | हरिभक्त अधिकारी | पराजित | |||
| २०६४ | लमजुङ २ | दिलबहादुर घर्ती | १२५३९ | १८,३२९ | ५७९० |
|
| २०७० | लमजुङ २ | चन्द्रबहादुर कुँवर | १४६६४ | १२९२० | १७४४ | पराजित |
| २०७४ | लमजुङ (ख) | कृष्णप्रसाद कोइराला | १२८३४ | २३०८८ | १०२५४ |
|
| २०७९ | लमजुङ-१ | देव गुरुङ | ३१७८१ | ३४९६९ | ३१८८ |
|
राजनीतिक टाइमलाइन
स्ववियु राजनीति
अमृत साइन्स क्याम्पस (अस्कल) बाट विज्ञानमा स्नातक र स्ववियु राजनीति।
शिक्षक राजनीति
नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य।
जनपक्षीय उम्मेदवार
जनपक्षीय उम्मेदवार (लमजुङ–२) बाट उठेर २,८०० मत प्राप्त (पराजित)।
पराजयमा ह्याट्रिक
२०४८, २०५१, २०५६: लगातार तीनवटा संसदीय निर्वाचनमा पराजय।
अन्तरिम सरकारमा
अन्तरिम सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री।
प्रत्यक्षमा पहिलो जित
लमजुङ–२ बाट पहिलो पटक विजयी। कानुन तथा स्थानीय विकास मन्त्री। २०७०: दोस्रो संविधानसभामा पराजित।
संस्थापक मुख्यमन्त्री
लमजुङ (प्रदेश 'ख') बाट विजयी भई गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री।
पुनः प्रतिनिधिसभामा
प्रतिनिधिसभा सदस्य विजयी (माओवादी महासचिव देव गुरुङलाई हराउँदै)।
ओली क्याबिनेटका प्रवक्ता
केपी ओली सरकारमा सञ्चार मन्त्री। सामाजिक सञ्जाल प्रतिबन्ध र अभिव्यक्ति विवादपछि आलोचना । महाधिवेशनबाट एमाले उपाध्यक्ष निर्वाचित।
पृथ्वीसुब्बा गुरुङको उम्मेदवारि कस्तो लागयो ?

